नेकपाकाे स्कुल विभाग लिन हानथाप, विवाद साम्य पार्न अध्यक्षले नै राख्ने तयारी

 साउन ८, २०७६ बुधबार २१:११:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्कुल विभाग अध्यक्षद्वयले नै राख्ने तयारी थालेका छन् । पार्टीको स्कुल विभागमा दुई नेताबीच हानथाप भएपछि अध्यक्षद्य केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस्तो तयारी गरेका हुन् । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र सचिवालय सदस्य ईश्वर पोखरेलले स्कुल विभाग आफूले पाउनुपर्ने दाबी नछाडेपछि अध्यक्षद्वय आफैँले स्कुल विभाग राखेर एकताको बाँकी काम सक्ने तयारी अघि बढाएका हुन् ।  

नेपाल कम्युनिष्ट पार्टीमा रहने ३२ विभागमध्ये स्कुल विभाग कस्ले लिने भन्ने विषयमा नेताहरुबीच हानथाप छ । स्कुल विभागको विवाद मिलाउने विषयमा दुई अध्यक्षबीच कुरा भइरहेको र विभिन्न विकल्पमा छलफल भएको नेकपाका एक नेताले बताए । 

स्कुल विभागको नेतृत्वमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र ईश्वर पोखरेलमध्ये एक जनालाई सहमति गराउने, सहमति हुन नसके अर्कोलाई तयार पार्ने विषयमा अध्यक्षद्वयले छलफल गरिरहेको नेकपा स्रोतले जनाएको छ । 

स्कुल विभागमा सहमति हुन नसक्दा असारमै सक्ने भनेको एकताको कामलाई पूर्णता दिन ढिलाइ भइरहेको छ । एकताको कामलाई लम्ब्याएर राख्नु भन्दा विवाद टुंग्याउन अध्यक्षद्वयले मध्यमार्गी बाटो खोजिरहेका हुन् । 

दुवै नेताले अडान नछाडेपछि पूर्व प्रधानमन्त्री तथा तत्कालीन एमालेका अध्यक्षसमेत रहनुभएका पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई विभागको जिम्मेवारी दिएर विवाद टुंग्याउने कि भन्ने बारेमा पनि अध्यक्षद्वयबीच कुरा भइरहेको नेकपा स्रोतको दाबी छ । यसअघि अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा खनालको नाम आएको थियो । खनालले पनि आफू अध्ययन तथा अनुसन्धान  प्रतिष्ठानकै नेतृत्वमा रहने भन्दै अन्य विभागमा आफ्नो चासो नरहेको बताउनुभयो ।  

पछिल्लो समय स्कुल विभागमा सहमति खोज्न विभिन्न विकल्पमा छलफल भइरहेका बेला वैचारिक अभियान चलाउँदै आएका अर्का नेता घनश्याम भुसालले समेत दाबी गरेपछि सहमतिमा थप सकस उत्पन्न भएको छ ।  

स्कुल विभागमा नेताहरुबीच तानातान भएपछि यो विभाग आफैले राखेर एकताका बाँकी काम सक्ने भन्ने निष्कर्षमा अध्यक्षद्वय पुगिसकेको नेकपाका एक जना स्थायी समिति सदस्य बताउछन् । ‘अझै पनि नेताहरुबीच सहमतिको प्रयास भइरहेको र सहमति बन्न नसके अध्यक्षद्वय आफैले यो विभाग राखेर एकताको बाँकी काम सक्ने गरी छलफल गरिरहेका छन्’, ती नेताले भने ।  

पार्टीको ३२ विभागमध्ये तत्कालीन एमालेको भागमा १८ र माओवादी केन्द्रको भागमा १४ वटा विभाग परेका छन् । अधिकांश विभागमा लगभग सहमति भए पनि शक्तिशालीमध्ये एक मानिएको स्कुल विभागमा सहमति जुट्न नसक्दा असारमै सक्ने भनेको पार्टी एकताको काम लम्बिँदै गएको छ । 

पार्टीमा संगठन विभाग, स्कुल विभागलगायतका विभागलाई शक्तिशाली रुपमा लिने गरिएको छ । संगठन विभागको जिम्मेवारी सचिवालय सदस्य वामदेव गौतमले पाउने लगभग पक्का भइसकेको छ ।  

स्कुल विभागको विवाद मिलाउन अहिले यसको जिम्मेवारी खनाललाई दिने र श्रेष्ठ र पोखरेललाई अन्य विभागको जिम्मेवारी दिने वा स्कुल विभाग अध्यक्षद्वयले नै राख्ने भन्ने बारेमा छलफल भइरहेको हो ।  

स्कुल विभागको जिम्मेवारी कुनै पनि हालतमा ईश्वर पोखरेललाई दिन नहुने पूर्व माओवादी पक्षको निष्कर्ष छ । गएको सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको तत्कालीन माओवादी नेताहरुको बैठकले पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिन नहुने निर्णय नै गरेको थियो । पोखरेलले पार्टीको वैचारिक नीति पूर्व एमालेले अंगिकार गरेको ‘जनताको बहुदलीय जनवाद’ नै हुने भन्दै बहस अगाडि बढाएपछि पूर्व माओवादी पक्ष रिसाएको छ ।

पूर्व माओवादीले भने पार्टीको वैचारिक नीति ‘जनताको जनवाद’ हुनु पर्ने र एकताका बेला त्यसैमा सहमति भइसकेकाले अन्यथा तोडमोड गर्न नहुने भन्दै आएको छ । राजनीतिक प्रतिवेदनमा पनि पार्टीको वैचारिक नीति ‘जनताको जनवाद’ नै उल्लेख छ । तर अहिले स्कुल विभागको जिम्मा पोखरेललाई दिए उनले भन्दै आएको ‘जनताको बहुदलीय जनवाद’ नै तल्लो तहसम्म वकालत गर्ने भन्दै उनलाई स्कुल विभागको जिम्मेवारी दिनबाट रोक्न पूर्व माओवादीले खोजेको हो । 

के गर्छ स्कुल विभागले ?

पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिअनुरुप आफ्नो तहमा नियमित वा आवधिक पार्टीका गतिविधि सञ्चालन गर्नु नै स्कुल विभागको मुख्य काम हो । पार्टी सदस्यहरुको सैद्धान्तिक वैचारिक स्तर उठाउन आवश्यक योजना निर्माण गर्ने र त्यही अनुरुप प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने मुख्य जिम्मेवारी यही विभागको ।  

पार्टीको नियमावली २०७५ मा स्कुल विभागसहित ३२ वटै विभागको जिम्मेवारीका बारेमा उल्लेख छ । नियमावलीमा स्कुल विभागको जिम्मेवारी विभिन्न आठ बुँदामा स्पष्ट उल्लेख गरेको छ ।   

यो विभागले पार्टी स्कुलका निम्ति आवश्यक प्रशिक्षक तथा विशेषज्ञहरू तयार पार्ने छ । पार्टीको विचार, सिद्धान्तलाई तल्लो तहसम्म प्रसार गर्नु र प्रशिक्षणमार्फत प्रशिक्षक तथा विशेषज्ञहरु तयार पार्नु यो विभागको मुख्य काम हो । 

यस्तै पार्टी स्कुलका पाठ्यक्रमहरु तयार गर्ने, त्यहीअनुसार पाठ्यसामग्री तयार पार्ने र सम्बन्धित पार्टी कमिटीको स्वीकृतिमा प्रकाशन गर्ने जिम्मेवारी यही विभागको हो ।  

यसका साथै सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रमको मूल्याङ्कन गर्ने, प्रशिक्षार्थीको परीक्षा लिने तथा प्रमाणपत्र दिने र त्यसको अभिलेख राख्ने काम पनि विभागले नै गर्नेछ । 

त्यस्तै स्वदेश तथा विदेशका पार्टी स्कुलहरुसँग अनुभव आदान प्रदान गर्ने काम पनि यही विभागले गर्ने छ । पार्टीका पुराना सदस्य तथा नयाँ प्रवेश गरेकाहरुलाई पनि विशेष प्रशिक्षणको व्यवस्था स्कुल विभागकै जिम्मेवारीमा पर्छ ।

पार्टीको तल्लो तहसम्म पार्टीका विचार, सिद्धान्त प्रवाह गर्ने भएकाले यो विभागमा पूर्व माओवादी र पूर्व एमाले दुवैले दाबी गरेका हुन् । पूर्व एमालेले ‘जनताको बहुदलीय जनवाद’ र पूर्व माओवादीले ‘एक्काइसौँ शताब्दीको जनवाद’ लाई पार्टीको वैचारिक सिद्धान्त भन्दै आएका थिए । 

किन हुन्छ स्कुल विभागमा हानथाप ?

तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनपछि पार्टीको स्कुल विभाग अध्यक्ष ओलीले नै राख्नु भएको थियो । विभागको उपप्रमुखमा भने शंकर पोखरेललाई जिम्मेवारी दिइएको थियो । अहिले ओली निकट मानिएका ईश्वर पोखरेलले नै स्कुल विभागको दावी गर्दै आउनुभएको छ । 

उता पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले नेकपाको अन्तरिम राजनीतिक प्रतिवेदन लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैले श्रेष्ठलाई नै स्कुल विभागको नेतृत्व दिनुपर्नेमा सचिवालयभित्र पनि छलफल चलेको छ । 

वैचारिक बहसका लागि महत्वपूर्ण मानिने स्कुल विभागको जिम्मा कसले पाउँछ त्यो हेर्न भने केही दिन पर्खनै पर्छ । तर एउटा विभागमा यस्तो रस्साकस्सी देखिनुले पार्टीभित्र वैचारिक लाइन अझै पनि अस्पष्ट रहेको भने देखाएको छ ।  

बिहीबार नेकपाको सचिवालय बैठक बस्दै छ । बैठकमा नेताहरुले आफ्ना धारणा राख्ने छन् । साथै एकताको बाँकी काममध्ये विभागको जिम्मेवारी, पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजनलगायतका निर्णय हुने विश्वास लिइएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया