डेटिङ जाउँ भन्ने एक्सलाई सिधै ब्लक : आँचल शर्मा

 साउन ६, २०७६ सोमबार १७:१९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अभिनेत्री आँचल शर्मा अहिले म्युजिक भिडियोको छायांकनमा व्यस्त छिन् । ‘दाल भात तरकारी’ चलचित्रमा काम गरेपछि उनले कुनै पनि चलचित्र साइन गरेकी छैनन् ।  

विभिन्न चलचित्रहरुबाट प्रस्ताव आइरहेको भए पनि चित्त बुझ्दो कथा नभएसम्म काम नगर्ने अडान अभिनेत्री शर्माले लिएकी छन् । प्रस्तुत छ, उनै अभिनेत्री शर्मासँग गरिएको रमाइलो कुराकानीको अंश–

कुनै पार्टीमा तपाईँलाई बोर लाग्यो र त्यहाँबाट निस्कन चाहनुहुन्छ तर पाउनु भएको छैन भने के गर्नुहुन्छ ?
जानै पर्ने छ भने त जान्छु,  नत्र जाँदै जाँदिन, कुरै सक्कियो । तर, मलाई यस्तो अहिलेसम्म परेको छैन ।

तपाईँको छिमेकीले मध्य रातमा ठूलो आवाजमा गीत बजाएर डिस्टर्ब गर्‍यो भने ?
मलाई निद्रा डिस्टर्ब गरेको चाहिँ निकै रिस उठ्छ । किनभने कामको दबाबले गर्दा थाकेको हुन्छु  । अनि अर्को कुरा बिहान कसैले उठाएको पनि मलाई मन पर्दैन ।

तपाईँले एउटा राम्रो स्क्रिप्ट पाउनु भयो तर काम गर्ने मान्छेसँग तपाईँको बोलचाल बन्द रहेछ भने ?
केही पनि हुँदैन थियो । म आफ्नो काम गर्थेँ किनभने काम भनेको भगवान हो । म काम गर्थेँ, बोल्ने नबोल्ने अर्काे कुरा तर सेटमा चाहिँ बोल्थेँ ।

देशको नेतृ बन्नुभयो भने के गर्नुहुन्थ्यो होला ?
अहिलेका नेताज्यूहरुले ठूला ठूला गफ गरिरहनु भएको छ । सायद म पनि तपाईँको धारा–धारामा मेलम्चीको पानी ल्याइदिन्छु, रेल ल्याइदिन्छु भन्दै ठूला-ठूला भाषण गर्थेँ होला (हाँसो) ।

तपाईँलाई एक्सले फेरि डेटिङ जाउँ भन्यो भने ?
म त्यो एक्सलाई ब्लक गर्छु । यदि नयाँ नम्बरबाट फोन गर्यो भने सरी ! मैले तपाईँलाई चिनिन भनेर फोन राखिदिन्थेँ (हाँसो) ।

तपाईँ कुनै कार्यक्रममा हुनुहुन्छ र कसैले तपाईँको कपडामा खानेकुरा पोखिदियो भने ?
अन्जानमै भएको गल्तीलाई त के भन्न सकिन्छ र ? केही छैन भनेर वास्तै गर्दिन थिएँ ।

कुनै अन्तर्वार्तामा सोधेको प्रश्नको उत्तर दिन मन लागेन भने ?
यसको उत्तर अहिले नदिउँ होला भनेर टारिदिन्छु । तर यस्तो त मलाई धेरै पटक भएको छ ।

कसैको बिहेको प्रस्ताव आउँदा राख्ने दुई शर्तहरु ?  
मायामा सायद शर्त राखिँदैन र म पनि राख्दिनँ । तर मलाई माया गर्नुपर्छ र मेरो सबै परिवारलाई माया गर्नुपर्छ । अनि मलाई बुझ्नुपर्छ, त्यही नै हो ।

तपाईँले आफ्नो कुनै बानी छोड्नुपर्यो भने ?
म प्याच्च प्याच्च बोल्ने बानी चाहिँ छोड्थेँ होला ।

कुनै ठाउँमा हराएको सामान अन्तिममा आफ्नै खल्तीमा रहेछ भने ?
अलिकति त रिस पनि उठ्छ । त्यत्रो खोजेँ, कहीँ पनि भेटिन अखिरमा यहाँ रहेछ भन्छु । म प्रायः त्यस्तो बेलामा एक्लै बोलिरहेको हुन्छु ।

-उज्यालाे र गफगाफडट कमकाे सहकार्यमा

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया