आउने हप्ताबाटै ‘भद्रगोल’ सुरु हुन्छ : दिपक आचार्य ‘काकु’

 साउन ८, २०७६ बुधबार १४:१२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार प्रसारण हुँदै आएको हास्य टेलिश्रृङ्खला भद्रगोल हाल स्थगित छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै  एजेन्सीसँग नयाँ सम्झौता नभएका कारण टेलिश्रृङ्खला नै रोक्नुपरेको बताइएको छ । पछिल्लो समय युवापुस्तामाझ हास्य टेलिश्रृङ्खला भद्रगोल निकै लोकप्रिय बनेको छ ।

भद्रगोलका हरेक एपिसोड युट्यूब ट्रेण्डिङमा पर्ने गरेका छन् । यसैबीच भद्रगोल रोकिनुको कारणबारे ‘भद्रगोल’ का श्रृङ्खला निर्देशक एवम् कलाकार दिपक आचार्य 'काकु'सँग गफगाफ गरेका छौँ । 

भद्रगोल रोकिनुको मुख्य कारण के हो ?

भद्रगोल रोकिनुको मुख्य कारण भनेको नै एजेन्सीसँगको सम्झौता नवीकरण समयमा हुन नसक्नु हो । समझौताको सबै प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ । केही पुराना सम्झौताहरुलाई परिवर्तन गर्दै नँया कुराहरु थपघट गर्नुपर्ने भएका कारण पनि समय लागेको हो ।

समयमा सम्झौता नवीकरण हुन नसक्नुको कारण ?

त्यसमा केही प्राविधिक कारणहरु पनि छन् । भद्रगोल टिम र एजेन्सीबीचमा हुने समझौता नवीकरणले मात्र हुदैन । एजेन्सी र टेलिभिजनबीचमा पनि पुनः सम्झौता नवीकरण गर्नु पर्ने भएका कारण समय लागेको हो । एजेन्सी र टेलिभिजनले सम्झौता नगरी हामीले गर्न नमिल्ने भएर ढिला हुन गएको हो, तर अब सबै कुरा मिल्दै आएको छ । 

भद्रगोल टिम र एजेन्सीको आन्तरिक कलहका कारण रोकिएको भन्ने चर्चा पनि छ नि ?

हो, योभन्दा पहिला पनि यस्तो समस्या आएका कारण यस्तो चर्चा हुनु समान्य हो । तर, यो पटक कुनै कलहका कारण भद्रगोल रोकिएको हैन । र अब चाडै पुनः सुरु हुँदै छ ।

त्यसो भए कहिलेबाट सुरु होला त भद्रगोल ?

सबै कुरा मिलेपछि त बाँकी के नै रहन्छ र ? सम्भवतः यसै हप्ताबाट सुरु हुन्छ । यो हप्ता सुरु हुन सकेन भने अर्को हप्ताबाट भने निश्चित सुरु हुन्छ ।

अब भद्रगोल निर्माण हुँदा पुरानै शैलीमा हुन्छ वा केही परिमार्जन हुन्छ ?

यो कुरालाई चाहिँ गोप्य नै राख्दा राम्रो हुन्छ । किनभने हामीले अहिले नै केही कुरा परिमार्जन हुँदै छ भन्यौँ भने दर्शकलाई पनि के परिमार्जन गर्न लागेछन् भन्ने कौतुहलता हुन सक्छ । त्यही भएर यो कुरा चाहिँ गोप्य नै राखाैँ होला ।

-उज्यालाे र गफगाफडट कमकाे सहकार्यमा

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया