​आईपीएल क्रिकेट : दिल्लीको प्रदर्शनले तीन टिमलाई प्रभाव पार्ने

 जेठ ६, २०७५ आइतबार १४:५८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ६ – आईपीएल क्रिकेटमा लिग चरणका अन्तिम २ खेल आइतबार हुँदैछन् ।

यी खेलबाट प्लेअफ अर्थात अघिल्लो चरण प्रवेश गर्ने बाँकी एक टिमको टुंगो लाग्नेछ । मुम्बई राजस्थान र पञ्जावमध्ये एक टिमले प्लेअफमा स्थान बनाउनेछन् । चार टिम रहने प्लेअफमा हैदराबाद, चेन्नई र कोलकाता यसअघि नै प्लेअफ पुगिसकेका छन् ।

दिल्ली आईपीएलको अंकतालिकाको पुछारमा छ । जतिसुकै राम्रो खेले पनि त्यसले दिल्लीलाई अघिल्लो चरणमा पुर्याउने छैन । तर आइतबार दिल्लीको प्रदर्शनले तीनवटा टिमको भाग्य र भविष्यका लागि महत्वपूर्ण हुनेछ । रनरेट राम्रो भएकाले आइतबारको पहिलो खेलमा दिल्लीलाई हराए मुम्बइ प्लेअफमा पुग्नेछ । राजस्थान र पञ्जाव बाहिरिनेछन् । तर, दिल्लीले मुम्बईलाई जितेको अवस्थामा समिकरण रमाइलो हुनेछ । 

मुम्बइले हारेको अवस्थामा १४ खेलबाट १४ अंक बनाएको राजस्थानको सम्भावना बलियो हुनेछ । तर गणितीय रुपमा पञ्जावको पनि प्लेअफमा पुग्ने सम्भावना नसकिइसकेकाले आइतबारको दोश्रो खेललाई पनि पर्खनुपर्छ । यो खेलमा धेरै ठूलो अन्तरले विजयी भए पञ्जाब प्लेअफमा पुग्न सक्नेछ ।

भलै, यो सम्भावना निकै न्यून मात्रै रहेको क्रिकेट पण्डितहरु बताउँछन् ।  त्यसैले राजस्थान र पञ्जावले आज दिल्लीले मुम्बइलाई हराइदेओस् भनेर कामना गर्नुपर्नेछ । राजस्थानले त पहिलो खेलमा दिल्लीले जितोस् भन्ने मात्र होइन दोश्रोमा चेन्नइसंग पञ्जाव ठूलो अन्तरले विजयी नहोस भनेर पनि कामना गर्नुपर्नेछ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया