परमाणु हतियार त्याग्न पाकिस्तान तयार छ : प्रधानमन्त्री खान

 साउन ७, २०७६ मंगलबार १५:४३:३ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूहरु परमाणु हतियार छाड्न तयार रहेको बताएका छन् । तर उनले भारतले छाडेमा मात्रै आफूहरुले परमाणु हतियार बन्द गर्ने बताएका छन् ।

अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री खानले फक्स न्यूजका पत्रकार ब्रेट बेयरसँगको अन्तर्वार्तामा खानले परमाणु हतियार त्याग्ने बताएका हुन् । 

‘यदि भारत परमाणु हतियार त्याग्न तयार रहेमा पाकिस्तानले पनि परमाणु हतियार त्याग्छ ?’ भन्ने पत्रकार बेयरको प्रश्नको जवाफ दिँदै खानले भने, ‘त्याग्छौँ, परमाणु युद्ध त्याग्नुकाे कुनै विकल्प छैन । पाकिस्तान र भारतबीच परमाणु युद्ध हुनु आफैले आफैलाई बर्बाद गर्नु हो । किनकी दुई देशबीच साढे २ हजार माइलको सीमा रहेको छ ।’

पाकिस्तानी प्रधानमन्त्री खानले दुई देशबीचको परमाणु युद्ध भारतीय उपमहाद्वीपका लागि नै खतरा भएको बताए । गएको फेब्रुअरीमा भएको पुलवामा आक्रमणपछि दुई देशबीचको सीमामा तनावपूर्ण वातावरण रहेको पनि खानले स्वीकारे ।

पाकिस्तानी प्रधानमन्त्री खानले भने, ‘पाकिस्तानमा एक भारतीय लडाकू विमान खसालियो । यिनै चिजलाई हेर्दै मैले राष्ट्रपति ट्रम्पलाई भारत र पाकिस्तानबीच मध्यस्थकर्ता बनेर महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेको थिएँ । अमेरिका विश्वकै सबैभन्दा शक्तिशाली देश हो । त्यसैले उसले मात्रै भारत–पाकिस्तानबीचको कश्मीर मुद्दामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्छ ।’

कश्मीर नै प्रमुख मुद्दा

इमरान खानले गएको ७० वर्षदेखि नै कश्मीर मुद्दाका कारण भारत र पाकिस्तान छिमेकी भएर पनि छिमेकीजस्तो नभएको बताए । उनले भारत वार्ताको टेबलमा आए अमेरिकाले पनि यसका सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

खानले भने, ‘पहिले वार्ताका लागि भारत आओस् । हामी यस विषयमा अमेरिकी भूमिकाका बारेमा सकारात्मक नै छौँ । अमेरिका र राष्ट्रपति ट्रम्पले निश्चित रुपमा यस विषयमा सकारात्मक भूमिका निभाउन सक्छन् ।’

इमरान खान प्रधानमन्त्री भएपछि पहिलो पटक अमेरिका भ्रमणमा गएका हुन् । सोमबार दुवै देशका राष्ट्राध्यक्षबीच ह्वाइट हाउसमा भेटघाट पनि भएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया