कांग्रेस  नेता गच्छदारले दिए पार्टी फुटाउने चेतावनी

 असार २५, २०७५ सोमबार १७:२८:३९ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिनु भएको छ ।

नेता गच्छदारले पार्टी एकीकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता भंग गर्ने चेतावनी दिनु भएको हो । सोमबार काठमाडौंमा पार्टीका पुराना नेताहरुसँगको सामूहिक भेटमा उहाँले आफूलगायत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका हजारौं नेता, कार्यकर्तालाई अपमान गर्ने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

उहाँले गुट र उपगुटमा विभाजित कांग्रेसले कम्युनिष्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दावी समेत गर्नुभयो । नेता गच्छदारले पार्टी नेतृत्वले आफू र आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप पनि लगाउनुभयो ।

गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीच गएको असोज २१ गते पार्टी एकीकरण भएको थियो । नेता गच्छदारले पार्टी एकीकरणताका दुई पार्टीबीच भएको सहमति कार्यान्वयन नभएपछि आफू पार्टी एकता भंग गर्न बाध्य हुने अवस्थामा पुगेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले निर्वाचनमा पार्टी भित्रैबाट आफूलाई हराउन प्रयास गरिएको, पार्टी नेतृत्वले रामजनम चौधरीलाई पार्टीको केन्द्रीय सदस्य बनाउन समेत अस्वीकार गरेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

नेता गच्छदारले लोकतन्त्रलाई बलियो बनाउन आफू कांग्रेसमा आए पनि पार्टी नेतृत्वले त्यसको उचित कदर नगरेकोमा आफूलाई दुःख लागेको प्रतिक्रिया पनि दिनुभयो ।

 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया