अस्पतालमा खुट्टाको अपरेशन गर्दा बिरामीको ज्यान गयाे, आफन्तले गरे दुहबी बजार बन्द

 साउन ६, २०७६ सोमबार ११:४७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी - घुँडाको अपरेशनको क्रममा सुनसरी दुहबीका अनिलकुमार साहको नोबेल अस्पतालमा ज्यान गएपछि मृतकका आफन्त आन्दाेलित भएका छन् ।  

आइतवार नोबेल अस्पताल अगाडी धर्नामा बस्दै प्रदर्शन गरेका मृतकका आफन्तले साेमबार धर्ना जारी राख्नुका साथै दुहबी बजार समेत बन्द गराएका छन् । कोशी राजमार्ग अन्तर्गतको दुबही क्षेत्रमा सडकमा प्रदर्शन गरेर स्थानीयले यातायात अवरुद्ध पारेका हुन् ।  

उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग गर्दै आएका मृतकका आफन्तले सडक अबरुद्ध पारेका हुन्  । उनीहरुले उपचारमा संलग्न चिकित्सकलाई कारबाहीकाे माग राख्दै मृतककाे शव समेत उठाएका छैनन् ।  

आइतबार रातिसम्म वार्ता भए पनि कुनै निस्कर्ष नआएपछि पीडितका आफन्त सडकमा पुगेका हुन् । वार्तामा अस्पतालले मृतकका परिवारलाई २ लाख दिने भनेकाे र मृतकका आफन्तले भने मृतकलाई फिर्ता ल्याईदिए १ करोड दिन्छाैँ भनेका थिए । यसमा कुरा नमिलेपछि वार्ता भाँडिएको थियो । वार्ताको बारेमा पटक पटक पहल भइरहे पनि डा.सुनिलसँग नबस्दासँम्म कुरा मिल्ने सम्भावना कम रहेको  प्रहरीले जनाएको छ ।  

बिहीबार उपचारको लागि अस्पताल भर्ना भएका सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का अनिलकुमार साहको आईतवार बिहान ज्यान गएको हो ।

सोनापुरमा रहेको एसियन थाईफुड्समा कार्यरत साहकाे कार्यालयमा पार्किङमा मोटरसाईल राख्ने क्रममा लडेर खुट्टामा चोट लागेको थियो । खुट्टामा चोट लागेर अस्पताल पुगेका साहको अपरेशनको क्रममा ज्यान गएपछि आफन्तले चिकित्सककाे लापरवाहीका कारण ज्यान गएको दावी गरेका छन् । मृतकका भाइ प्रदीप साहले डाक्टरले औषधिमा कैफियत गरेको हुनसक्ने आशंका गरेका छन् ।

आफन्तले गरेको दुहबी बजार बन्दका कारण त्यहाँबाट सार्बजनिक सवारीका साधन चल्न सकेका छैनन् । पूर्वजाने सवारीका साधनहरु भने पुष्पलाल चोकबाट बिराटचोक हुँदै गन्तब्यमा जान थालेका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया