तिलगंगा आँखा अस्पताललाई ‘डब्ल्यूएचओ’ को मान्यता

 साउन ६, २०७६ सोमबार १६:३८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर - रासस

काठमाण्डाै - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तिलगंगा आँखा अस्पताललाई आफ्नो समन्वय केन्द्रको रुपमा मान्यता दिएको छ । 

२५ औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाण्डाैमा एक कार्यक्रमका बीच विश्व स्वास्थ्य संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अस्पताललाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो । आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकाले अस्पताललाई आफ्नो समन्वय केन्द्रमा मान्यता दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले तिलगंगा अस्पतालले आँखाको उपचारको क्षेत्रमा असाधारण काम गरेर देशको समृद्धिको अभियानमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । उहाँले अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलगायतका टिमले आँखा उपचारको क्षेत्रमा पुर्‍याएको योगदानको पनि खुलेर प्रशंसा गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले अस्पतालका लागि आवश्यक सबै सहयोग गर्न सरकार सधैँ तयार रहेको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आँखाको स्वास्थ्य सेवालाई अन्य सेवासँगै छोडेर अघि बढाउने गरी सरकारले स्वास्थ्य नीति ल्याएको जानकारी दिनुभयो । उहाँले आँखाको स्वास्थ्य सेवालाई अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै ‘आँखा इकाई’ को व्यवस्था गर्ने घोषणा पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक रुइतले आँखा अस्पतालले २५ वर्षयता आँखाको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गराउनु भयो । हालसम्म ६० लाख आँखा रोगीहरुको उपचार गरेको तथा ४ लाख बढीको आँखाको शल्यक्रिया गरिएको पनि अस्पतालको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया