चर्को आलोचनाकाबीच कंगनाको ‘जज मेन्टल हे क्या’ को उत्कृष्ट प्रदर्शन

 साउन १३, २०७६ सोमबार १३:३६:२३ | एजेन्सी
unn.prixa.net

भारतीय अभिनेत्री कंगना रनावत र राजकुमार राव अभिनित फिल्म ‘जजमेन्टल हे क्या’ जुलाई २६ मा रिलिज भइसकेको छ । निर्देशक प्रकाश कोवलामुदीको निर्देशन रहेको यस फिल्मको कहानी निकै नै रोचक तथा फिल्म अहिलेसम्मका अन्य फिल्म भन्दा फरक धारमा बनाइएको छ ।

फरक अन्दाज तथा नौलो रुपमा प्रस्तुत गरिएका फिल्मका दृष्यले दर्शकलाई निकै उत्सुक बनाइदिन्छ । फिल्मलाई समालोचकलेसमेत सकारात्मक रिभ्यू दिइरहेका छन् भने सामाजिक सञ्जालमा दर्शकले समेत प्रशंसा गरिरहेका छन् ।

यस फिल्ममा मुख्य भूमिका बबी नामकी पात्रको छ, जुन भूमिका कंगना रनावतले निर्वाह गरेकी छिन् । फिल्ममा उनी एक भ्वाइस ओभर आर्टिस्ट हुन् र उनी जस्तो पात्रको आवाज दिन्छिन् आफूलाई त्यही पात्र सम्झन थाल्छिन् । बाल्यकालमा भएको एक दुर्घटनाका कारण बबी अर्थात् कंगना सायकोसिस नामको मनोरोगी हुन्छिन् । उनी आफूसँगै काम गर्ने एकजना कर्मचारीमाथि हमला गर्छिन् । त्यो घटना पछि उनलाई मानसिक अस्पतालमा पुर्‍याइन्छ । त्यसको केही समयपछि उनलाई औषधी दिएर घर फर्काइन्छ ।

त्यसपछि कहानीमा केशव अर्थात् राजकुमार रावको इन्ट्री हुन्छ । राजकुमार राव आफ्नी श्रीमतीका साथ बबीको छिमेकमा बस्न आउँछन । बबी अर्थात् कंगना यी दुवैको जीवनमा चासो राख्न थाल्छिन् । यसैबीच त्यहाँ हत्या हुन्छ र त्यसको आरोपमा केशव र बबी फस्छन् ।

२ घण्टा १० मिनेट लामो यस फिल्मले दर्शकलाई कहीँ पनि दिक्क बनाउँदैन बरु कहानीमा बाँधेर राख्न सफल हुन्छ । कंगनाको अभिनय निकै नै प्रशंसनीय रहेको छ । अभिनयका कारण दर्शकको वाहवाही पाउने गरेका राजकुमार रावले यस फिल्ममा पनि साबित गरिदिएका छन् की उनी वास्तवमै प्रतिभाशाली छन् ।

फिल्ममा सतीश कौशिक र जिमी शेरगिलले पनि आफ्नो भूमिका कुशलताका साथ निर्वाह गरेका छन् । एकता कपूरको निर्माणमा बनेको यस फिल्मले प्रदर्शनको पहिलो दिन ५.४० करोडको ब्यापार गरेको छ भने दोस्रो दिन ८.०२ करोड र तेस्रो दिन ८.६२ करोड गरी २२ करोड भन्दा बढीको ब्यापार गरेको छ । चलचित्र जम्मा २९ करोड भारतीय रुपैयाँको लगानीको बनेको हो ।

सुरुमा  यस फिल्को नाम ‘मेन्टल हे क्या ?’ राखिएको थियो तर फिल्मको नामलाई लिएर इण्डियन साइक्याट्रिक सोसाइटीले विरोध गरेपछि ‘जजमेन्टल हे क्या ?’ राखिएको हो । साथै फिल्म प्रमोशनको एक कार्यक्रममा अभिनेत्री कंगना र पत्रकारबीच भएको भनाभनपछि भारतीय मनोरञ्जन पत्रकार समूहले कंगना तथा फिल्म निर्माण पक्षले माफी माग्नु पर्ने माग गरेका थिए ।

पत्रकार समूहले कंगनाले पत्रकार माथि दुर्व्यवहार गरेकाले सार्वजनिक माफी माग्नु पर्ने अन्यथा फिल्म र अभिनेत्रीलाई मिडियामा प्रतिबन्ध गर्ने दवाब दिएपछि निर्माता एकता कपूरले लिखित रुपमा माफी मागेकी थिइन् । तर अभिनेत्री कंगना रनावतले माफी नमाग्ने निर्णयपछि उनलाई मिडियामा प्रतिबन्ध गरिएको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया