टी-२० एसिया छनोट: कतारसँग पराजित भएसँगै नेपालकाे ग्लाेबल क्वालिफायरकाे बाटाे अझै कठिन

 साउन ७, २०७६ मंगलबार १३:१७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया छनोटको पहिलो खेलमै कतारसँग पराजित भएपछि दोस्रोपल्ट टी-२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपालका लागि ठूलो झट्का लागेको छ । तर, नेपाल प्रतियोगिताबाटै बाहिरिसकेको भने छैन ।

सिंंगापुरमा भएको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा प्रतियोगिताकै उच्च वरीयताको नेपालले अप्रत्याशित पराजय बेहाेरेकाे छ । कतार ४ विकेटले विजयी भएको हो ।

कतारले सोमबार भएको खेलमा आयोजक सिंगापुरसँग ३३ रनको पराजय बेहाेरेकाे थियो । पाँच टोली सम्मिलित प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा हुनेछ । जसको शीर्ष स्थानमा रहने टोलीले अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म यूएईमा हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ ।

प्रतियोगितामा कतारको २ खेलबाट २ अंक भएको छ । सिंंगापुर र मलेसियाले समान १  खेल खेलेर २ अंक जोडेका छन् । नेपाल र कुवेत अहिलेसम्म अंकविहीन छन् । शीर्ष स्थानमा रहेर ग्लोबल क्वालिफायरमा स्थान बनाउनका लागि नेपालले बाँकी तीनै खेलमा ठूलो अन्तरको जित हासिल गर्नुपर्छ ।

नेपालले बुधबार मलेसियासँग खेल्नेछ भने शनिबार सिंगापुर र आइतबार कुवेतविरुद्ध खेल्नेछ ।

कस्ताे छ छनाेट प्रक्रिया ?

अहिलाे भइरहेकाे एसिया छनाेटबाट दुई देश ग्लाेबल क्वालिफायरका लागि छनाेट हुने भए पनि यूएई ग्लाेबल क्वालिफायरकाे आयाेजक राष्ट्रका रुपमा छनाेट भइसकेकाे छ ।

यस प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोलीमात्र ग्लोबल क्वालिफायरमा छनौट हुने भएकोले पनि नेपाललाई सबै खेल जितेर आफूलाई अब्बल सावित गराउनुपर्ने स्थित रहेकाे छ ।

याे प्रतियाेगिताबाट सफल भएर अगाडि जान सके पनि विश्वकपमा पुग्न नेपालले यसभन्दा अझ कठिन चुनौतीकाे सामना गर्नुपर्ने हुन्छ । ग्लोबल क्वालिफायरमा विभिन्न क्षेत्रबाट छनाेट भएर आएका १४ राष्ट्रसँग प्रतिस्पर्धा गरेर शीर्ष चारमा पर्न सकेमात्र नेपालले विश्वकप खेल्ने सपना सार्थक हुनेछ ।

एसिया छनाेटकाे पहिलाे खेलमै कतारसँग हार बेहाेरेपछि नेपाललाई ग्लोबल क्वालिफायरसम्म पुग्न नै कठिन देखिएकाे छ भने ग्लोबल क्वालिफायर छिचाेलेर विश्वकपकै मैदानमा उत्रने सपना असम्भव नै त नहाेला तर साेचेजस्ताे र समर्थकहरुले अपेक्षा गरेजति सहज भने देखिँदैन । 

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया