टी–२० विश्वकप एसिया छनोट : नेपालले आज कतारसँग खेल्दै

 साउन ७, २०७६ मंगलबार ६:५१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालले दोस्रोपल्ट आईसीसी ट्वान्टी–२० विश्वकप खेल्ने लक्ष्यको एउटा खुट्किलोका रुपमा रहेको एसिया छनोट अन्तर्गत आफ्नो पहिलो खेल मंगलबार खेल्दैछ ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाली समयअनुसार मंगलबार बिहान सवा सात बजेदेखि सुरु हुने खेलमा नेपालले कतारसँग खेल्नेछ ।

पाँच टोली सम्मिलित प्रतियोगितामा नेपाल उच्च वरियताको टिम हो । त्यसैले स्वभाविक रुपमा उसको दावेदारी उपाधिमै रहेको छ । तर कप्तान पारस खड्काकै भनाइ मान्ने हो भने आफूभन्दा कमजोर टिमसँग खेल्दा आइपर्ने दवाबको अनुभव नेपाली टिमले गरेको छ ।

राउन्ड रोविन लिग प्रणालीको आधारमा हुने प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले यूएईमा अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म आयोजना हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ ।

नेपालले मंगलबार कतार, बुधबार मलेसिया, शनिबार कुवेत र आइतबार घरेलु टोली सिंगापुरबिरुद्ध खेल्दैछ । प्रतियोगिताको पहिलो दिन सोमबार घरेलु टोली सिंगापुर र मलेसियाले आआफ्नो खेलमा जित हासिल गरिसकेका छन् ।

नेपाल र कतारका सिनियर टिमबीच अहिलेसम्म ट्वान्टी–२० फर्म्याटमा २ खेल भएका छन् । सन् २००७ मा भएको एसीसी ट्वान्टी–२० कपमा कतार ३ विकेटले विजयी भएको थियो भने २००९ मा भएको यही प्रतियोगितामा नेपालले ६ विकेटको जित हासिल गरेको थियो । नेपाल र कतारबीच ट्वान्टी–२० खेल एक दशकपछि हुन लागेको हो ।

वर्तमान अवस्थामा कतारभन्दा नेपाल उच्च वरियतामा छ । नेपाल ११ औं वरियतामा छ भने कतार २१ वरियतामा छ । कतारले पहिलो खेलमा सोमबार सिंगापुरसँग ३३ रनले पराजित भएको अवस्थामा नेपालविरुद्धको खेल गर या मरको अवस्थामा हुनेछ ।

नेपाल विश्वकप खेलिसकेको टोली पनि हो । सन् २०१४ को विश्वकपमा नेपाल छनोट भएको थियो ।

गएको महिना नेपाली टोलीका मुख्य प्रशिक्षक बनेका उमेश पटवालका लागि पनि यो पहिलो आधिकारिक प्रतियोगिता हो । तर पटवाल ब्याटिङ कन्सल्ट्यान्टका रुपमा सन् २०१८ को फेब्रुअरीदेखि नै नेपाली टिमको कोचिङ स्टाफका रुपमा थिए ।

एक महिनाको अभ्यासका क्रममा १० दिन मलेसियामा बिताएको नेपाली टिमले त्यहाँ मलेसियाको राष्ट्रिय टोलीसँग २ ट्वान्टी–२० खेलको शृंखला खेलेको थियो । त्यस शृंखला नेपालले क्लीन स्वीप गरेको थियो ।

कतारविरुद्धको खेलमा मध्यक्रमका स्टार ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी चोटमुक्त हुने अपेक्षा गरिएको छ । औलाको चोटका कारण उनले मलेसियाबिरुद्धको शृंखला गुमाएका थिए ।

नेपालको ओपनिङको जिम्मेबारी कप्तान पारसले नै संहाल्नेछन् । उनको जोडीका रुपमा प्रदीप ऐरी र पवन सर्राफमध्ये एक हुनेछन् । पछिल्लो समय राष्ट्रिय टोलीबाट रन बनाउन नसकिरहेका उपकप्तान ज्ञानेन्द्र मल्ललाई राम्रो प्रदर्शन गर्ने चुनौति हुनेछ । अनुभवी शरद भेषावकर, यू–१९ कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र र विनोद भण्डारीले नेपालको मध्यक्रम संहाल्न सक्नेछन् ।

बलिङमा सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने हुनेछन् । विकेटको कन्डिसन हेरेर बसन्त रेग्मी, अभिनाश बोहोरा र ललित नारायण राजवंशीलाई पनि टिममा राख्न सकिनेछ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया