अत्यधिक रक्तस्रावका कारण सुत्केरीको ज्यान गयाे

 साउन ११, २०७६ शनिबार २०:३२:४० | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट - अत्यधिक रक्तस्रावका कारण कालिकोटमा शनिबार एक सुत्केरीको मृत्यु भएको छ ।

नरहरिनाथ गाउँपालिका– ४ रप्साकी ३० वर्षीया देवी सहकारीकोे अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो । ९ गते जिल्ला अस्पताल कालिकोटमा भर्ना भएकी सहकारीको उपचार सम्भव नहुने भएपछि जुम्ला लैजाँदै गर्दा शनिबार बिहान नाग्ममा बाटोमै मृत्यु भएको हो ।

शुक्रबार राति १२ बजे सहकारीले मृत बच्चालाई जन्म दिएकी थिइन् । टाउको नभएको मृत बच्चा जन्मेपछि अत्यधिक रगत बगेकाे र अस्पतालमा भएको रगत चढाइए पनि रगत बग्न नरोकिएपछि जुम्ला रिफर गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डा भिष्म पोख्रेलले बताउनुभयाे ।

‘मृतक सहकारीको पाठेघर नखुम्चिँदा अत्याधिक रक्तस्राव भयो । तीन पोइन्ट रगत दियौँ । अन्तमा सम्भाव नहुने भएपछि सहकारीलाई जुम्ला रिफर गर्यौँ’, उहाँले भन्नुभयाे ।

‘उपचारमा संलग्न डा. विज्ञान प्रजापतिले बचाउन कडा मेहनत गर्नुभयो, सक्नु भएन । सहकारीको घरको आर्थिक अवस्था पनि निकै कमजोर हुँदा हामीले उनको जुम्ला रिफर अस्पतालको खर्च पनि बेहोरेका छौँ ।’ मृतकका आफन्त लाल बहादुर बुढाले भन्नुभयाे ।

‘बिरामीको अवस्था जटिल भए पहिला नै रिफर गर्नु पर्थ्याे। बिरामी मर्ने अवस्थामा आइसके पछि अन्तमा आएर रिफर गरियो ।’ उहााले गुनासाे गर्नुभयाे। 

सडक सञ्जालले नछोएको यो गाउँपालिकामा तीन महिना अघि मात्र स्थानीय माल्कोटकी सुत्केरी आमाको उपचार अभावमा मृत्यु भएको थियो । 

 

अन्तिम अपडेट: चैत २९, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया