'क्लिन फीड' काे प्रावधान हटाउन सकिँदैन : सञ्चारमन्त्री बाँस्काेटा

 साउन ६, २०७६ सोमबार १४:२८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको 'क्लिन फीड' लागू गराउने प्रावधान हटाउन नसकिने अडान राख्नु भएको छ । 

मन्त्री बाँस्कोटाले राष्ट्रिय जनता पार्टी, नेपालका सांसदद्वय लक्ष्मणलाल कर्ण र एकवाल मियाँले त्याे विधेयकबाट क्लिन फिड लागू गराउने प्रावधान हटाउन राख्नु भएको संशोधन प्रस्ताव सरकारलाई मान्य नहुने पनि स्पष्ट पार्नुभयो ।

सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले राष्ट्रको हितसँग सम्बन्धित भएर सरकारले विधेयकमा त्याे प्रावधान राखेको स्पष्ट पार्दै फिर्ता लिन पनि संशोधनकर्ता सांसदद्वय कर्ण र मियाँलाई आग्रह गर्नुभयो ।

नेपालको हितलाई प्रवर्द्धन गर्ने तथा नेपालका कलाकार, मिडिया क्षेत्रलाई पनि समृद्धितर्फ अघि बढाउने भएकाले विधेयकको त्याे प्रावधान हटाउन नसकिने मन्त्री बास्कोटाको तर्क छ । मन्त्री बास्कोटाले विज्ञापन बजारलाई नियमन गर्न राखिएको सो प्रावधान  सय पटक छलफल गरेपनि हटाउने पक्षमा सरकार नरहेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले क्लिन फीड देशको राष्ट्रियता र रोजगारीसँग जोडिएकोतर्फ पनि समितिको ध्यानाकर्षण गराउनुभयो । बैठकमा समितिका सदस्यहरुले क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान विधेयकबाट हटाउन सरकारसँग माग गरेका थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सबैले व्यवसाय गर्न पाउने संवैधानिक हकविपरीत सरकारले त्याे विधेयकमा क्यासिनोहरुको विज्ञापन गर्न नपाउने प्रावधान राखेकोमा आपत्ति जनाउँदै हटाउन माग गर्नुभयो । उहाँले बाह्य पर्यटक भित्र्याएर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि क्यासिनोहरुको विज्ञापन गर्न पाउने व्यवस्था गर्न उपयुक्त हुने तर्क पनि गर्नुभयो ।

सांसदहरुले विधेयक र सूचना प्रविधिसँग सम्बन्धित विषयकमा बाँझिएका कतिपय प्रावधान सच्याउन पनि सरकारलाई सचेत गराएका थिए । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया