वालिङको घ्वाङखोला धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा परिणत हुँदै

 साउन ८, २०७६ बुधबार १५:४७:३७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - वालिङ नगरपालिकाको वडा नम्बर ८ र १० मा पर्ने घ्वाङखोला धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिणत हुँदै गएको छ ।

प्रसिद्ध ग्रहौंकालिका मन्दिरको काखमा रहेको घ्वाङखोला क्षेत्रमा एकीकृत रुपमा विभिन्न कामहरु भइरहेका छन् । झण्डै १ सय ३० रोपनी क्षेत्रफलमा फैलिएको घ्वाङखोला सामुदायिक वनको अधिकांश क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै आएको हो । 

वालिङ बजारबाट निक्कै नजिक पर्ने त्यस क्षेत्रमा दिनहुँ जसो वनभोज खान जानेको घुइँचो नै लाग्ने गर्दछ । मनोरम हरियाली जंगल, आकर्षक पुल, माछापोखरी, स्वीमिङ पुल, विभिन्न खाले पिङहरु लगायतका संरचनाका कारण पछिल्लो समय घ्वाङघोला क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ ।

ग्रहौंसुर मन्दिर पुग्नको लागि सबैभन्दा सहज सडकसँग जोडिएको घ्वाङखोलाको विकासका लागि वालिङ नगरपालिकाले प्राथमिकतामा राखेको नगरप्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो ।

उहाँले सो क्षेत्रमा तीन वटा फरक शैलीका पार्क तथा कृत्रिम तालहरु निर्माण गर्ने योजना रहेको बताउनु भयो । प्रमुख खाँडले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न निर्माण हुने चिल्ड्रेन पार्क स्थानीय र प्रदेश सरकारको अगुवाइमा बन्नेछ भने नलेज (ज्ञान) पार्क इसिमोडले निर्मार्ण गर्ने जानकारी दिनुभयो । घ्वाङखोला क्षेत्रमा नै रहेको व्यक्तिगत जग्गालाई समेत लिएर पर्यावरणीय रिसाेर्ट बनाउने योजना रहेको नगर प्रमुख खाँडको भनाइ छ ।

नगरपालिकाको ८ र १० नम्बर वडा कार्यालयले समेत नगर कै उत्कृष्ट धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउन योजना बनाइरहेको जनाएका छन् । वडा नम्बर १० का अध्यक्ष अनन्तराज गैह्रेले भन्नुभयो, घ्वाङखोलालाई नगरकै नमुना क्षेत्रको रुपमा विकास गर्न वडाले समन्वय गरिरहेको छ । 

त्यस क्षेत्रमा निर्माण गरिएको शिवपार्वतीको मन्दिर, विभिन्न भगवानका मूर्तिहरु, विशाल हनुमानको मूर्ति मुख्य आकर्षकका केन्द्र रहेका छन् ।  वडा नम्बर ८ ले समेत घ्वाङखोला क्षेत्रको एकीकृत विकासको लागि अभियान सुरु गरेको वडाध्यक्ष कमल प्रसाद सुवेदीले बताउनु भयो ।

डिभिजन वन कार्यालय स्याङ्जाले पनि समुदायको सहकार्यमा त्यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउनका लागि काम गरिरहेको कार्यालयका सहायक वन अधिकृत बसन्तकेशव अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच आर्थिक वर्ष २०७५-०७६ मा डिभिजन वन कार्यालय तथा पर्यटन विभाग मार्फत प्राप्त भएको १५ लाख रुपैयाँ र गण्डकी प्रदेशबाट प्राप्त भएको ३ लाख रुपैयाँबाट विभिन्न संरचना तयार गरिएको घ्वाङखोलालाई धार्मिक तथा पर्यटकीय क्षेत्रका सदस्य दीपक सुवेदीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया