परराष्ट्रमन्त्री ज्ञवालीसहित १४ जनाद्वारा अंग दान

 साउन ३, २०७६ शुक्रबार १८:३६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – परराष्ट्रमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली दम्पतीले आफ्ना शरीरका विभिन्न अंग मृत्युपश्चात जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अंगदानको घोषणा गर्नुभएको छ ।

शुक्रबार शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँहरुले अंगदानको घोषणा गर्नुभएको हो । ज्ञवाली दम्पतीले मृत्युपश्चात मिर्गौला, मुटु, फोक्सो, कलेजो र प्याङक्रियाज सानो आन्द्रा दान दिने मन्जुरीनामामा हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा मन्त्री ज्ञवालीले आफ्नै स्रोत साधनको सीमित रहँदाको अवस्थामा पनि बिरामीका लागि सक्दो सहयोग गर्न सरकार लागिरहेको बताउनुभयो ।

अब उपचारका लागि पैसा नभएर ज्यान जानु पर्ने अवस्था नरहने बताउँदै उहाँले स्वास्थ्य बीमामार्फत एक लाखसम्मको औषधि उपचारका लागि सरकार लागिरहेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रका निर्देशक डा. पुकार न्द्र श्रेष्ठले अंग दान गर्ने कानुनी व्यवस्था रहे पनि चेतनाको अभावका कारण हुन नसकिरहेको बताउनुभयो । कानुन बनेको दुई वर्षमा ३ जनाबाट मात्रै अंग लिएर ६ जनालाई मिर्गौला, एक जनालाई कलेजो प्रत्यारोपण गरिएको बताउनुभयो ।

कार्यक्रममा परराष्ट्र मन्त्रीकी श्रीमती सरस्वती ज्ञवाली, भक्तपुर अस्पतालका पूर्व अध्यक्ष सुरेश न्यौपाने, अध्यक्ष मिलन सुवाल, डा. रविभूषण सुवाल, टीकाराम ज्ञवालीलगायत १४ जनाले पनि अंगदानको घोषणा गर्नुभएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया