गैरसरकारी संस्थाको जागिरसँगै व्यावसायिक कृषिमा प्रेम: महिनामै मनग्य कमाइ

 साउन ३, २०७६ शुक्रबार २०:३०:१२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सुन्दरबजार नगरपालिका–७, शान्तिमार्गका प्रेमबहादुर भट्टराई गैरसरकारी संस्था महासंघ लमजुङका अध्यक्ष हुनुहुन्छ । उहाँ आरसीडीसी लमजुङका कार्यकारी निर्देशक समेत हुनुहुन्छ । साथमा उहाँ विभिन्न सामाजिक संघसंस्थामा रही सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

उहाँको परिचय यतिमै सीमित छैन । उहाँ एक व्यावसायिक किसान समेत हुनुहुन्छ । उहाँले विगतमा विभिन्न संघसंस्थामा आवद्ध रहँदा कृषि क्षेत्रमा लामै समय काम गर्नुभयो । त्यति बेलादेखि नै उहाँको मनमा कृषि व्यवसाय सुरु गर्ने धाेकाे थियाे जसलाई अहिले उहाँले मूर्तरुप दिनुभएकाे छ। 

‘विगतमा विभिन्न संघसंस्थामा रही कृषि क्षेत्रमा काम गरियो । कृषि मेरो रुचिको पेशा पनि हो, त्यसैले व्यावसायिक कृषि कर्मलाई अघि बढाएको छु’, उहाँले भन्नुभयो ।

फुर्सदको समय कृषिमा  

फुर्सदको समय उहाँले आफ्नै कृषि कर्ममा खर्चनुभएको छ । कृषि कर्ममै रम्न पाउँदा उहाँलाई खुसी मिल्छ । किसान एकीकृत कृषि, पशु तथा पंक्षी फर्म दर्ता गरी उहाँले २०७५ साल फागुनबाट व्यावसायिक कृषि कर्म अघि बढाउनुभएको हो । सुरुमा ८ लाखको लगानीमा २ हजार कुखुरा पाल्न सक्ने क्षमताको एउटा व्यवस्थित कुखुरा खोर र एउटा टनेल बनाएर उहाँले कृषि व्यवसाय सुरु गर्नुभएको हो ।

लोकल कुखुरापानमा जोड

उहाँले सुरुदेखि नै लोकल कुखुरापालनमा जोड दिनुभयो । स्थानीय जातको कुखुराको प्रवर्द्धनका लागि लोकल कुखुरापालनलाई जोड दिएको उहाँ बताउनुहुन्छ ।
सुरुका वर्षमा उहाँले २ सय लोकल कुखुराबाट सुरु गरेकाे र पछि बिस्तारै संख्या बढाउँदै ९ सयसम्म पुर्‍याउनुभयो । पूर्वाधार निर्माणका र अन्य खर्च गरी झण्डै १५ लाखको लगानीमा सुरु गरेको व्यवसायमा अहिले २० लाखभन्दा बढी लगानी भइसकेको छ ।

लमजुङको सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीकाे ग्याग्दीखोला सिसौघारीमा उहाँको फार्म छ । ४ रोपनी जग्गामा फैलिएको यस कृषि फार्ममा अहिले लोकल कुखुराका साथै लौकाट, टर्की, कडकनाथ र बट्टाई चरा पालिएका छन् ।

उत्पादन सुरु

गएकाे महिनादेखि उहाँले कुखुरापालनबाट उत्पादन लिन सुरु गर्नुभएको छ । फर्ममै ३ वटा टनेल बनाइएको छ ।  ३ वटामध्ये एउटा टनेलबाट ‘सिर्जना’ गोलभेँडा उत्पादन हुँदैछ । ‘प्रतिकेजी १ सय २० रुपैयाँमा गोलभेँडा बेचिरहेको छु,’ उहाँले भन्नुभयो, ‘गोलभेँडा स्थानीय बजारमै खपत हुँदै आएको छ ।’

उत्पादनको बजारीकरणका लागि कुुखुरा मेला 

स्थानीय जातको कुखुराको प्रवर्द्धनका साथै ‘स्वरोजगार’ बन्नुपर्छ भन्ने सन्देश दिन व्यावसायिक कृषि कर्ममा होमनिुभएका भट्टराईले गएको बुधबार फर्ममै कुखुरा मेलाको आयोजना गर्नुभयो । स्थानीय उत्पादनको उचित बजारीकरणका साथै कुखुरापालनका विषयमा किसानलाई जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गरिएकोभट्टराईले बताउनुभयो ।

मेलामा फर्ममा उत्पादित लोकल कुखुरा, लौकाट, कडकनाथ, बट्टराई चरा र बट्टाई चराको अण्डा बिक्री भएको थियो ।  लमजुङ र तनहुँका झण्डै ५ सय किसानले अवलोकन गरेकाे मेलामा लोकल कुखुराका साथै लौकाट, कडकनाथ, बट्टाई गरी झण्डै ५ सय कुुखुरा बिक्री हुँदा झण्डै एक लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

उहाँकाे फर्मबाट उत्पादित लोकल कुखुरा प्रतिकेजी ७ सय रुपैयाँ, प्रति लौकाट र कडकनाथ २५ सय रुपैयाँ, प्रति बट्टाई चरा २ सय ५० रुपैयाँ र बट्टाई चराको प्रति अण्डा १० रुपैयाँमा बिक्री हुँदै आएको छ ।

चल्ला बिक्रीबाट पनि आम्दानी

लोकल कुखुराका चल्ला पनि बिक्री हुने गरेको र यसबाट पनि राम्रै आम्दानी भइरहेको उहाँले बताउनुभयो । लोकल कुखराको चल्ला स्थानीय बजारमै खपत हुँदै आएको छ । उत्पादनले उचित बजार र मूल्य पाएको उहाँ बताउनुहुन्छ । 

‘स्वाद र स्वास्थ्यका दृष्टिले लोकल कुखुराको मासु राम्रो मानिन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले लोकल कुखुराको मासुको माग पनि बढ्दो छ ।’

६ लाखको कारोबार: २ लाख बचत

हालसम्ममा फर्मबाट ६ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको र गएको एक महिनाको अवधिमा सबै खर्च कटाएर २ लाख रुपैयाँ बचत भएको उहाँ बताउनुहुन्छ ।

फुर्सदको समयलाई मात्र कृषि कर्ममा खर्चने सके पनि मनग्य कमाउन सकिने उहाँ बताउनुहुन्छ । कृषि कर्मलाई थप व्यवस्थित र विस्तार गर्दै लैजाने याेजना सुनाउँदै आफ्नो फर्ममा २ जनाले रोजगारी पाएकाे समेत उहाँले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: चैत ३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

1 Comments

  • Ram Babu Paneru

    July 20, 2019, 4:56 p.m.

    I am pleased to know about this wonderful activity carried out by PREM Bhanja - commercial poultry and organic tomato farming as a part time job. This is a great initiation and attempt to utilize local resources, knowledge and skills into creative developmental works. This is good lesson to concerned people, specialists and researchers to encourage them to replicate such an enterprise beneficial to all concerned. we are happy to know other more advancement of this farm. We wish to great success of the farm.

  •  0 Reply

तपाईको प्रतिक्रिया