भीसीटीएसविरुद्ध हेटौंडा बजार बन्द

कपडा व्यवसायीले गरे बन्दकै विराेध

 साउन ७, २०७६ मंगलबार १४:६:३८ | हरि हुमागाईं
unn.prixa.net

हेटौंडा - नेपाल सरकारले व्यापार व्यवसायलाई पूर्ण रुपमा करको दायरामा ल्याउन लाग्दा हेटौंडामा यसको विरोध गरिएको छ ।

मकवानपुर उद्योग वाणिज्यसंघको आयोजना मंगलबार बिहानैबाट हेटौंडा बजार बन्द गरिएको छ । सरकारले साउन १ गतेबाट लागू गरेको ‘भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्या्किङ सिस्टम’ भीसीटीएसको विरोधमा आज हेटौंडा बजार बन्द गरेको हो जसका कारण उपभोक्ताहरु मारमा परेका छन् ।

किनमेलका लागि मकवानपुरको गाउँ गाउँ र हेटौंडाका विभिन्न स्थानबाट आएका उपभोक्ताहरु रित्तोहात घर फर्कनुपरेको छ । यो प्रणाली लागू गर्दा कुनै पनि व्यापार व्यवसायमा करछलीको समस्या हुँदैन ।

सरकारको साउन १ गतेदेखिको यो निर्णयले उद्योग व्यवसायमा काम गर्ने मजदूरले प्यान नम्बर लिनै पर्ने, साना देखि ठूला व्यवसायीहरु यसको मारमा पर्ने भएकाले बजार बन्दसम्मको विरोधमा उत्रनुपरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो ।

कपडा तथा तयारी पोसाक व्यवसायी संघ मकवापनुरले भने बजार बन्दको पूर्ण रुपमा विरोध गरेको छ । अहिले सरकारले ल्याएको सिस्टमका बिषयमा छलफल गर्नका लागि कार्यदल बनिसकेको अवस्थामा तत्काल बजार बन्द गर्नु नाजायज भएको कपडा तथा तयारी पोसाक व्यवसायी संघ मकवानपुरका अध्यक्ष तेजराज अधिकारीले बताउनुभयो । 

बजार बन्द गर्नुभन्दा पहिलेनै आफूहरुले विरोध गरेको उहाँको भनाइ छ । सरकारले साउन १ गतेबाट ल्याएको सिस्टमका कारण एउटै बिलबाट व्यापारीले धेरैपटक सामान ओसार्न नपाउने, सबैले करको दायरामा आउनैपर्ने, साना व्यवसायीदेखि ठूला व्यवसायीहरुलाई यो नियमले झनै सजिलो बनाएको उहाँले बताउनुभयो । 

मकवानपुर उद्योग वाणिज्य संघले साउन ६ गते हेटौंडाका व्यवसायीहरुको भेला गरेर मंगलबार बजार बन्द गर्ने वातावरण तयार गरेको हो । मकवानपुर उद्योग वाणिज्य संघले सरकारले लागू गरेको (भीसीटीएस) ले साना व्यवसायीहरु मारमा परेको भन्दै सरकारलाई दबाब दिनबजार बन्द गर्नुपरेको बताएको छ ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया