ढाका उडान आरम्भ गर्दै हिमालय एअरलाइन्सले गर्‍याे क्षेत्रीय सञ्जाल विस्तार

 साउन ६, २०७६ सोमबार २०:३७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –हिमालय एअरलाइन्सले बांङ्गलादेशको सांस्कृतिक, राजनीतिक तथा सांस्कृतिक केन्द्र तथा देशको राजधानी ढाकामा आफ्नो पहिलो उडान भरेको छ । 

प्रिमियम इकनोमी क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एअरबस ए३२०–२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउनेछ । केवल एक घण्टाको उडान दूरी रहेकोले व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रुका लागि त्यही दिन फर्कन मिल्ने सुविधायुक्त उडान तालिका प्रस्ताव गरिएको छ । यो नयाँ रुटले नेपालको एसियाली देशसँग सम्पर्क अझ बढावा दिने आशा गरिएको छ । 

हिमालय एअरलाइन्सको ढाकाको पहिलो उडानमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, नेपालका लागि बंगलादेशी राजदूत मासफी बिन्ते साम्स्, नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, र हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय बहादुर श्रेष्ठले सहभागी हुनु भएको थियो । साथै हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङ पनि विशिष्ट अतिथिहरुको बिदाइका निम्ति उपस्थित हुनुभएको थियो । 

सोमबार १४१ यात्रु बोकेर उद्घाटन भएको हिमालय एअरलाइन्सको विमान एच नाइन ६७८ काठमाण्डौको त्रिभुवन विमानस्थलबाट स्थानीय समय ११ः३३ मा उडेको थियो र ढाकाको हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १ बजे अवतरण गरेको थियो ।

सोमबार नै  कुल १०४ यात्रु बोकेर एयरलाइन्सको विमान एच नाइन ६७९ ढाकाबाट स्थानीय समय १४ः२६ मा उडान भरी त्रिभुवन विमानस्थलमा ३ः४४ मा अवतरण गरेको थियो । हिमालय एअरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई बङ्गलादेशमा आफ्नो जीएसए (साधारण बिक्री एजेन्ट) का रुपमा नियुक्ति गरेको छ ।

झण्डै ८० लाख जनसंख्या भएको ढाका दक्षिण एसियाको प्रमुख शहरहरुमध्ये एक हो । बांङ्गलादेशको ठूलो र विश्वकै अधिक जनसंख्या भएको शहर ढाका परम्परागत रुची राख्नेहरुका लागि उपयुक्त पर्यटकीय गन्तव्य स्थल हो । 

नेपाल भ्रमण आउने पर्यटकहरुमा बङ्गलादेशी पर्यटकको योगदान औसत २ प्रतिशत रहेको छ र सन् २०१९ को जनवरीदेखि जुन २०१९ सम्म १०,५९० बङ्गलादेशी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष सन् २०१८ को दाँजोमा बङ्गलादेशी पर्यटकको संख्या झण्डै २५ प्रतिशतले घटेको छे ।

नयाँ सञ्जाल प्रारम्भ गरेसँगै हिमालय एअरलाइन्सले ठूलो संख्यामा बङ्गलादेशी पर्यटकलाई नेपाल भित्र्याएर ‘नेपाल भ्रमण वर्ष २०२०’ को पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न आफ्नो योगदान पुर्‍याउने आशा व्यक्त गरेकाे छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया