सडक र सार्वजनिक स्थानमा चौपाया छोडे वडा कार्यालयले सेवा सुविधा रोक्ने

 साउन १०, २०७६ शुक्रबार २०:३०:२३ | विमल बिष्ट
unn.prixa.net

डोटी – दिपायल सिलगढी नगरपालिका–४ को वडा कार्यालयले सडकलगायत सार्वजनिक स्थानमा घरपालुवा चौपाया छोड्नकोे सेवा सुविधा रोक्ने भएको छ । 

स्थानीयले जथाभावीरुपमा घरपालुवा चौपाया छोडेका कारण समस्या भएको गुनासो  बढेपछि यस्तो निर्णय लिइएको वडाअध्यक्ष वीरेन्द्र शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दूध दिने बेलामा घरमा राख्ने र थारो भएपछि सडकमा गाई, भैँसी छोड्नेको सेवा सुविधा सबै रोकिन्छ । 

सडकमा चौपाया छोड्ने गरेका कारण यातायात सञ्चालनमा समस्या र स्थानीयले लगाएका खेतीबाली नष्ट हुने गरेको छ । यतिमात्र नभइ वडा कार्यालयले बजारमा छाडा छोडिएका चौपायाले कसैको खेतीबाली खाएर नष्ट गरेको उजुरी गरेमा तत्काल पशु धनीबाट नै क्षतिपूर्ति भराउने तथा निजको सेवा सुविधा पनि रोकिने निर्णय गरिएको वडाअध्यक्ष शाहले जानकारी दिनुभयो । 

दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुरलगायतका बजारमा कुकुर, गाई, गोरु, भैँसी तथा अन्य पशुपन्छी सडकमा छोड्ने, दिशा पिसाब गराउने गुनासो आएपछि उचित व्यवस्थापन गर्न वडा कार्यालयले आग्रह गरेको छ । 

घरको छत तथा कम्पाउण्डको पानीसमेत सडक तथा नालीमा नखसाल्न र व्यवस्थापन गर्न वडा कार्यालयले आग्रह गरेको छ । वडा कार्यालयले गरेको निर्णय स्वागतयोग्य भएको दिपायल पिपल्लाका स्थानीय तथा व्यापारी सर्वजित देउवाले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया