बोल्न नसकेपछि प्रधानमन्त्री सचिवालयसँग डाक्टर केसीको कुरा हुन सकेन

 असार २५, २०७५ सोमबार १७:१:८ | नेत्र शाही

जुम्ला – जुम्लामा दश दिनदेखि अनसनमा रहेका डाक्टर गोविन्द केसीसँग प्रत्यक्ष प्रधानमन्त्रीको सचिवालयबाट टेलिफोन सम्पर्क गर्न खोज्दा हुन सकेन । 

डाक्टर गोविन्द केसीकाे अवस्था वुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले सिधा फोन गर्न प्रयास गरे पनि डा. केसीलाई वोल्न कठिनाई भएकाले कुरा नभएको डा. केसीको साथमा रहेका उहाँका भाइ किशोर केसीले बताउनुभयो । 

डाक्टर केसीका भाइ किशोर केसीका अनुसार  प्रधानमन्त्री केपी शर्मा ओलीका चिकित्सक टोलीका सदस्य तथा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दिलिप शर्माले अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्नु भएको थियो । तर बोल्न कठिनाई भएकाले डा.केसीसँग कुरा नभएको किशोरले बताउनुभयो । 

किशोरका  अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासँग पनि प्रधानमन्त्री सचिवालय कार्यालयका प्रमुख राजनतिक सल्लाहकार विष्णु रिमालसहितले डा. केसीको अवस्थाको जानकारी लिन तथा आवश्यक सम्पर्क भैरहेको छ । 

यसैबीच डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर हुँदै गएको छ । उपचारमा खटिएका चिकित्सकहरुले  दिउँसो ३ बजे निकालेको स्वास्थ्य अवस्थाको सूचनामा छातीको बीच भागमा दुखाई, कमजोरी चक्कर लाग्ने, वाकवाकी लाग्ने, मसंपेशी बाउँडिने, पिसाबमा किटोन प्लस ५, सेतो रक्तकोष क्रमिक घट्दै गएको, रगतमा चिनीको मात्रा घटदै गैरहेको, रगतमा म्याग्नेसियमको मात्रा घट्दै गएको, मुटुको चाल तलमाथि भैरहेको छ ।  
 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया