प्रधानमन्त्रीलाई गगन थापाको आग्रह : डाक्टर केसीलाई चिन्नुहोस्, उहाँसँग कुनै झण्डा छैन

 असार २५, २०७५ सोमबार १७:३८:३० | उज्यालो सहकर्मी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै उहाँले डाक्टर केसीले उठाएको माग व्यक्ति केन्द्रित र कुनै दल केन्द्रित नभएको भन्दै माग सम्बोधनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

उहाँले डाक्टर गोविन्द केसी सत्यको पक्षमा उभिएको पात्र भएको भन्दै भन्नुभयो, ‘उहाँको स्वास्थ्य बिग्रिएको छ । उहाँलाई चिन्नुहोस्, कुनै झण्डा उहाँसँग छैन । कुनै लोभ छैन । स्वार्थ छैन । केबल नसा छ । त्यो नसा नेपालको चिकित्सा शिक्षा सुधार गर्ने नसा । त्यो नसा कसैले नजरअन्दार गरेर उत्रँदैन । कसैले तर्साएर पनि उत्रँदैन । उहाँको माग सम्बोधन गरौँ । नेपाली कांग्रेस सरकारसँग मिलेर काम गर्न तयार छ । यसलाई छलफलको विषय नबनाऔँ ।’

उहाँले एक–दुई जना व्यक्तिको स्वार्थको विषयलाई छोडेर शिक्षामन्त्री र प्रधानमन्त्री अघि बढ्ने हो भने चिकित्सा शिक्षा विधेयक पास गर्न कांग्रेसले सघाउने बताउनुभयो ।


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया