सेनेगललाई हराउँदै अल्जेरियाले जित्याे अफ्रिका कप अफ् नेसन्सको उपाधि

 साउन ४, २०७६ शनिबार ६:३२:५७ | एजेन्सी
unn.prixa.net

अफ्रिका कप अफ् नेसन्सको उपाधि अल्जेरियाले जितेको छ । फाइनलमा सेनेगललाई १–० ले हराउँदै अल्जेरियाले दोस्रो पटक अफ्रिका कप अफ् नेसन्सको उपाधि जितेको हो ।

अल्जेरियाले यसअघि सन् १९९० को संस्करणको उपाधि जितेको थियो । सन् २००२ मा उपविजेता बनेको सेनेगल यस पटक पनि अभागी रह्यो । त्यसबेला पनि सेनेगल पेनाल्टीमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

इजिप्टको कायरो अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा बाघदाद बोउनदेजाको प्रहार सालिफ सानेको खुट्टामा लागेर डिफ्लेक्ट भएको बल गोलमा परिणत भएको थियो । खेलको दोस्रो मिनेटमा नै भएको गोल नै अल्जेरियालाई जित दिलाउनका लागि निर्णायक बन्यो ।

खेलमा सेनेगलले अल्जेरियामाथि दबाब कायम गरे पनि गोल भने गर्न सकेन । खेलमा सेनेगलले अल्जेरियाको पोस्टमा १२ पटक एटेम्प्ट गरेको थियो । जसमा तीनवटा सट फ्रेममा लागेको थियो ।

दोस्रो हाफमा एमबाए नियाङले दुईवटा उत्कृष्ट मौका गुमाएका थिए । दोस्रो हाफमा सेनेगललाई पेनाल्टी पनि दिइएको थियो । तर, भिडियो एसिस्टेन्ट रेफ्रीले त्याे पेनाल्टीको निर्णय उल्टाएको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया