जानकी मन्दिरको सिँगार्ने काममा पुरातत्वकाे रोक

 साउन १२, २०७६ आइतबार १८:५६:३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - प्रदेश २ सरकारले जानकी मन्दिरको मौलिकतामा असर पर्नेगरी गरिरहेको मर्मत सम्भार तथा सौन्दर्यकरणको काममा पुरातत्व विभागले रोक लगाएको छ ।

पुरातत्व विभागको स्वीकृतिबिना जानकी मन्दिर परिसर भित्र भइरहेको मर्मत सम्भारकाे काममा नेपाल सरकार, पुरातत्व विभागले आइतबार रोक लगाएको हो ।

पुरातत्व विभाग, काठमाण्डौबाट जानकी मन्दिरको पुरातत्वसम्बन्धी फोकल पर्सनको रुपमा कार्यरत पुरातत्व अधिकृत मन्जु सिंह भण्डारीले जानकी मन्दिरको प्रांगणभित्र भइरहेको भवन निर्माणको कार्य समेत रोक्न फोनबाट जानकारी गराउनु भएको हो ।

उहाँका अनुसार भएरहेकाे काम रोक्न पुरातत्व विभागको औपचारिक पत्र  सोमबारसम्म जानकी मन्दिर, जनकपुरधाम उप महानगरपालिका, प्रदेश २, मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमासमेत पुगिसक्ने छ ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत जानकी मन्दिरको कम्पाउन्ड भित्र मार्बल लगाउने योजना अगाडि बढाइएको थियो । जानकी मन्दिरको परिसर सुधार गर्न सहमति मागसम्बन्धी प्रदेश २ सरकारको पत्रको आधारमा जानकी मन्दिरसँग तादात्म्य हुने गरी तथा मन्दिरको साविकको दृष्यलाई नकारात्मक असर नपर्ने गरी विश्व सम्पदाको सम्भावित सूचीमा सूचीकरण गर्ने सिलसिलामा अहिलेकाे सुधार कार्यले कुनै समस्या नआउने गरी पुरातत्व विभागले २०७५।०९।२२ को पत्र अनुसार सहमति प्रदान गरेको थियो ।

तर अहिले आएर पुरातत्व विभागको स्वीकृति विपरीत जानकी मन्दिरको मौलिकता तथा संरचनालाई नै संकटमा पार्नेगरीे मन्दिर परिसरभित्र भवन निर्माण कार्यको थालनी भएको छ । जानकी मन्दिर भित्रको छतमाथि ६ वटा शक्तिशाली ड्रिलको प्रयोग गरेर मन्दिरको संरचनालाई क्षति पुग्ने गरी तोडफोडको कार्य पनि भइरहेको छ ।

जानकी मन्दिर सौन्दर्यकरणको क्रममा मौलिकता संकटमा पर्नेगरी भइरहेको काम तत्काल बन्द गराउन भोर संस्थाले गएकाे सोमबार पुरातत्व विभागको महानिर्देशकलाई तोडफोड कार्यको फोटोहरु सहित ज्ञापनपत्र बुझाएको थियाे । भोरको सहजीकरणमा सञ्चालित जानकी मन्दिरलाई विश्व सम्पदा स्थलको रुपमा सूचीकृत गराउन अभियानले उक्त पत्र बुझाएको हाे ।

पत्रका आधारमा पुरातत्व विभागको विश्व सम्पदा शाखा, पुरातत्व शाखा तथा योजना शाखा र भोरको सहभागितामा बैठक बसेको थियो । बैठकमा पुरातत्व विभागको विश्व सम्पदा संरक्षण शाखाका प्रमुख सुरेश सरस श्रेष्ठ, पुरातत्व अधिकृत सुभद्रा भट्टराई, देवेन्द्र भटराई, योजना शाखाको पुरातत्व अधिकृत मन्जु सिंह र भोरका अध्यक्ष राज कुमार महतो सहभागिता थियो ।

प्राप्त पत्र र बैठकको छलफलको आधारमा जानकी मन्दिर परिसरभित्र भइरहेको भवन निर्माण कार्य तुरुन्तै रोक्न निर्देशन दिइएको जनाइएको छ ।  

प्रदेश सरकारको झण्डै ८ करोड लागतमा जानकी मन्दिरको साैन्दर्यकरणको काम भइरहेको छ भने जानकी मन्दिर प्रांगणमा ९० लाखको  लागतमा शन्त आवास भवन निर्माण भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया