प्रधानमन्त्रीकाे कार्यकक्षमा रहेकाे एक्सन रुमबाट यसरी हुँदैछ काम

 साउन ३, २०७६ शुक्रबार १५:३५:४३ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ – नेपालमा पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरेर सुरुङ खनिएको भेरी – बबई डाइभर्सनमा अहिले के–के काम भइरहेको होला ? त्यहाँ भैरहेको काम हेर्न आयोजना स्थलमै पुग्नुपर्छ ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकक्षमा बसेर दिनहुँ त्यहाँ के कति काम भयो, कहाँ के अवरोध आयो भनेर सबै प्रत्यक्ष रुपमा हेर्न सक्नुहुन्छ । यो मात्रै होइन । राष्ट्रिय गौरवका अरु आयोजनाको काम पनि प्रधानमन्त्री ओलीले यसैगरी कार्यालयमा नै बसेर जानकारी लिन सक्नुहुन्छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा एक्सन रुम स्थापना गरिएसँगै राष्ट्रिय गौरवका आयोजनाको कामको अनुगमन र निरीक्षण यहीँबाट हुन थालेको हो ।  

प्रधानमन्त्री ओलीले केही दिनअघि मात्रै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, भेरी – बबई डाइभर्सन, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना, सिक्टा सिँचाइलगायतका राष्ट्रिय गौरवका आयोजनाको एक्सन रुमबाटै अनुगमन गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले पहिलो पटक एक्सन रुममा बसेर विभिन्न ८ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्नुभएको हो । 

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, रानीजमरा सिँचाइ आयोजना, मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग र काठमाण्डौ–तराई दू्रतमार्ग आयोजनाको पनि यहीँबाट प्रत्यक्ष निगरानी गर्न मिल्ने गरी आवश्यक प्रणाली जडानको काम भइरहेको छ ।  

एक्सन रुममै बसेर विभिन्न ११ वटा आयोजनाको प्रत्यक्ष अनुगमन गर्न मिल्ने गरी काम भइरहेको कुँवरले बताउनुभयो । 
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग लाइभ कुराकानी गर्नुभएको थियो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एक्सन रुममा तीन वटा ठूला मनिटर जडान गरिएको छ । यस्तै सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको कार्यलयमा पनि ‘टेलिप्रिजेन्स सिस्टम’ जडान गरिएको छ । टेलिप्रिजेन्स भनेको ‘भिडियो कन्फ्रेन्सिङ सिस्टम हो । इन्टरनेटका माध्यमबाट यसमा सदृश्य कुराकानी हुन्छ । प्रधानमन्त्रीले पनि यही सिस्टममार्फत सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग कुराकानी गर्नुभएको हो । 
 
मोबाइलमै आउँछ सबै फुटेज 

राष्टिय गौरवका आयोजनामा जडान गरिएको यो प्रविधिमार्फत त्यहाँ भएका चौबीसै घण्टाका गतिविधिका फुटेज प्रधानमन्त्रीले हातमै रहेको मोबाइलबाट पनि हेर्न सक्नु हुनेछ । 

यसबाट मुख्य आयोजनाको भौतिक प्रगति हेर्न र त्यहाँ आइपरेका समस्या सल्टाउन सहज हुने विश्वास लिइएको छ । अहिले ८ ओटा आयोजनामा आवश्यक प्रविधि जडान गरेर काम पनि सुरु भइसकेको र ३ ओटामा भने जडानको काम भइरहेको प्रवक्ता कुँवरले बताउनुभयो । आयोजनाको मुख्य कार्यक्षेत्रमा सीसी क्यामेरासहितको यो सिस्टम जोडिएको छ । यही सीसी क्यामेरामार्फत प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुपमा लाइभ फुटेज चौबीसै घण्टा आइरहने पनि उहाँले बताउनुभयो । 

अनुगमन प्रभावकारी नभएकाले विकास निर्माणको काम लथालिंग भएको गुनासो बढेपछि सरकारले अनुगमनलाई बलियो बनाउन पहिलो चरणमा राष्ट्रिय गौरवका मुख्य आयोजनाहरुमा यस्तो प्रविधि जडान गरिएको हो । 

यो प्रणाली जडान भएपछि प्रधानमन्त्रीले प्रत्यक्ष रुपमा आयोजनाको कामको निरीक्षण एक्सन रुमबाटै गर्न लाग्नुभएको छ । 
यो रुमसम्म ‘कनेक्ट’ हुने राष्टिय गौरवका आयोजनाको ‘लाइभ फुटेज’ छुट्टै एपमार्फत प्रधानमन्त्रीले आफ्नै मोबाइलमै पनि हेर्न सक्ने व्यवस्था मिलाइएको छ । 

यसका साथै प्रधानमन्त्री निवास बालुवाटारमा पनि एक्सन रुममा आउने फुटेज हेर्न मिल्ने गरी छुट्टै कक्ष राखिएको मन्त्रिपरिषद्का प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।  

अहिले राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक छैन । धेरैजसो आयोजनाहरु समस्यामा छन् । अन्तरसरकारी समन्वय नहुँदा आयोजनाहरु तोकिएको समयमा सम्पन्न हुन सकेका छैनन् । यसैलाई ध्यानमा राखेर प्रमुख महत्वका आयोजनाहरुको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी सरकारले यस्तो प्रणाली जडान गरेको हो । 

