आकाशे पानी संकलन र जमिन रिचार्ज गर्न विज्ञको सुझाव

 साउन ११, २०७६ शनिबार १२:३:५३ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डौ – वर्षायाममा ललितपुरको पुल्चोक, जावालाखेल क्षेत्रमा पर्ने आकाशे पानी पलेस्वाँ पोखरीमा जम्मा हुन्थ्यो । अहिले त्यो पोखरी मासियो । वर्षा हुनासाथ पानी सिधै कुपण्डोलमा बग्दा त्यहाँ जलमग्न हुने गरेको छ । 

त्यस्तै पाटन अस्पताल क्षेत्रबाट बग्ने पानी कुमारीपाटीमा रहेको तः पोखरीमा जम्मा हुन्थ्यो । तः पोखरी अहिले खुम्चिएको मात्र हैन, त्यहाँसम्म पानी बगेर पुग्ने बाटो नै बन्द छ । त्यसैले पानी सडकमा पुग्छ ।

आकाशे पानी विज्ञ एवम् स्मार्ट वास सोलुसनका अध्यक्ष इञ्जिनियर रामदीप साह भन्नुुहुन्छ, ‘यस्तो समस्या काठमाण्डौ उपत्यकाभरि नै बढेको छ । वर्षाको पानी जम्मा गर्ने पोखरी मासिएपछि सडकमा पानी बग्ने मात्र हैन, नदीहरुमा बाढीको जोखिम समेत बढेको छ ।’

यस्तै काठमाण्डौ उपत्यकामा राजकुलो थिए । राजकुलोमा पठाइएको पानी जमिनमा सोसिएर विभिन्न ढुङ्गेधाराहरुमा पानी आउँथ्यो । विभिन्न ठाउँमा पोखरी खनेर पानी जम्मा गरिन्थ्यो र त्यहाँबाट जमिनमा सोसिएको पानी ढुङ्गेधाराहरुबाट निस्कने व्यवस्था मिलाइएको हुन्थ्यो ।

काठमाण्डौ उपत्यकामा रहेका सबैजसो ढुङ्गेधाराहरु वर्षामा आकाशबाट आएको तथा राजकुलोहरुमा ल्याइएको पानी जमिनमा सोसिएर धारामा आउने परम्परागत प्रविधिमा आधारित रहेको इञ्जिनियर साह बताउनुहुन्छ । 

तर अहिले राजकुलो, पोखरी र ढुङ्गेधाराहरु मासिएका छन् । काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले गरेको एक अध्ययन अनुसार काठमाण्डौ उपत्यकामा रहेका २ सय ३३ पोखरीहरुमध्ये १ सय ९३ वटा पोखरी मात्र स्थलगत रुपमा भेटिएका छन् । ४० वटा पोखरीहरु लोप नै भैसकेका छन् । यसैगरी काठमाण्डौ उपत्यकाभित्र ५ सय ७३ वटा ढुङ्गेधारा रहेकोमा ४ सय ७९ वटा मात्र भेटिएका छन् । ५२ वटा ढुङ्गेधारा मासिएका छन् । 

काठमाण्डौ उपत्यकामा मात्र होइन, गाउँबस्तीमा पनि आकाशे पानी पोखरीमा जम्मा गर्ने चलन थियो । ओखलढुङ्गाको वाप्साका वीरबहादुर राईले घरनजिकै रहेको एउटा खाडल देखाउँदै भन्नुभयो, ‘यो हाम्रा बाजेले खनेको पोखरी, वर्षामा पानी जम्मा हुन्थ्यो, अनि हिउँदभर भैँसी आहाल बस्थे, पोखरी ठूलो थियो, अहिले धारामा पानी आउने भएकोले सानो बनाइदिएको छ, धाराको पानी जम्मा हुन्छ र भैँसी यहीँ आहाल बस्छ, आकाशको पानी आउने कुलो त नाश भैसक्यो ।’

हाम्रा पुर्खाहरुले घरगोठको छेउमा खाल्डो खनेर बनाइएका स–साना पोखरीको अवशेष अहिले पनि भेटिन्छ । कतिपय गाउँमा त त्यस्ता पोखरीमा अझै पनि पानी सञ्चित गरिन्छ । नजिक पानीको स्रोत नभएका सुख्खा ठाउँहरुमा यस्ता पोखरी खनिन्थ्यो । जहाँ वर्षाको पानी जम्मा गरेर सुख्खायाममा प्रयोग गरिन्थ्यो । हिमाल, पहाड तथा तराई सबैतिर सुख्खा ठाउँमा पुर्खाहरुले सुरु गरेको वर्षाको पानी संकलन गर्ने विधि अहिले पनि उपयुक्त रहेको इञ्जिनियर साह बताउनुहुन्छ । 

वर्षाको पानी जमिनमा खाडल खनेर जम्मा गरेर सिँचाइ तथा वस्तुभाउलाई आहाल बस्न वा खुवाउन प्रयोग हुन्थ्यो । कतिपय ठाउँमा अहिले पनि भैरहेको छ । जमिनमा सोसिएर ढुङ्गेधारा वा अन्य माध्ययमबाट निकालिएको पानी भने मानिसले पिउन पनि प्रयोग गर्ने गर्दथे । अहिले प्रचलनमा रहेका ट्यूवेल तथा इनारहरु पनि यही प्रविधिमा आधारित हुन् । आकाशबाट परेको वा विभिन्न नदी तालबाट जमिनले सोसेको पानी इनार वा ट्यूबेलमा जम्मा हुन्छ र हामी त्यो पानी प्रयोग गरिरहेका छौँ । 

यसैगरी अहिले वर्षाको पानी सिधै ट्याङ्की वा कुनै भाँडोमा जम्मा गरेर पनि प्रयोग गरिन्छ । सुख्खा बस्तीमा घरघरमा घैँटो बनाएर वर्षाको पानी जम्मा गर्ने र हिउँदमा प्रयोग गर्ने परियोजना नै सञ्चालन गरिएको इञ्जिनिएर साह बताउनुहुन्छ । काठमाण्डौ उपत्यकामा पनि धेरैले वर्षायामको पानी तत्कालै थापेर प्रयोग गर्ने वा रिजर्भ ट्याङ्कीमा राखेर प्रयोग गर्ने गरिएको छ । 

वर्षाको पानी जमिनमा रिजार्च गराउने वा संकलन गर्ने परम्परागत विधिहरु अहिले पनि उत्तिकै प्रभावकारी हुने इञ्जिनियर साह बताउनुहुन्छ । उहाँ भन्नुुहन्छ, ‘आकाशको पानी जमिनमा रिजार्च गराउने वा पुनः प्रयोगका लागि जम्मा गर्ने हो भने पानीको समस्या कम हुनुको साथै अहिले देखिएको जस्तो बाढी तथा डुबानको समस्या पनि निकै कम हुन्छ ।’

अहिले शहरमा बनाइएका संरचनाहरु कंक्रिटका कारण आकाशबाट परेको पानी जमिनले सोस्न पाउँदैन । त्यसैले भल बनेर सडकमा बग्न थाल्छ र नदीहरुमा बाढी नै आउँछ । यदि आकाशबाट परेको पानी जमिनले सोस्न सक्ने अवस्था ल्याउने हो भने बढी पानी परेको बेलामा हुने डुबान तथा बाढीको समस्या कम हुने र जमिनमुनिको पानीका स्रोतहरु इनार तथा ट्यूबेलहरुमा पानीको मात्रा पनि बढ्ने इञ्जिनिएर साह बताउनुहुन्छ । यो व्यवस्था गर्न सरकारले नीतिगत व्यवस्था नै गरेर संरचनाहरु बनाउँदा आकाशे पानी जमिनमा रिचार्च हुने गरी नक्सा बनाउन अनिवार्य गर्नुपर्ने उहाँको भनाइ छ । 

अहिले घर वा अन्य संरचना बनाउँदा निश्चित जग्गा छाड्नुपर्ने भन्ने नियम छ । यो छाडिएको जग्गालाई कंक्रिट प्रयोग नगरी पानी सोस्न सक्ने अवस्थामा राख्न बाध्यकारी बनाएमा वर्षाको केही पानी जमिनले सोस्छ । यस्तै वर्षाको पानी जमिनमा पठाउनका लागि खाडल खन्ने वा अरु प्रविधिहरु पनि प्रयोग गर्न सकिने इञ्जिनियर साह बताउनु हुन्छ ।  

यस्तै विभिन्न संस्थान तथा सरकारी कार्यालयहरुको खुला जग्गामा वर्षाको पानी जमेर जमिनले सोस्न सक्ने अवस्थाको बनाएमा पनि जमिनमा पानी रिचार्ज भइ मुहान वा इनार, ट्यूबेलमा पानीको मात्रा बढ्ने भएकोले त्यसतर्फ पालिकाहरुले योजना बनाएर पानी जमिनमा रिचार्जको लागि पहल गर्नुपर्ने साहको भनाइ छ ।

जमिनले पानी सोस्न नपाएकै कारण नदी तथा खोल्साहरुमा बाढीको मात्रा बढ्ने र जनधनको क्षति हुने भएकोले विपद् व्यवस्थापनको योजना बनाउँदा वर्षाको पानी जमिनमा सोस्ने वातावरण बन्ने गरी योजना बनाएर काम गर्नुपर्ने उहाँको सुझाव छ । 

वर्षाको पानी संकलनका परम्परागत प्रविधिहरु स–साना पोखरी खन्ने, राजकुलोमा पानी पठाउने लगायतका साथै अहिले नयाँ प्रविधि पनि आएकोले त्यसको प्रयोगको लागि पालिकाहरुको अगुवाइ महत्वपूर्ण हुने विज्ञहरु बताउँछन् । यस्तै पानी संकलन गर्न घरघरमा घैंटो तथा ट्याङ्की बनाउन पनि पालिकाहरुले सहयोग गर्न सक्छन् । यसो गरिएमा बढ्दै गएको पानी संकट र बाढी डुबानको समस्या कम गर्न फाइदा पुग्छ । 

नेपालमा वर्षमा चार महिना मात्र पानी पर्छ । अरु बेला सामान्य मात्र पानी पर्ने भएकोले संकलन वा जमिन रिचार्ज उपयुक्त हुँदैन । बाँकी आठ महिनाका लागि पानी संकलन गर्न खर्चिलो हुने भएकोले यसका लागि व्यक्तिगतभन्दा पनि सरकारी तहबाट गरिने पहल प्रभावकारी हुने इञ्जिनियर साह बताउनु हुन्छ ।

उहाँ भन्नुुहुन्छ, ‘मुहान वा नदीनालाको पानी पाइने ठाउँमा आकाशे पानी संकलन उपयुक्त हुँदैन, इनार तथा ट्यूबेलको प्रयोग गर्ने ठाउँमा जमिन रिचार्ज हुने अवस्था राखिराख्नु आवश्यक छ, अनि निकै सुख्खा ठाउँमा आकाशे पानी संकलन पनि प्रभावकारी हुन्छ, पानीको उपलब्धता र बाढीजन्य जोखिमको न्यूनीकरण दुवैको लागि यो विधि उपयुक्त छ ।

आकाशबाट संकलन गरिएको पानी सिधै पिउन भने उपयुक्त नहुने खानेपानी तथा ढल व्यवस्थापन विभागको खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख नारायण खनाल बताउनुहुन्छ । उहाँ भन्नुुहन्छ, ‘पानी संकलन गर्दा छाना वा अन्य संरचनाबाट गरिन्छ, त्यहाँबाट फोहोर आउन पनि सक्छ, यस्तै आकाशे पानीमा अम्लीयपन बढी हुन्छ, यसैले यो पानीलाई सरसफाइमा प्रयोग गर्न सकिन्छ भने फिल्टर गरेर वा निर्मलीकरण गरेर पिउनका लागि पनि प्रयोग गर्न सकिन्छ तर सिधै प्रयोग गर्नु उपयुक्त हुँदैन ।’ 

आकाशे पानी संकलन तथा रिचार्जको लागि देशको भू–बनोट र स्थानीय आवश्यकता अनुसार बृहत् रुपमा छलफल गरी पालिकाहरुको अगुवाइमा योजना बनाएर कार्यान्वयन गर्दा उपयुक्त हुने विज्ञहरुले सुझाव दिएका छन् । 

अन्तिम अपडेट: भदौ २८, २०७६

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया