सरकारी गाडीको दुरुपयोग हुन नदिन जीपीएस ट्र्याकिङ

 असार २५, २०७५ सोमबार ११:५७:० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – तुलसीपुर उप–महानगरपालिकाका गाडीहरुमा जीपीएस ट्रयाकिङ एप्लिकेशन सिस्टम जडान भएको छ । पछिल्लो समयमा सरकारी गाडीको दुरुपयोग बढिरहेका बेला तुलसीपुर उपमहानगरपालिकाले पहिलो पटक नगरको स्वामित्वमा रहेका १५ वटा गाडीमा यो सिस्टम जडान गरेको हो ।

जीपीएस ट्र्याकिङ एप्लिकेशनको सहयोगले यी गाडीहरुको  गति, अवस्था र कार्यको बारेमा प्रत्यक्ष हेर्न मिल्ने भएकाले सरकारी गाडीहरुको दुरुपयोग नहुने उप – महानगरपालिकाले जनाएको छ ।

यी गाडीहरुमा जीपीएस ट्रयाकिङ एप्लिकेशन सिस्टम जडान गर्ने कम्पनी उपसर्ग टेक्नोलोजीका निर्देशक युवराज आचार्यका अनुसार कुन गाडी कहाँ र कस्तो अवस्थामा रहेको छ भन्नेकुरा अनलाइनबाट हेर्न सकिन्छ।

उपमहानगरपालिकाका अनुसार नगरप्रमुखदेखि कार्यालय सहयोगीसम्मले प्रयोग गर्ने सबै गाडीमा जीपीएस ट्रयाकिङ एप्लिकेशन सिस्टम जडान गरिएको छ । कार्यालयमा रहेका टेक्टरदेखि एक्साभेटरसम्म गरी १५ वटा गाडीमा जीपीएस ट्र्याकिङ एप्लिकेसन सिस्टम जडान गरिएको उपमहानगरका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो ।

आइटी विभाग र स्टोरले यसको नियमन गर्नेछ । जिल्लामा यसअघि कुनै पनि कार्यालयका सवारी साधनहरुमा यो प्रविधिको प्रयोग गरिएको थिएन । यसको प्रयोगले सरकारी सवारी साधनहरुको दुरुपयोग घट्ने विश्वास उपमहानगरपालिकाको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया