हाकिमहरुलाई कृषिमन्त्रीको निर्देशन: कसैसँग नडराउनु, विषादी जाँचलाई कडाइ गर्नु

 साउन १२, २०७६ आइतबार १७:३८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले देशैभरका पशु प्लान्ट र खाद्य क्वारेन्टराइनका प्रमुखलाई मन्त्रालयमा बोलाएर छलफल गर्नुभएको छ ।

देशैभरका क्वारेन्टाइनको अवस्था र त्यहाँका समस्याबारे बुझ्न मन्त्री खनालले छलफल गर्नुभएको हो । छलफलमा कार्यालय प्रमुखहरुले आफूहरुले भोगेका समस्या राखेका थिए । उनीहरुले काम गर्न अप्ठ्यारो भएको, मन्त्रीको नाम लिएर धम्क्याउने र सामान छुटाउन निर्देशन दिने लगायतका समस्या भोगेको बताएका थिए । 

कृषि तथा पशुपंक्षी मन्त्रालय सिंंहदरबारमा भएको छलफलमा क्वारेन्टाइन कार्यालयका प्रमुखहरुलाई मन्त्री खनालले भन्नुभयो, ‘तीनवटै निकायको समन्वय नहुनाले समस्या भएको छ, जाँचलाई निरन्तर र कडाइ गरौँ, हिजोका दिनमा अन्य देशबाट जसरी आइरहेको थियो त्यसरी त ल्याउन दिइन्न, तर असन्तुलित नबनौँ ।’

उहाँले भन्सार र अर्थसँको समन्वय बढाउनुपर्नेमा पनि जोड दिनुभयो । क्वारेन्टाइनमा कर्मचारी कम भएको, भौतिक संरचना र सेवा सुविधा पनि चित्तबुझ्दो नभएको लगायतका समस्या तत्कालै समाधान हुने पनि मन्त्री खनालले बताउनुभयो ।

छलफलमा एक क्वारेन्टाइन प्रमुखले भने, ‘व्यापारीले पनि हैरान पार्ने गरेका छन्, मन्त्री र महानिर्देशकको मान्छे हो भन्दै दुःख दिन्छन्, घटुवाको समेत धम्की दिन्छन्, कार्यालयमा बसेर काम गर्न गाह्रो छ ।’

जवाफमा मन्त्री खनालले भन्नुभयो, ‘व्यापारका नाममा गुण्डागर्दी गर्नेलाई छोड्दै नछोड्नुस् । मन्त्रीको हवाला दिएर आउनेको काम त झन् गर्दै नगर्नूस् ।’
अहिले हामीसँग भएका ल्याबलाई राम्रोसँग चलाएमा विषादी जाँच गर्न समस्या नहुने भन्दै मन्त्री खनालले आयातित तरकारी तथा पशुपंक्षीमा मात्र नभइ स्वदेशमा उत्पादन भएको उपजमा पनि निरन्तररुपमा विषादी जाँच हुने बताउनुभयो । 

भन्सारमा काम गर्ने अरु कर्मचारीले भत्ता पाउने तर क्वारेन्टाइनमा काम गर्नेले भत्ता नपाउने गुनासो सुनेपछि मन्त्री खनालले यो गुनासोको सुनुवाइको लागि अर्थमन्त्रालयसँग छलफल भैरहेको जानकारी दिनुभयो  ।

 

छलफलमा पशुपंक्षी मन्त्रालयका सचिव प्रकाश माथेमाले सबैतिर समान समस्या रहेको देखिएकाले अल्पकालीन र दीर्घकालीन योजना बनाएर समाधान गर्नुपर्ने बताउनुभयो । त्यस्तै कृषि सचिव युवकध्वज जिसीले कर्मचारी समायोजनका कारण पनि केही समस्या भएको भन्दै समाधानको पहल भैरहेको जानकारी दिनुभयो । 

हाल पशुपंक्षीतर्फ ८ वटा क्वारेन्टाइन कार्यालय छन् भने स्थायी र अस्थायी गरी २८ वटा चेकपोस्ट छन् । कृषितर्फ भने १५ वटा क्वारेन्टाइन कार्यालय छन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया