पहिरोका कारण रामेछापमा २४ घरधुरी जोखिममा, १२ घरधुरी विस्थापित

 साउन १२, २०७६ आइतबार १६:३५:९ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – खाँडादेवी गाउँपालिका, पकरवासमा रहेकाे माडिफाँटमा गएको पहिरोका कारण २४ घरधुरी जोखिममा परेका र १२ घरधुरी विस्थापित भएका छन् ।

खाँडादेवी गाउँपालिकाको माडिमुहान र दिलखरे भन्ने ठाउँमा गएको पहिरोका कारण जमिन धाँजा फाटेर पहिराे लाग्न थालेपछि बस्ती जोखिममा परेको हो । जाेखिममा परेका २४ घरधुरीमध्ये १२ घरधुरीले घर छाडेका छन् भने अन्य घर परिवारलाई पनि तत्काल सुरक्षित स्थानमा सानुपर्ने देखिएको खाँडादेवी गाउँपालिका-३ का वडाध्यक्ष धनबहादुर मानन्धरले जानकारी दिनुभयाे ।

पुस्तौँदेखि बसोबास गर्दै आएका उनीहरुको अन्यत्र जग्गा भए पनि भूकम्पको घर समेत त्यसै ठाउँमा बनाएर बस्दै आएका थिए । घरमा दिनभर बसे पनि रातको समयमा घर छाडेर छिमेकीको घरमा आश्रय लिनु परेको स्थानिय रुपनारायण मानन्धरले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘अन्त जग्गा छैन, भूकम्पको नयाँ घर पनि यही पहरामुनि बनायौँ । अहिले लगातारकाे झरीले गर्दा घर माथिबाट आएको पहिरोले घर लाने भयो ।’

उहाँकाे घरभित्र पुरै पानी जमेको छ भने घरमाथिबाट झरेको पहिरोले घरको पछाडिबाट गारो नै भत्काएर घर भित्र पसेकाले तत्काल आवासको व्यवस्थाका लागि सहयोग गरिदिन आग्रह गर्नुभयाे । 

जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं रामेछापका प्रमुख जिल्ला अधिकरी लिलाकुमारी पाण्डेको नेतृत्वमा पुगेको टोलीले जाेखिममा परेकाे बस्तीकाे स्थलगत नीरिक्षण गरेकाे छ । पहिरो गइरहेको र केही घरको गारो भत्किएर घरभित्र पानी जमेकाले अन्यत्र सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको प्रजिअ पाण्डेले बताउनुभयाे । 

उहाँले भन्नुभयाे, ‘घरमाथिबाट आएकाे पहिरोका कारण केही घर बस्नै नहुने भएको रहेछ । पीडितहरुलाई राज्यको तर्फबाट उचित राहत रकम दिएर सुरक्षित ठाउँमा सार्न सम्बन्धित वडा कार्यालयलाई निर्देशन दिइएको छ ।’ 

अन्तिम अपडेट: चैत २९, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया