बाढी र पहिरोबाट २२ हजार घर परिवार विस्थापित

 साउन ११, २०७६ शनिबार ६:४०:१४ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डाै - असार अन्तिम हप्ता सिंगिया खोलामा आएको बाढीले विराटनगरको परोपकारघाट आसपासमा रहेको सुकुम्बासी बस्ती पुरै डुबायो ।

झण्डै ५० घरधुरी अस्थायी रुपमा विस्थापित भए । खोलामा पानी घटेपछि उनीहरु पुरानै ठाउँमा फर्किएका छन् । तर जोखिम भने कायमै छ ।

त्यस्तै भोजपुरमा पहिरोले १६ घर पूर्ण र ५८ घर आंशिक क्षति गर्दा झण्डै सय परिवार विस्थापित भएका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताउनुभएको छ । विस्थापितमध्ये ७ परिवार भने पुरानै ठाउँमा फर्केका छन् ।

६४ जिल्लाका २२ हजार घरधुरी विस्थापित

यसरी यो बर्ष अहिलेसम्म बाढी, पहिरो र डुबानबाट ६४ जिल्लाका झण्डै २२ हजार घरधुरी विस्थापित भएका छन् । विस्थापित परिवारको संख्या भने १ लाख भन्दा बढी नै रहेको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

रौतहट, सुनसरी, मोरङ, सप्तरी, बारा, पर्सालगायतका जिल्लामा बाढीले विस्थापित हुने धेरैजसो अस्थायी विस्थापित हुन् । कोही नजिकै अर्को ठाउँमा बसेका छन् । कसैको सुरक्षित आफ्नै जमिन पनि छ । तर पहिरोकै कारण विस्थापित हुनेहरु भने फेरि पुरानै ठाउँमा फर्किन जोखिम मोल्नुपर्छ ।

गुल्मीमा सबैभन्दा बढी जनधनको क्षति 

यो बर्ष पहिरोले सबैभन्दा बढी गुल्मीमा जनधनको क्षति गरेको छ । सत्यवती गाउँपालिका ३ र ४ मा पहिरोका कारण १३ जनाले ज्यान गुमाएका छन् । योसहित यसवर्ष मनसुनपछिको विपद्का कारण ज्यान गुमाउनेको संख्या १ सय १३ पुगेको छ ।

बाढीबाट ६० र पहिरोमा परि ४५ जनाले ज्यान गुमाएका हुन् । अन्य कारणले ८ जनाको ज्यान गएको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको पछिल्लो तथ्याङ्क छ । गुल्मीको लिम्घा र ठूलो लुम्पेकका झण्डै ६ सय पहिरो प्रभावित गाउँ छोड्न बाध्य छन् । उनिहरुलाई ७ वटा शिविरमा व्यवस्थापन गरिएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो । 

भूकम्प, बाढी र पहिरोले विस्थापित थपिँदै

रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, दोलखा लगाएतका पहिरोले बढि क्षति गरेका कतिपय जिल्लामा भूकम्पबाट समेत नागरिक विस्थापित भएका छन् । भूकम्प, बाढी र पहिरोपछि बर्षेनी विस्थापित हुनेको संख्या बढ्दो छ । भूकम्पपछि विस्थापित सबै नागरिकको अझै व्यवस्थित बसोबास बनिसकेको छैन ।

त्यसमाथि थपिदै गएका विस्थापितको व्यवस्थापन सरकारका लागि चुनौती नै बनेको छ । अहिलेको मनसुनमा मात्रै बाढी र पहिरोकै कारण पूर्ण र अस्थायी गरी झण्डै २२ हजार परिवार विस्थापित भएका केन्द्रका प्रमुख खनालले बताउनुभयो ।

खनालका अनुसार अहिले तराईसहित देशभरिकै तथ्याङ्क जुटाउने काम भैरहेको छ । क्षतिको पूर्ण विवरण र विस्थापितको संख्या र किसिम पनि आइसकेपछि सरकारले के गर्ने भनेर आवश्यक निर्णय गर्ने उहाँको भनाइ छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया