मनसुन पुनः सक्रिय, बाढी पहिरोको खतरा !

 साउन ७, २०७६ मंगलबार ८:१४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मंगलबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको  दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्वका अधिकांश तथा मध्य तथा पश्चिमका केही  स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

मंगलबार बिहान देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली भएर केही स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । यस्तै, पश्चिममा आंशिकदेखि सामान्य बदली भएर केही स्थानमा वर्षा भइरहेको मौसमविदले जानकारी दिएका छन् ।

मंगलबार दिउँसो देशको पूर्वी तथा मध्य भूभागमा पूर्ण बदली हुने र पश्चिमका केही स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुने मौसमविदहरुको अनुमान छ । यस्तै, मंगलबार राति पूर्वी तथा मध्यका केही स्थानमा र पश्चिमका थोरै स्थानहरुमा भारि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मंगलबार बिहान बुटवलमा तिनाउ नदीमा पानीको सतहले खतराको तह पार गरेको र पानी बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका नागरिकलाई बेलुकासम्म नै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, नवलपरासी, तनहुँ, गोरखा, धादिङ, लमजुङ, चितवन, पर्सा, बारा, मकवानपुर, रौतहट, सिन्धुली र आसपासका क्षेत्रमा पनि मध्यमदेखि ठूलो पानी परिरहेकाले स–साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

पुनः मनसुन सक्रिय भएकोले अबको तीन दिन सम्म नै केही भूभागमा भारी वर्षा हुने भएकाले पहाडी भूभागमा पहिरो जान सक्ने तथा चुरेबाट बहने खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया