आमाले परपुरुषसँग छोरीलाई सँगै लगिन् दिल्ली : बन्धक बनाएर १५ दिनसम्म बलात्कार

 साउन ६, २०७६ सोमबार १४:५२:८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – महोत्तरीको भंगहा नगरपालिकाकी एक दलित बालिका आमाकै सहयोगमा बलात्कृत भएको घटना बाहिरिएको छ ।

भंगहा नगरपालिका ६ की १२ वर्षकी बालिका उनकै आमाको सहयोगमा बलात्कृत भएकी हुन् । जेठ २७ गते छिमेकका ४० वर्षीय सियाराम महतोले बालिकाकाे आमाकै सहयोगमा दिल्ली पुर्‍याएर बालिकालाई बलात्कार गरेको खुलेको हो ।

बालिकाको आमाको सियारामसँग हिमचिम भएका कारण आमाले छोरीलाई सियारामसँगै दिल्ली लिएर गएकी थिइन् । सियारामले दिल्लीको एउटा कोठामा बन्धक बनाइ आफूलाई १५ दिनसम्म यौन शोषण गरेको बालिकाले बताएकी छिन् ।

छिमेककै सियारामले आमाछोरीलाई दिल्ली लगेको थाहा नपाउँदा आफन्तले खोजी गरेका थिए । बालिकाकी ठूली आमाले दुवै जनालाई सियाराम र उनका बुवा रामाशिष महतोले दिल्ली लगेको भन्दै फिर्ता ल्याइदिन भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएकी थिइन् । 

प्रहरीले कारबाही अगाडि बढाएपछि गएको असार १६ गते सियाराम आमा छोरीलाई लिएर घर आएका थिए । तर बालिकाले प्रहरीमा सियारामविरुद्ध करणीको उजुरी दिएपछि सियाराम र बालिकाकी आमा फेरि फरार भएका छन् ।

दोषीले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैन : उपरीक्षक अधिकारी

बालिकाले गएको असार २२ गते आफूलाई १७ दिनसम्म बन्धक बनाइ बलात्कार गरेको भन्दै सियारामविरुद्ध मुद्धा दर्ता गरेकी छिन् । यस्तै घटनामा सहयोग गरेको भन्दै सितारामका बुवा रामशिष महतो र स्थानीय रामजत महतोविरुद्ध पनि उजुरी दर्ता गरिएको छ ।

दिल्लीबाट फर्केकी बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

‘बालिकाको स्वास्थ्य परीक्षण भइसकेको छ । मुख्य पीडक र बालिकाकी आमा फेरी भारततिर भागेकी छन्’, उपरीक्षक अधिकारीले भन्नुभयो, ‘हामी खोजी गरिरहेका छौँ । यो गम्भीर प्रकृतिको घटना हो । पीडकले कुनै पनि हालतमा उनन्मुक्ति पाउँदैन ।’

अपाङ्ग बुवा बेपत्ता भएपछि परपुरुषसँग आमाको हिमचिम

चमार समुदायकी ती बालिकाका बुबा एक वर्षदेखि बेपत्ता छन् । आर्थिक विपन्नताको कारण बुबा होटेलमा मजदुरी गरेर घरपरिवार चलाउँथे । मानसिक सन्तुलन गुमेपछि बुबा हराएका छन् । तर उनकी आमाले श्रीमानको खोजखबरमा कुनै ध्यान दिइनन् । बरु छिमेककै सियारामसँगको सम्पर्कमा पुगिन् ।

बालिका एक बहिनी र एक भाइ छन् । भाइ १० वर्ष र कान्छी बहिनी ८ वर्षकी छन् । कान्छी बहिनी अहिले आमासँगै गएको बालिकाले बताइन् । कान्छो भाइ र उनी अहिले ठूलीआमाको शरणमा छन् । बुबा बेपत्ता र आमा यो घटनापछि  फरार हुँदा उनीहरु भने बिचल्लीमा परेका छन् ।

मानसिक सन्तुलन गुमाएर बेपत्ता भएका श्रीमानको खोजी नगरी परपुरुषसँग लागेर बालिकाको अवस्था यस्तो बनाएको बालिकाकी ठूली आमा बताउँछिन् । आफ्नो घरको आर्थिक अवस्था पनि कमजोर रहेकाले दुई बालबालिकालाई खुवाउन हुर्काउन समस्या भएको उनले गुनासो गरिन् ।

उनले अन्याय र बिचल्लीमा परेका बालिकालाई सहयोग गर्न सबैसँग आग्रह गरेकी छिन् । चरम यौनशोषणले बालिकाको स्वास्थ्यमा समस्या, उपचारको लागि भौँतारिँदै दिल्लीबाट फर्केपछि बालिकाको स्वास्थ्यमा समस्या देखिएको छ । बालिकाको चरम यौन शोषणले तल्लोपेट दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता स्वास्थ्यमा समस्या देखिएको छ । ‘तल्लो पेट कुनै कुनै बेला बेस्सरी दुख्छ, टाउको दुख्छ’, आइतबार जनकपुरमा उपचार गराउन आएकी बालिकाले भनिन् ।

बालिकाको घरमा कोही नहुँदा आर्थिक संकटले उपचार गराउन समेत समस्या भएको ठूलीआमाले पीडा सुनाइन् ।

यसरी भयो घटना : आमाले छले, सियारामले लगे

बालिकाको बयान

मलाई आमाले जनकपुरमासँगै सरसफाइको काम गर्ने भन्दै तिमी पनि हिँड्नुपर्छ भन्नुभयो । मैले इन्कार गरेँ । म घरमै बस्छु भनेँ । तर आमाले फकाएर मलाई लिएर जानुभयो । म आमासँगै घर नजिकैबाट बसमा चढेँ । तर आमाले धनुषाको सखुवा महेन्द्रनगर पुगेपछि बसबाट झर्न भन्नुभयो । मैले भने हजुरले जनकपुर लैजाने भन्नुभएको थियो यहाँ किन ओर्लिनुभयो ? आमाले यहाँ केही काम छ भनेर भन्नुभयो । बसबाट ओर्लेपछि छिमेककै सियारामसँग भेट भयो । त्यसपछि फेरि जनकपुर जाने भन्दै तीनै जना बसमा चढ्यौँ ।

जनकपुर पुगेपछि आमाले घुम्न भारत जानुपर्छ भन्नुभयो । मैले नाइँभन्दा पनि  आमाले हप्काउनुभयो । विभिन्न प्रलोभन दिनुभयो । सियारामले पनि हामी घुमेर भोलि नै फर्किने भन्न थाले । त्यसपछि हामी फेरी जनकपुरमा जटहीको बस चढेर जटही हुँदै जयनगर पुग्यौँ । त्याहाँबाट रेल चढेर दरभंगा पुर्‍याए । त्यहाँ पुलिसले सोधपुछ गर्‍यो ।

त्यसअघि नै आमाले सियारामलाई बुवा भन्न सिकाएकी थिइन् । मैले भन्न नमान्दा पनि दुवैजना मिलेर भन्न सिकाएका थिए ।

प्रहरीले सोधपुछ गर्दा आमा र सियारामले सिकाएजस्तै गरि मैले बाबु आमा नै भने । दुईदिनपछि साँझतिर दिल्ली पुगेको थियो । त्यहाँ सियारामले एउटा कोठा भाडामा लिएका थिए ।

त्यहाँ पुगेपछि म बिरामी परे । रिँगटा लाग्यो । सियारामले औषधि किनेर ल्याए । औषधि खाएको एकछिन पछि म निको भएँ ।

रात परेपछि भने सियाराम र आमाले एउटै कोठामा सुत्न कर गरे । तर मैले अलग्गै सुत्छु भन्दै जिद्दि गर्दा पनि कुनै काम लागेन । सियारामले आफूसँग धेरै पैसा नरहेकाले एउटै कोठामा सुत्नुपर्छ भने । म रुँदै एउटै कोठामा सुत्दिन भनेँ । तर आमा र सियारामले विभिन्न धाकधम्की दिँदै सियारामले कुटपीट गर्न लागेपछि त्यही सुत्न बाध्य भएँ ।

सियारामले घाँटी थिचेर ‘मारदिन्छु, काटदिन्छु, तँलाई कसैले काम दिँदैन, जे भन्छु त्यो मान भन्दै धम्काए । म निकै डराएको थिए तर पनि त्यहाँ कसैलाई नचिन्ने भएकाले आमा र सियारामले भनेको कुरा माने ।

तीनै जना एउटै कोठामा एउटै ओछ्यानमा सुत्नुपर्‍यो । एकछेउमा आमा र अर्को छेउमा म सुतेको थिए । सुतेपछि सियारामले मेरो मुख थिच्दै मेरो सबै कपडा फुकालेर जबरजस्ती गर्न थाले । म रोए कराएँ । न त मेरी आमाले सुनिन्, नत सियारामले माने । त्यसपछि दिनरात सियारामले त्यसै गरी कुटपिट र यातना दिँदै १५ दिन बितायो । मलाई त्यहाँबाट भाग्न समेत दिएनन् ।

पछि घरबाट फोन आएपछि मलाई लिएर फर्के । बाटोमा आउँदा फेरि उनीहरु दुवै जनाले त्यहाँ भएको कुरा कसैलाई नभन्न प्रलोभन र धाकधम्की दिए ।

हामी असार १६ गते साँझ घरमा आइपुग्यौँ । त्यसपछि बिहानै फेरि आमा र सियाराम भागे । म निकै समस्यामा छु । मेरो स्वास्थ्यमा समस्या छ । भाइबहिनी बिचल्लीमा छन् । हामीलाई न्याय दिलाउन, उपचार गराउन तपाइँहरु सहयोग गरिदिनुस् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया