भारतीय राजदूतावासले बनाउने जिम्मा लिएका विद्यालय र स्वास्थ्य चाैकी बनेनन्

 साउन ७, २०७६ मंगलबार १६:४:५१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ  – भूकम्पले ध्वस्त भएका जिल्लाका ठूला १० विद्यालय र ५ स्वास्थ्य चौकी निर्माण सुरु हुन सकेको छैन ।

भारतीय राजदूतावासले निर्माणको जिम्मा लिए पनि निर्माण सम्पन्न गर्ने समय सकिँदा समेत निर्माण सुरु नभएको जिल्ला सदरमुकाममा आयोजित पुनर्निर्माणसम्बन्धी समीक्षा कार्यक्रममा जानकारी दिइएको हो ।

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि निर्माण सुरु नभएपछि समस्या आएको कर्मचारीहरुले बताएका छन् । पुनर्निर्माण सकिएर विद्यालय भवनमा विद्यार्थी पढ्नु पर्नेमा टहरामा पढ्न बाध्य छन् भने स्वास्थ्यचौकी नबन्दा समस्या आएको स्वाथ्यकर्मीको गुनासो छ ।

भारतीय राजदूतावासले सालबास मावि चैनपुर, रानीपौवा मावि सल्यानटार, त्रिपुरासुन्दरी मावि खरी, मिन्दुका मावि नलाङ, ठूलोचौर मावि मैदी, बराहकालिका मावि ढोला, सल्यानकोट मावि सल्यानकोट, वृचेत मावि दार्खा, महेन्द्रोदय मावि गजुरी र महाकाली मावि कुम्पुर एक वर्षभित्र निर्माण गर्नेगरी ०७४ को सुरुवातमै जिम्मा लिएको थियो ।

भूकम्पका कारण धादिङमा ४ हजार ७३८ कक्षाकोठा क्षतिग्रस्त भएको थियो । २०७६ वैशाखसम्म २ हजार १६२ कक्षाकोठा निर्माण सम्पन्न भएको छ भने १ हजार ५४२ कक्षाकोठा निमाणधिन छ । अझै ५ सय ६० कक्षाकोठा निर्माण हुन बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाले समीक्षाको अवसरमा जानकारी दिइएको हो ।

यसैगरी जिल्लाका ५ स्वास्थ्यचौकी भारतीय राजदूतावासले निर्माणको जिम्मा लिएर अझैसम्म पनि निर्माण सुरु गरेको छैन । सुनौलाबजार, कल्लेरी, ज्यामरुङ, मारपाक र ढोला स्वास्थ्यचौकी निर्माण नगरेको जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका आयोजना प्रमुख कोषनाथ अधिकारीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया