राप्रपाले ‘गाउँ फर्क’ अभियान सञ्चालन गर्ने

 साउन १३, २०७६ सोमबार १२:५७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘गाउँ फर्क’ अभियान सञ्चालन गर्ने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार काठमाण्डौमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले देशभर पार्टीको संगठन निर्माणका लागि ३ महिने ‘गाउँ फर्क’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीको आसन्न महाधिवेशनलाई समेत ध्यानमा राखेर देशभर पार्टीको संगठन निर्माणका लागि ३ महिने गाउँ फर्क अभियान सञ्चालन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिनु भयो । बैठकले संगठन निर्माणका लागि यही साउन २४ र २५ गते काठमाण्डौमा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । त्यस कार्यक्रमबाट प्रशिक्षित भएका प्रशिक्षकहरुलाई जिल्लास्तरीय र पालिका स्तरीय कार्यक्रममा प्रशिक्षकको रुपमा परिचालन गर्ने पार्टीको तयारी छ ।

आगामी पुस महिना भित्रसम्म संगठन निर्माण गरेपछि पार्टीको महाधिवेशनको तयारीको काममा केन्द्रित हुने पनि पार्टीका प्रवक्ता पाठकले बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी २०७७ साल जेष्ठमा पार्टीको महाधिवेशन गर्ने तयारी छ ।

बैठकमा अध्यक्ष थापाले पालिकाको चुनावलाई समेत ध्यानमा राखेर पार्टीको संगठन निर्माणमा जुट्न पार्टीका नेताहरुलाई निर्देशन दिनु भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले २०७६ साललाई पार्टीको संगठन निर्माणको वर्षका रुपमा मनाउने कार्य योजना यस अघि बसेको पार्टी केन्द्रीय कार्य समितिले तय गरेको थियो ।

त्यही कार्य योजनालाई कार्यान्वयनमा लैजान केन्द्रीय कार्य सम्पादन समिति बैठकले ‘गाउँ फर्क’सहितको अभियान देशभर सञ्चालन गर्ने निर्णय गरिएको पनि प्रवक्ता पाठकले बताउनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया