अनि बाउछोरा अँगालो हालेर रोए...

 साउन १०, २०७६ शुक्रबार १६:५१:२९ | अर्जुन श्रेष्ठ
unn.prixa.net

‘हजुरबुवा तपाईँको घर कहाँ हो ?’

‘धादिङको झार्लाङ तार्चीटोल ।’

‘तपाईँको नाम के हो ?’

‘ठूङलामा तामाङ ।’

‘अनि बाबु को हो र, पहिले त देखेको थिइनँ किन आउनुभएको होला ?’

‘मेरो घर पनि धादिङको झार्लाङ तार्चीटोल हो । म चाहिँ ठूङलामा तामाङको कान्छो छोरो ।’ 

‘त्यसपछि बुवाले गहभरि आँसु बनाएर गर्ल्याम्मै अँगालो हाल्नुभयो । धेरैबेर रोयौँ, त्यसपछि एकछिन पनि नबसी घर फर्कीहाल्यौं’, सुबम तामाङले आफ्नो बुवासँग २२ वर्षपछि भेट हुँदाको क्षण बयान गर्नुभयो ।

२२ वर्षअघि आफन्तसँग सामान्य झगडा भएर निस्केका ठूङलामा तामाङ बाग्लुङ भोजेटी बजार पुग्नुभएको थियो । साहुको घरमा काम गरेर दुई दशकभन्दा लामो समय बिताएका तामाङ अहिले आफ्नै घरमा हुनुहुन्छ ।

‘छोराछोरी र श्रीमतीको असाध्यै माया लाग्थ्यो’, तामाङले त्यो क्षण सम्झनुभयो, ‘आफन्तको व्यवहारले मरेको मनले घर फर्कन दिएन । विदेश जान पासपोर्ट पेश गरेको । तर म प्लेन चढ्ने पैसा नभएर बाग्लुङ पुगेँ ।’

पैसा कमाएर परिवारलाई खुशीले पाल्ने रहर भए पनि जिम्मेवारी पूरा गर्न नसकेकोमा उहाँलाई दुःख लाग्छ । ‘स्वदेशमै परदेशी भएर बाग्लुङ बस्दा ओठ हाँसे पनि मन कहिल्यै रमाएन’, आँसु पुछ्दै उहाँले बताउनुभयो ।

‘परिवारको याद भुलाउन रक्सी पिउने बानी बस्यो’,  उहाँले थप्नुभयोे, ‘परिवारको याद आएपछि रक्सी खान्थेँ । २२ वर्ष बस्दा पनि पैसा चाहिँ खासै जोगाउन सकिनँ । तर आफूले घर छाड्दा पेटमै रहेकी छोरी र अरु स–साना छोराछोरी चाहिँ श्रीमतीले जोगाएकी रहिछिन् ।’

एक दुई वर्ष गर्दागर्दै वर्षौं बित्यो । घर फर्कने रहर भए पनि उहाँले आँट गर्न सक्नुभएन । ‘सँगै जिउने र सँगै मर्ने कसम खाएर विवाह गरेको श्रीमती अनि छोराछोरीलाई छाडेर पर बसेँ । ६३ वर्ष भैसकेँ । अब कति बाँच्छु होला र ? मर्ने बेला भए पनि परिवारसँगै हुन पाएँ खुशी लागेको छ, कान्छो छोरा अनि परिवार सबैलाई धन्यवाद’, उहाँ भावुक हुनुभयो ।

सुबमले बुवा भेटे, परिवारमा खुशी छायो

२२ वर्षदेखि हराएको बुबा खोज्न कान्छा छोरा सुबम तामाङ बाग्लुङ पुग्नुभयो । ‘सुरुमा त मलाई चिन्न नसकेर बुबा रुनुभयो । ‘२३ वर्षको म, जिन्दगीमा पहिलो पटक बुवा भन्न पाएकोमा खुशीले रोएँ’, सुबमले भन्नुभयो ।

बाग्लुङमा उहाँको बुबासँगै काम गर्ने मान्छेले जानकारी गराएका थिए । तामाङ भन्नुहुन्छ, ‘फोनमार्फत बुवा बस्नुभएको ठेगाना पत्ता लाग्यो । खबर नै नगरी बाग्लुङमै गएँ । बुवालाई भेटेँ, संसार जितेजस्तै लाग्यो । निकैबेर अंगालो हालेर रोयौँ । जेठको चर्को घाममा सायद पसिना भन्दा धेरै हाम्रो आँसु बग्यो होला ।’

एक महिनाअघि बाग्लुङमा बाबु छोराको भेट भयो । त्यसपछि उहाँहरु घर फर्कनुभयो ।

छोरालाई भेटेर खुशी हुँदै घर पुगेका ठूङलामा तामाङ सुरुमा श्रीमतीसँग भने खुलेर बोल्न सक्नुभएन । आँखा जुधे पनि एकअर्कालाई बोलाउन सक्नु भएन । 

श्रीमान नहुँदा छोराछोरी हुर्काउन, पढाउन धेरै दुःख झेल्नु परेको नागित तामाङले बताउनुभयो । उहाँले थप्नुभयो, ‘केही दिन त दुःख पर्दा साथ नदिने, छाडेर जानेलाई के बोलाउनु भनेर बोलाइनँ । माया प्रेमलाई केले जित्ने रहेछ र ? २/४ दिनमै हामीले सुखदुःख साट्न थाल्यौं । मलाई पनि वर्षौंदेखि बोक्दै आएको गह्रौं भारी हल्का भयो, अनि संसार उज्यालो । अब घर छाडेर अन्त जान दिन्नँ ।’ 

ठूङलामा घर छाडेर जाँदा कान्छी छोरी सुनिता आमाको गर्भमै हुनुहुन्थ्यो । अहिले सुनिताको विवाह भएर ६ महिनाको छोरा भैसक्यो । उहाँले बुवालाई देख्न र भेट्न पाउने आश नै मारिसक्नुभएको थियो । ‘बुवा घर फर्किएकोे खबर सुनेर खुशीले पागल नै बनेँ । माइतबाट बुवालाई घर बोलाएर खसी काटेर भोज नै गरेँ । अर्काे जुनी पाएजस्तै भयो ।’ माइली छोरी धर्मा पनि खुशीले गदगद ।

हराएको बुबा खोज्न पटक–पटक प्रयास गरेको जेठा छोरा बुद्धिमान तामाङ बताउनुहुन्छ । ‘कतै नभेटेपछि मन मारेका थियौं । अहिले साथमा बुबा हुँदा मन फुरुंग भएको छ’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: भदौ ३०, २०७६

अर्जुन श्रेष्ठ

रेडियो धादिङमा काम गर्ने अर्जुन श्रेष्ठ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया