१८ देखि ३५ वर्षसम्मका व्यक्तिलाई मात्र ‘युवा’ मान्नुपर्ने राष्ट्रिय युवा परिषद्काे‍ प्रस्ताव

 साउन ४, २०७६ शनिबार १७:६:५६ | रासस
unn.prixa.net

काठमाण्डाै - सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको छ । 

परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपालमा पनि युवाको उमेर समूहमा पाँच वर्ष कम गरेर परिभाषित गर्न थालिएको बताउनुभयो । सबै देशमा युवाको उमेर ३५ वर्षभन्दा माथि छैन, उहाँले भन्नुभयो, त्यही भएर हाम्रो देशमा पनि युवाको उमेर ४० वर्षबाट घटाएर ३५ वर्षलाई राख्ने प्रस्ताव गरेका छौँ ।

अहिले भने परिषद्को ऐनमा  युवाको उमेरको १६ देखि ४० वर्षलाई परिभाषित गरिएको छ । युवाको उमेर घटाउने प्रस्तावसहितको ऐन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरिएको छ । 

परिषद्को ऐनमा युवाको उमेर ३५ वर्ष कायम गरे राष्ट्रिय युवा नीति र युथ भिजन–२०२५ मा पनि युवाको उमेर स्वतः ३५ वर्षमा झारिनेछ । अहिले १६ देखि ४० वर्षसम्मलाई युवाको उमेर मान्दा कूल जनसङ्ख्याको ४०।३ प्रतिशत युवाको रहेको छ । नेपालमा १८ वर्षभन्दा मुनिकालाई बालबालिका भनिएकाले नेपालमा १८ वर्षदेखि माथिदेखि नै युवाका लागि प्रस्ताव गरिएको हो । अठार वर्ष पुगेकालाई मतदानको अधिकारसमेत दिइने गरिन्छ ।  

अन्तर्राष्ट्रिय चलनअनुसार युवाको उमेर नेपालमा पनि ३५ वर्षसम्म बनाउन थालिएको हो । अरु देशमा पनि युवाको उमेरलाई ३५ वर्ष मान्ने गरिन्छ । संयुक्त राष्ट्र सङ्घले १५ देखि २९ वर्षसम्मका लागि युवा भनी परिभाषित गरेको छ । छिमेकी मुलुक भारतमा १६ देखि ३२ वर्षलाई युवा भनी परिभाषित गरिएको छ । यसैगरी ऐनमा प्रदेश युवा परिषद् गठन गर्ने प्रस्तावसमेत गरिएको छ । 

देश सङ्घीय संरचनामा गइसकेपछि परिषद्लाई पनि सातवटै प्रदेशमा विस्तार गर्नका लागि प्रदेश युवा परिषद्को व्यवस्था गर्न लागिएको परिषद्का सूचना अधिकारी धु्रवराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सातवटै प्रदेश र ७५३ पालिकामा युवा परिषद् गठन गर्न ऐनको मस्यौदासमेत बनाएर पठाइसकेको छ ।

सङ्घीय ऐन पारित भएपछि प्रदेश र पालिकाहरुले परिषद्ले पठाएको मस्यौदाका आधारमा ऐन बनाएर प्रदेश युवा परिषद् र पालिका युवा परिषद् गठन गर्न सक्नेछन् । 

प्रदेश युवा परिषदमा प्रदेशका सामाजिक विकासमन्त्री अध्यक्ष र एक जना उपाध्यक्ष चयन गर्ने व्यवस्था गर्न लागिएको छ । परिषद्ले प्रदेश र स्थानीय तहमा हुने परिषद्को गठनबारे मस्यौदा बनाएर पठाइसकेको छ ।

पालिकाहरुमा पालिका युवा परिषद् गठनको व्यवस्था गरिएको छ । नगरपालिका वा गाउँपालिकाका प्रमुख अध्यक्ष र अन्य समाजिक सङ्घ संस्थामा रहने युवालाई सदस्य बनाइने मस्यौदामा उल्लेख गरिएको छ । यसैगरी पहिले गठन गरिएको जिल्ला युवा समितिले अहिले निस्क्रिय रहेको छ । 

सङ्घीय संरचनामा गइसकेपछि जिल्ला युवा समितिलाई केन्द्रबाट बजेट र कार्यक्रम नपठाएपछि निस्क्रिय भएको परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ संरचनाअनुसार जिल्लामा समितिको सट्टामा जिल्ला समन्वय एकाइ गर्ने प्रस्ताव गरिएको छ । त्यस एकाइ कार्यालयले स्थानीय तहमा रहेको परिषद्लाई समन्वय गर्नेछ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

1 Comments

  • सन्दीप पाण्डे

    July 21, 2019, 10:12 p.m.

    try to make accessible of reliable news

  •  0 Reply

तपाईको प्रतिक्रिया