फिल्डमा काम नहुँदा पनि आयोजनाले भौतिक पूर्वाधार प्रगतिबारे सम्बद्ध मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई गुमराहमा राख्ने प्रवृत्ति पनि छ । यस्तो समस्या समधानका लागि यो प्रणाली निकै प्रधावकारी हुन सक्ने दावी सरकारको छ । प्रधानमन्त्री आफैले पनि मेलम्ची आयोजनामा आफूलाई आवश्यक जानकारी नदिएको गुनासो गर्नुभएको थियो । अब यस्तो समस्या हटाउन प्रविधिले सहयोग गर्नेमा प्रवक्ता कुँवर विश्वस्त हुनुहुन्छ । 

यस्तै प्रदेश सरकारलाई परेका समस्या तथा उनीहरुको माग सुन्न र दुईपक्षीय समन्वयका लागि पनि यो प्रविधि फलदायी रहेको प्रवक्ता कुँवर बताउनुभयो । ‘प्रधानमन्त्रीले आवश्यक परेका बेला सातै वटा मुख्य मन्त्री र कुनै एक प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल गर्न सक्नुहुन्छ’, उहाँले भन्नुभयो । 
प्रविधिको प्रयोगबाट अन्तरसरकारी असमञ्जस्यतालाई समाधान गर्न पनि यो प्रविधि सहज बन्दै गएको उहाँले बताउनुभयो । 

साढे ४ करोडमा जडान

यो प्रविधि गएको वर्ष दशैँ अगावै सुरु गर्ने भनिएको भए पनि निर्माणमा ढिलाइ हुँदा यो वर्षदेखि मात्रै सम्भव भएको हो । 
पहिला ठेक्का पाएको चिनियाँ कम्पनी हुवावेको चाइना कम सर्भिसेस (सीसीएस) ले बैंक ग्यारेण्टीबापतको रकम राख्न नसकेपछि काममा ढिलाई हुन पुगेको थियो । त्यसपछि पुनः  नयाँ टेण्डर गरेर ‘शास्त्र नेटवर्क सोलुसन इन्क प्रा.लि. काठमाण्डौले निर्माण सम्पन्न गरेको हो । 
‘वार रुम’ मा रहेको ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ राख्न शास्त्र नेटवर्क सोलुसनले मूल्यअभिवृद्धि करसहित ४ करोड ४८ लाख ९६ हजार ९ सय ९० रुपैयाँ ५० ठेक्का लिएको थियो ।  

के–के हुन्छ वार रुममा ?

एक्सन रुममा भिजुअल उपकरण, डिभाइस समयतालिका र परियोजना जानकारी दिने विवरणहरु राखिएको छ । यस्तै ह्वाइट बोर्ड, चार्टलगायतका माध्यमबाट समस्या भएका आयोजनाहरुको रिपोर्ट राख्ने काम पनि भइरहेको छ ।  

सकेसम्म योजनामा विवाद आउन नदिने गरी काम गर्न निर्देशन हुने र कारणवश विवाद आए प्रधानमन्त्रीको तहबाटै हल गर्ने गरी यो रुम सञ्चालनमा छ ।  
समस्या देखिएका योजनाबारे प्रधानमन्त्रीको तहबाटै सम्बोधन गर्न सहज भएको छ । यसले काम छिटोछरितो रुपमा अघि बढेको प्रधानमन्त्री कार्यालयले विश्वास लिएको छ ।  

विगतमा अन्तर मन्त्रालय एवं अन्तर कार्यालय विवादका कारण ठूला परियोजनाको काम निर्धारित समयमा नसकिएको तथा केही योजनाका काम प्रभावित समेत भएको उदाहरण छ । तर अबदेखि भने सरकारले अगाडि बढाएका योजनामा कतैबाट पनि अवरोध आउन नदिन यो ‘एक्सन रुम’बाट काम भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कुँवरले बताउनुभयो ।  

नतिजा व्यवस्थापन महाशाखाअन्तर्गत रहने गरी झण्डै १० करोड रुपैयाँ खर्चिएर ‘एक्सन रुम’ तयार गरिएको हो । ‘इमर्सिभ टेलिप्रिजेन्स सिस्टम विथ सर्भिलेन्स सिस्टम’ का लागि मात्रै शास्त्र सोलुसनले ४ करोड ४८ लाख ९६ हजारमा ठेक्का लिएको थियो ।

एक्सन रुममा आयोजनाका सबै रिपोर्ट डिजिटलाइज्ड गरेर राखिएका छन् । कहीँ कतै समस्या निम्तिए त्यस स्थानबारे प्रत्यक्ष अवलोकन गरी तत्काल निर्णय गर्न सकिने गरी यसको व्यवस्था मिलाइएको छ ।  

‘एक्सन रुम’ बाट सरकारले प्राथमिकतामा राखेर काम अघि बढाएका योजनाको द्रुत निगरानी र तत्कालै ‘एक्सन’ मा जान मद्दत पुगेको प्रधानमन्त्री कार्यालयको दाबी छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • Arun bdr Adhikari

    July 20, 2019, 12:21 a.m.

    I am your fan PM sir. Keep it up sir.

  •  0 Reply

तपाईको प्रतिक्रिया