जम्मू–कश्मीरमा सुरक्षा बलसँगको भिडन्तमा जैश-ए-मोहम्मदका कमाण्डरसहित २ आतंकवादी मारिए

 साउन ११, २०७६ शनिबार १४:५७:३० | एजेन्सी
unn.prixa.net

भारतकाे जम्मू–कश्मीरमा सुरक्षा बलसँगको भीडन्तमा दुई जना आतंकवादीको मारिएकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

भारतीय सञ्चारमाध्यम प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई) का अनुसार शोपियाँ जिल्लामा सुरक्षा बल र आतंकवादीबीच भिडन्त भएको थियो । भिडन्तमा पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदका शीर्ष कमाण्डर मुन्ना लाहौरी र उनका साथी तथा स्थानीय आतंकवादी मारिएका हुन् ।  

प्रहरीका अनुसार पाकिस्तानमा बसोवास गर्ने लाहौरी (बिहारी) काश्मीरमा कैयौँ मानिसहरुको हत्यामा संलग्न थिए । लाहौरीले जैश-ए-मोहम्मद संगठनमा मानिसहरुलाई भर्ती गर्ने काम पनि गर्दथे । 

एक प्रहरी अधिकारीका अनुसार शोपियाँको बोनबजार क्षेत्रमा आतंकवादीहरु रहेको समाचार प्राप्त भएपछि खोज्न सुरु गरेको थियो । त्यसपछि सुरक्षा बल र आतंकवादीबीच भिडन्त भएको थियो । भिडन्तपछि सशस्त्र बलले हतियार र विस्फोटक सामग्री बरामद गरेको थियो । 

प्रधानमन्त्री नरेन्द्र माेदीले केन्द्रीय सरकारको सत्ता सम्हालेपछि अहिलेसम्म जम्मू–कश्मिरमा ९६३ जना आतंकवादी मारिएका छन् । यही क्रममा आतंकवादीविरुद्धकाे कारबाहीमा ४१३ जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । 

सरकारका अनुसार यो वर्ष सीमा क्षेत्रमा हुने घटनामा पछिल्लो वर्षको तुलनामा ४३ प्रतिशतले कमी आएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया