निजी क्षेत्रका डाक्टरले धानेको डोटी जिल्ला अस्पताल

 साउन १४, २०७६ मंगलबार १५:२८:३ | विमल बिष्ट
unn.prixa.net

डोटी – चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको अस्पताल डोटीमा पछिल्लो समय गैह्रसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा सञ्चालन हुँदै आएको छ । 

अस्पतालमा नवौँ र दशौँ तहका दुईजना र मेडिकल अधिकृत दुई जना गरी कुल चार जनाको दरबन्दी भए पनि एकजना मेडिकल अधिकृत डा. भुषण मिश्र मात्रै कार्यरत हुनुहुन्छ । उहाँले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहनु भएको छ । अस्पतालमा सरकारी डाक्टर नभएपछि गैरसरकारी संस्था निक साइमन्स इन्टरनेशनलले दुई जना चिकित्सक उपलब्ध गराएको छ । जसमा एमडीजीबी डा. गिरीश अवस्थी र एमबीबीएस डा. खुसिद आलम खान रहेका छन् ।

अस्पतालमा दरबन्दीअनुसारका डाक्टर नहुँदा निकै समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. भूषण मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालमा दरबन्दीका डाक्टर छैनन्, संस्थाले खटाएका साथीहरु भएकाले केही सहज भएको छ, नत्र मलाई नै हम्मे हम्मे पर्थ्याे।’

अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक अभावका कारण स्वास्थ्य सेवा विस्तारमा समस्या अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा दरबन्दीअनुसारका डाक्टरको संख्या कमी भए पनि स्वास्थ्यकर्मीको दरबन्दी भने अहिले पूर्ण रहेको छ । त्यस्तै अस्पताललाई ५० सय्यामा स्तरोन्नति गर्न पर्याप्त संरचना बनेका भए पनि अस्पतालमा अहिलेसम्म जम्मा १५ सय्या मात्रै स्वीकृत छ ।

सरकारले ५० सय्याका अस्पताल बनाउने निर्णय गरे पनि निर्णय कार्यान्वयन हुन नसकेको स्थानीयको आरोप छ । उनीहरु भन्छन्, ‘सरकारले ५० सय्याको अस्पताल बनाउने भनेको छ तर यहाँ कसैले चासो देखाएन र बनेन पनि ।’ भौतिक पूर्वाधार तयार भएको रिपोर्टसहितको ५० सय्याको अस्पतालको मागसहितको फाइल स्वास्थ्य मन्त्रालय पुगेको वर्षाैं भए पनि सरकारी निकायबाट नै कार्यान्वयन गर्ने भन्ने आदेश नआएकाले ५० सय्याको अस्पताल बनाउन नसकिएको अस्पताल प्रशासनको दाबी छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अझै पनि एउटा राम्रो रेफरल हस्पिटल नभएकाले सरकारको तत्कालै ध्यान दिई अस्पतालको स्तरोन्नति गर्नुपर्ने जिल्ला अस्पताल डोटीमा कार्यरत डा. गिरीश अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संरचना तयार भइसकेको अस्पताललाई स्वीकृति प्रदान गर्न हिच्किचाउनु हुँदैन, स्वीकृित दिँदा राम्रो हुनेछ ।’ उहाँका अनुसार जिल्लामा राम्रो अस्पताल नभएकै कारण ९० प्रतिशत हाडजोर्नीका बिरामी भारत र नेपालगञ्ज रेफर गर्नुपर्ने अवस्था छ । त्यस्तै आईसीयूमा राख्नुपर्ने बिरामीले मृत्यूवरण गरिरहेको उहाँ बताउनु हुन्छ । 

संरचना तयार भइसक्दा पनि अस्पताललाई स्वीकृति नदिनु दुःखद भएको दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख पूर्णराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संरचना तयार भइसकेपछि यहाँको यहाँको स्वास्थ्य समस्या अनुसारको चिकित्सकीय सेवा दिनु राज्यको दायित्व हो र स्वीकृति पनि दिनु पर्छ ।’ 

यति मात्र नभई डोटीमा क्षेत्रीय अस्पताल निर्माणका लागि खरिद गरिएको जग्गा वर्षाैंदेखि अलपत्रमा परेको छ । दिपायल सिलगढी नगरपालिकाको बागठाँटामा रहेको क्षेत्रीय अस्पताल निर्माणका लागि खरिद गरिएको जमिन प्रयोगमा नआउँदा बर्सेनि गौचरणमा परिणत हुदै आएको छ ।

स्थानीयहरुले आफूहरुसँग माग गरिएको जग्गामा अस्पताल नबनाए जग्गा फिर्ता गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया