विश्वकप छनोट : कतारसँग नेपाल ४ विकेटले पराजित

 साउन ७, २०७६ मंगलबार ११:१०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी ट्वान्टी २० विश्वकप एसिया छनोटमा नेपाल कमजोर टोली कतारसँग ४ विकेटले पराजित भएको छ । आईसीसी वरीयतामा २१ औं स्थानमा रहेको कतारले ११औं स्थानमा रहेको नेपाललाई पराजित गरेको हो ।

१२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । उसका लागि ओपन इनाम उल हकले ४१ रन प्रहार गरेका थिए । 

कतारले विष्टफोटक सुरुवात गरेको थियो । सोमपाल कामीले पहिलो ओभरमै १३ रन खर्चेका थिए । दोस्रो ओभरको पहिलो बलमा सन्दीप लामिछानेले पहिलो विकेट लिए  । उनले फैसाल जावेदलाई १ रनको स्कोरमै सोमपालको हातबाट क्याच आउट गराएका थिए । 

४.१ ओभरमा कतारले दोस्रो विकेट गुमायो । २ छक्का र २ चौका बनाएर खेलिरहेका कमरान खानलाई करणले आफ्नो स्पेलको पहिलो बलमै आउट गरेका हुन् ।

त्यसपछि सन्दीपले थप २ विकेट लिए । १०औं ओभरमा मोहम्मद तानवीरलाई ११ रनको स्कोरमा आउट गरेका सम्दीपले आफ्नो स्पेलको अन्तिम ओभरमा जाहिर इब्राहिमलाई १२ रनको स्कोरमा शरद भेषावकरको हातबाट क्याच आउट गराए । १२ ओभरको समाप्तिमा कतारको स्कोर ८६–४ थियो ।

त्यसपछिका ३ ओभरमा दीपेन्द्र सिंह ऐरीले २ महत्वपूर्ण रनआउट लिएपछि नेपालले खेलमा फर्कने प्रयास गरेको थियो । उनले १३.३ ओभरमा उलहकलाई रनआउट गरे । उलहकले ३२ बलमा ६ चौका प्रहार गरेका हुन् । त्यसको अर्को ओभरमा कप्तान तामूर सज्जादलाई ९  रनको स्कोरमा रनआउट गरे ।

कतारका मोहम्मद रिज्लान र नाउमन सरवारले सातौं विकेटका लागि अविजित २५ रनको साझेदारी गरी जित दिलाएका हुन् । सरवारले १५ र रिज्लानले ९ रनको अविजित पारी खेले ।

यसअघि इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर १२२ रनको योगफल खडा गरेको थियो ।

१० वर्षपछि पहिलोपल्ट कतारसँग खेलेको नेपाली टोलीका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । उनीहरुले ४९ रनको साझेदारी गरेका थिए । 

छैटौं ओभरको अन्तिम बलमा पारस २८ रनको स्कोरमा आउट भए । उनले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । ८.२ ओभरमा उपकप्तान मल्ल पनि २४ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन जोडेर आउट भए । 

अनुभवी ब्याट्सम्यान शरद भेषावकरले ७ रनमात्र जोड्न सके । औँलाको चोटबाट पुनरागमन गरेका दीपेन्द्रसिंह ऐरीले नेपालका लागि सर्वाधिक ३४ रनको पारी खेले । उनले ३५ बलमा १ चौका र १ छक्का प्रहार गरे । 

रनआउट हुनुअघि सोमपाल कामीले ११ रन जोडे । नेपालको पुछार क्रमका ब्याट्सम्यानको प्रदर्शन यसपल्ट कमजोर देखियो । विनोद भण्डारी ३, करण केसी ४, बसन्त रेग्मीले १ रन बनाउँदा अविनाश बोहोरा र ललित नारायण राजवंशीले खाता खोल्नै सकेनन् । सन्दीप लामिछाने १ चौकासहित ९ रन जोडेर रनआउट भए ।

अन्तिम २ ओभरमा नेपालले १३ रन जोड्दा ५ विकेट खेर फालेको थियो । पारीको अन्तिम ओभरको अन्तिम तीन बलमा नेपालले तीन विकेट गुमाएको हो । 

बलिङमा कतारका इकबाल हुसेनले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । तमोर साइजादल र नुमन सरवारले पनि २–२ विकेट लिए ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया