पर्यटन प्रवर्द्धनका लागि जुट्दै डोटीका युवा

 साउन ४, २०७६ शनिबार १४:२६:७ | विमल बिष्ट
unn.prixa.net

डोटी - जोरायल गाउँपालिका वडा नं. २ का युवाहरु पछिल्लो समय पर्यटन क्षेत्रको प्रवर्द्धनमा जुट्न थालेका छन ।

स्थानीय स्तरमा धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्व राख्ने दर्जनौँ स्थलहरु भए पनि प्रचार प्रसारकोे अभावमा ओझेलमा परेको भन्दै युवाहरुले यस्ताे अभियान थालेका हुन् । पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न युवाहरुले छतिवन पर्यटन प्रवर्द्धन समिति नामक संस्था पनि गठन गरेको समितिका अध्यक्ष भरत कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जोरायलमा दर्जनाैँ ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थल भए पनि तिनीहरुको प्रचार प्रसार नहुन सकेकाले युवाहरुले समूह बनाएर प्रचार प्रसारमा जुटेका हुन्, यो राम्रो पक्ष हो ।’

जोरायल गाउँपालिका वडा नं. २ मा धार्मिक, पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्व राख्ने छहरा झरना, भगत बाबा मन्दिर, छतिवन ताल, रंगुन ताल, बाइस खाम, धारापानी पिकनिक क्षेत्र, भगवती डाँडा लगायतका स्थलहरु रहेका छन् । छतिवनमा पर्यटन प्रवर्द्धनका लागि पर्यटन गुरु योजना तयार भइसकेको र त्यसका लागि आवश्यक विस्तृत योजना निर्माण हुने क्रममा रहेको समितिले जनाएको छ ।

त्यसका लागि रुवसकाँडादेखि छहरा झरनासम्म जिपलाइन, भगत डाँडामा भ्यु टावर, छहरा झरनाको संरक्षण र संवर्द्धनको लागि यसै वर्ष विस्तृत योजना बन्ने अध्यक्ष कुँवरले जानकारी दिनुभयो । हालसम्म रुवसकाँडादेखि छहरा झरनासम्मको ६ किलाेमिटरमध्ये ५ किमि सडक निर्माण भइसकेको र बाँकी सडक यसै आर्थिक वर्षमा निर्माण गरिने कार्यक्रम रहेको छ ।

समितिले पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरे पनि सम्बन्धित निकायबाट अनुमति नपाउँदा सञ्चालन हुन नसकेको र यसका लागि आवश्यक पहल भइरहेको समितिले जनाएको छ ।

युवाहरुको प्रयासलाई प्रोत्साहन गर्नका लागि जोरायल गाउँपालिका, प्रदेश सरकार तथा निर्वा न क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट केही सहयोग उपलब्ध भएको छ । पर्यटन प्रवर्द्धन पनि विकासको महत्वपूर्ण अंग भएकाले छतिवनका युवाहरुले थालेको अभियानमा गाउँपालिकाले सक्दो सहयोग गर्ने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जनाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पर्यटन क्षेत्रको विकासका लागि युवा समूहले गरिरहेका कामका आधारमा गाउँपालिकाले आवश्यक सहयोग र बजेट विनियोजन गर्नेछ ।’ छतिवन पर्यटन प्रवर्द्धन समिति सम्बन्धित निकायमा दर्ता गर्ने प्रकृयामा रहेको बताइएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया