पूर्व मिस नेपाल श्रृङ्खला युरोपको सर्वोच्च शिखरमा

 साउन १०, २०७६ शुक्रबार ९:२८:३७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सर्वोच्च शिखर मोन्ट ब्ल्यांकको सफल आरोहण आरोहण गरेकी छिन् । खतिवडाले त्यहाँको हिमालमा नेपालको झण्डा समेत फहराएकी छिन् ।

नेपाल र फ्रान्सबीचको कुटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा फ्रान्सेली दूतावासले खतिवडालाई ‘गुडविल एम्बासडर’ नियुक्त गरेर हिमाल आरोहणको ब्यवस्था मिलाएको हो ।

सेतो हिमालको नामले परिचित यो हिमालको उचाइ ४ हजार ८ सय ८ मिटर रहेको छ । इटाली र फ्रान्सको बीचमा अवस्थित यो हिमाल हाइकिङ, क्लाइम्बिङ, ट्रेल रनिङ, स्किङ् र स्नो बोर्डिङका लागि लोकप्रिय मानिन्छ ।

नेपाललाई विश्वसामु चिनाउन र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पनि हिमाल आरोहण गरेको श्रृङ्खलाकी आमा मुनु सिग्देलले बताउनुभयो ।

युरोप भ्रमणको डेढ महिनाको कार्यतालिका अनुसार श्रृङ्खला फ्रान्समा हिमाल चढेर फर्किएपछि अमेरिका जाने र युरोपका विभिन्न देशको भ्रमण गर्ने कार्यक्रम छ । श्रृङ्खलाले सफलतापूर्वक हिमाल चढेर नेपाल र फ्रान्सको झण्डा फहराउन सफल भएकोमा फ्रान्समा रहेको नेपाली दूतावासले बधाइ दिएको छ ।

हिमालको सफल आरोहणपछि श्रृङ्खलाले साइकल रेस कार्यक्रममा सहभागी हुने तयारी छ । त्यहाँ साइकलिस्ट र आयोजकसँग अन्तरक्रियासमेत गर्ने कार्यक्रम रहेको उहाँकी आमा मुनु सिग्देलले बताउनुभयो ।

धेरै नेपाली पथ प्रदर्शक र प्याराग्लाइडरहरुले फ्रान्समा तालिम लिइरहेको र फ्रान्सका विभिन्न संघ संस्थाहरु पनि नेपालमा सक्रिय रहेकाले दुई देशबीच मजबुत सम्बन्धका लागि कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया