भाेजपुरका खानेपानी इन्जिनियर यादवसँग स्पष्टिकरण माग, दुई दिनदेखि सम्पर्क बाहिर

 साउन १३, २०७६ सोमबार १२:४५:५० | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - खानेपानी तथा सरसफाइ डिभिजन नं. ५ धनकुटाको भोजपुर सम्पर्क कार्यालयका इन्जिनियर विजयकुमार यादवले कमिसन लिएको समाचार सञ्चारमाध्यममा आएपछि जिल्ला प्रशासन कार्यालय भोजपुरले स्पष्टीकरण मागेको छ । 

जिल्लामा सञ्चालन भएका योजनाहरुकोे लागत तथा स्थानहरुको लिखित जानकारी गराउन खानेपानी तथा सरसफाइ डिभिजन नं. ५ धनकुटालाई पत्र पठाएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताउनुभयो । ‘प्रमुख यादवले तत्काल घटनाको बारेमा जानकारी गराउनुपर्छ । यदि आवश्यकता भएमा अख्तियार कार्यालयमा जानकारी गराउन सक्छौँ । घटनाको बारेमा अख्तियारले छानबिन गर्छ’, प्रमुख जिल्ला अधिकारी खतिवडाले भन्नुभयो ।

कमिसन लिएको भन्ने समाचार सञ्चारमाध्यममा आएपछि भोजपुरस्थित सम्पर्क कार्यालय छोडेर इन्जिनियर विजयकुमार यादव सम्पर्कविहीन भएका छन् । शनिबारबाट प्रमुख यादव सम्पर्कविहीन भएको कार्यालय स्रोतले जनाएको छ । आफूहरुले धेरैपटक फोन गरेको भए पनि कार्यालय प्रमुख यादवको मोबाइल अफ् रहेको कार्यालयमा नआउनु भएको एक कर्मचारीले बताए ।  

प्रदेश सरकार अन्तर्गतकै कार्यालयका इन्जिनियर यादवले खानेपानी योजनाहरुमा मूल्यांकन गरेर बिल पास गर्दा भुक्तानी गरेबापत उपभोक्ता समितिहरुबाट मोटो रकम असुलेको उपभोक्त समितिहरुले गुनासो गरेका थिए । 

आर्थिक वर्षको अन्तिममा प्रत्येक आयोजनाहरुबाट १० देखि २० प्रतिशत रकम कमिसन लिने गरेको उपभोक्ता समितिका पदाधिकारीहरु बताउँछन् । बिहान र बेलुकाको समय पारेर इन्जिनियर यादवले उपभोक्ताबाट कमिसन लिने गरेको स्रोतले बताएको छ ।  

खानेपानी कार्यालयका एक कर्मचारीका अनुसार सबै योजनाबाट इन्जिनियर यादवले रकम लिएका छन् । पछिल्ला केही दिनमा मात्र योजनाको भुक्तानी भएको आधारमा ३० देखि ३५ लाख रकम घुस लिएको कर्मचारीहरु नै बताउछन् । 

इस्टिमेट अनुसारको मूल्यांकन पुगेन भनेर फायल अड्काएर यादवले कमिसन माग्ने गरेको स्रोतले बताएको छ । कमिसन बुझाउने शर्तनामा गरेपछि मात्रै योजनाहरुको इन्जिनियर यादवले मुल्यांकन गर्ने गरेका थिए ।  

जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा १५ वटा क्रमागत आयोजनामा ७ करोड ५३ लाख २७ हजार बजेट विनियोजन भएको थियो । यो रकम संघीय सरकारले व्यहोर्ने रकम हो । त्यस्तै प्रदेश सरकारबाट १७ वटा आयोजनामा ८ करोड २८ लाख रकम बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । 

कमिसनको सम्बन्धमा सञ्चारकर्मीहरुको टोलीले शुक्रबार इन्जिनियर यादवसँग कार्यालयमा गएर बुझ्दा उनले ‘हैन’ भन्दा अरु कुरा बोल्न सकेका थिएनन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीका सूचना अधिकारी ज्ञानेन्द्रप्रसाद ढकालले कमिसन लिएको प्रमाण नभएसम्म आफूहरुले कारबाही गर्न नमिल्ने बताउनुभयो । ढकालले भन्नुभयो  ‘रेड हो भने हेर्ने हो नभए कुनै आयोजना विशेषमा गलत भएको पाइयो भने थप अनुसन्धानबाट हामी कारबाही गर्छाैं ।’

केही दिनअघि मात्र प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले कसैले भ्रष्टाचार गरे एक घण्टाभित्र कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । तर यो घटना सार्वजनिक भएको ३ दिन बितिसक्दा पनि प्रदेश सरकारको केही प्रतिक्रिया आएको छैन् ।

यसअघि भोजपुरमा गएको असार ३० गते सिँचाइ तथा जलश्रोत विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख एवम् इन्जिनियर मोहनबाबु यादवलाई अख्तियारले एक लाख ८० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: चैत ३, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया