गुल्मीको सत्यवती गाउँपालिकामा बाढी र पहिरोका कारण ६ जनाको मृत्यु

 साउन ७, २०७६ मंगलबार ९:३८:२८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा बाढी र पहिरोमा परेर ६ जनाको ज्यान गएको छ । सत्यवती गाउँपालिकाको भिरकुना भन्ने ठाउँमा ३ वटा घर बाढीले बगाउँदा चार जनाको ज्यान गएको छ  ।

ज्यान गुमाउनेमा अञ्जली विक, हेमान्सु विक, पम्फा विक र निर्मली विक रहेको प्रहरीले जनाएको छ । यस्तै, बाढीमा अन्य ५ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य भैरहेको छ ।

यस्तै, सत्यवती गाउँपालिका–३  ठूलोलुम्पेकको कसिनथला भन्ने ठाउँमा पहिरोले घर भत्किँदा ३१ वर्षीया तिलकुमारी तरामु र ७ वर्षका दर्शन तरामुको ज्यान गएको छ । घाइते २ जनाको उद्धार गरी अहिले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको नेतृत्वमा ११ जनाको टोली तम्घासबाट घटनास्थलतर्फ गए पनि पानी परिरहेको र पहिरोले बीचबीचमा सडक बन्द भएकाले घटनास्थलमा पुग्न समस्या भएको छ ।

वर्षाका कारण गुल्मीको रिडी–रुद्रबेण–वामीटक्सार सडकखण्ड समेत सोमबार रातिदेखि नै बन्द भएको छ । यो सडकखण्ड अन्तर्गत लुम्दी खोला, बादरे भीर, डहरे खोलामा बाढी र पहिरो गएर बन्द भएको सडक खुलाइएको तर केही ठाउँमा भने सडक बन्द रहेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया