सर्लाही घटनाको छानबिन समिति नबनेसम्म संसद चल्न दिँदैनाैँ : राजपा संयाेजक यादव

 साउन १२, २०७६ आइतबार १५:२२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजकिशोर यादवले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई घटनाको तत्काल छानबिन समिति बनाउन सरकारलाई दबाब दिनुभएको छ । 

संयोजक यादवले सर्लाहीमा भएका मृत्युको घटनाको छानबिन गर्न संसदीय समिति गठन नगरे सोमबार बस्ने प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी समेत दिनुभयो ।

आइतबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सर्लाहीमा भएका दुवै मृत्यु प्रकरण गैरन्यायिक भएकाले आफ्नो पार्टीले संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै आएको र त्यसको सुनुवाइ नभए सोमबार बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने निर्णय गरिएको बताउनु भयो ।

नेत्रविक्रम चन्द समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंंहको प्रहरीको गोली लागेर मृत्यु भएपछि त्यसको न्यायिक छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले यसअघि पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए ।

संयोजक यादवले गैरन्यायिक ढंगले प्रहरीबाट मारिएका ती दुवै प्रकरणको छानबिन गर्न संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने पार्टीको अडान रहेको पनि दोहोर्‍याउनु भयो ।

संयोजक यादवले पार्टीको आसन्न महाधिवेशनको तयारीको कामलाई पनि तीव्रता दिइएको बताउनु भयो । उहाँले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालसँग पार्टी एकताका लागि वार्ता प्रक्रियालाई जारी राखिएको पनि जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया