तमोर नदीले बगाएर बेपत्ता भएका एकै घरका तीन बालबालिका अझै भेटिएनन्

 साउन ११, २०७६ शनिबार १७:४३:४३ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - एक हप्ता अघि तमोर नदीले बगाएर बेपत्ता भएका तीन बालबालिकाको अझै पत्ता लाग्न सकेको छैन ।

धनकुटा नगरपालिका–८, सान्ताङका शंखबहादुर राईको तीन छोराछोरीलाई पौडी खेल्ने क्रममा गएकाे साउन ५ गते धनकुटाको याक्चनाघाट नजिकबाट तमोर नदीले बगाएको थियो । बेपत्ता ९ वर्षीय सन्दीप, ७ वर्षीया सलिना र ४ वर्षीया संजिलालाई गोरु चराउँदै नदीको किनारामा पौडी खेल्ने क्रममा अचानक नदीले बगाएर बेपत्ता बनाएको थियो ।

बेपत्ता बालबालिकाहरुको प्रहरीले स्थानीयवासीहरुको सहयोगमा खोजी गरिरहेको भए पनि हालसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले बताउनुभयाे । निरन्तरको वर्षाका कारण नदीमा अत्याधिक बाढी आएकाले पनि खोजी कार्यमा कठिनाइ भइरहेको छ । तर पनि मुलघाट प्रहरी चौकी, त्रिवेणी प्रहरी चौकीको सहयोगमा खोजी कार्य जारी राखिएको प्रहरीले बताएको छ ।

यसैबीच तीनै सन्तान नदीले बगाएर बेपत्ता भएपछि सन्तानविहीन बन्न पुगेका शंखबहादुर र श्रीमती रोहनश्वरी राईलाई धनकुटा नगरपालिका धनकुटाले ४० हजार रुपैयाँ राहत प्रदान गरेको छ । रकम धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले राहत रकम हस्तान्तरण गर्नुभएकाे थियाे ।

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया