विश्व नेपाली : जसलाई 'भन के छ बन्दाेबस्त' ले शिखरमा पुर्‍यायाे

 साउन १५, २०७६ बुधबार १०:५१:४२ | मनोज दाहाल
unn.prixa.net

शिक्षण पेशामा आबद्ध भएर सांगीतिक यात्रालाई पनि सँगै लिएर हिँडेका गायक हुन्, विश्व नेपाली । कीर्तिपुरमा जन्मिएका उनी सानो उमेरदेखि नै गीत गाउन र सुन्न रुचाउँथे । 

सांगीतिक परिवारमा जन्म भएका कारण पनि उनलाई गायन क्षेत्रमा अघि बढ्न निकै सजिलो भयो । उनका हजुरबुवा कान्छामगर नेपाली सारङ्गी वादनसँगै गायनमा पनि उत्तिकै रुचि राख्ने गर्थे ।

उनका ठूलोबुवा रामशरण नेपालीले पनि आफूलाई सारङ्गी वादकका रुपमा स्थापित गर्न सफल भएका थिए । साथै उनी गायनमा पनि उत्तिकै रुचि राख्थे । 

त्यस्तै उनका बुबा बिवशरण नेपालीले पनि आफूलाई तबला वादकका रुपमा स्थापित गरेका थिए । यसरी संगीतले भरिएको परिवारमा जन्म लिन पाउँदा विश्व आफूलाई अत्यन्तै भाग्यमानी ठान्छन् । 

उनी ६ वर्षको हुँदा दाइले एउटा गीतको टुक्रा गाउन लगाएका थिए । त्यो गीतको टुक्रा गाएपछि सबैले उनको प्रशंसा गरे र त्यही प्रशंसा नै उनको जीवनको लक्ष्य बन्न पुग्यो ।

उनी कक्षा ४ मा पढ्दै गर्दा ‘राष्ट्रव्यापी बालगीत प्रतियोगिता’ को आयोजना भएको थियो । कार्यक्रममा उनले भाग लिँदै प्रथम स्थान हासिल गर्न सफल भए । त्यही प्रस्तुतिका कारण उनले विद्यालयमा निःशुल्क अध्ययन गर्ने अवसरसँगै ६ वर्षसम्म होस्टलमा बस्न पाउने अवसर प्राप्त गरे । 

विश्वले नेपाल टेलिभिजनबाट प्रसारण हुने सांगीतिक प्रतियोगिता ‘तिम्रो सुर मेरो गीत’ मा भाग लिए र त्यसमा पनि प्रथम स्थान हासिल गर्न सफल भए । उनले एसएलसी दिएपछि संगीता राणा प्रधानसँग झण्डै ४ वर्षसम्म शास्त्रीय संगीतको कक्षा लिए ।

एसएलसी सकिएलगत्तै विश्वले आनन्द राईको संगीतमा सम्मिश्रण एल्बममा एउटा गीत गाउने अवसर पाए । यसरी नै अघि बढ्दै गर्दा विसं २०६८ सालमा उनले एउटा सोलो एल्बम बजारमा लिएर आए । ‘उत्कृष्ट’ नामक एल्बममा रहेको ‘सबैलाई जित्ने’ बोलको गीतलाई दर्शकले निकै रुचाएका थिए । यो गीतले त्यस समयको विभिन्न अवार्डहरुसमेत जित्न सफल भएको थियो । 

त्यसपछि पुनः उनको अर्को कलेक्सन एल्बम बजारमा आयो । ‘रङ्ग’ नामक एल्बममा समावेश ‘भन के छ बन्दोबस्त’ बोलको गीतले उनको सांगीतिक यात्रालाई एकाएक माथि उठाइदियो । त्यही गीतले विश्व नेपाली धेरै दर्शकको मन र मष्तिष्कमा बस्न सफल भए ।  

पछिल्लो समय उनले गाएका ‘कवि देवकोटा,’ ‘मीठो साह्रै मीठो’ लगायतका गीत चर्चामा छन् । केही नयाँ गीत बजारमा लिएर आउने तयारीमा जुटेका नेपालीसँग केही रमाइलो कुराकानी गरेका छौँ । 

तपाइँलाई विशेषगरी कुन गीतले चिनाएको हो ?

मलाई विशेषगरी ‘भन के छ बन्दाेबस्त’ बोलको गीतले चिनाएको हो । त्यो व्यावसायिक गीतमध्येको एक हो । अहिलेको कुरा गर्दा ‘मीठो साह्रै मीठो’ भन्ने गीत हो ।

तपाईंको बाल्यकाल कस्तो थियो ?

बाल्यकाल निकै सामान्य थियो । म निकै साङ्गीतिक माहोलमा हुर्किएको हुँ । बुवाको विदेशी साथीहरु थिए, हामी उनीहरुलाई गीत गाएर सुनाउँथ्यौँ । परिवारबाट केही किसिमको दबाब कहिल्यै महसुस भएन ।

बालापनको कुराहरु सम्झिँदा कस्तो महसुस हुन्छ ?

त्यो समय निकै रमाइलो थियो । चाहेको कुराहरु पाउँथ्यौँ । तर पछि सबै जिम्मेवारी आउँदै गए पछि भने अलि व्यवहारिक भएको थिएँ । त्यो समयमा बुवाआमाले कतिको दुःख गरेर हामीलाई हुर्काउनु भएको रहेछ भनेर थाहा पाएँ ।

आमाबुवाबाट कहिल्यै पिटाइ खानुभयो कि भएन ?

अलि–अलि खाएँ । बुबा अलि कडा हुनुहुन्थ्यो । म बच्चामा चकचके थिएँ । सानो कुरामा चकचक गर्ने । एकदिन आमा लुगा धोइरहनुभएको थियो ।

त्यो बेला आमालाई बिथोलेर कामै गर्न नदिएपछि लुगा धोइराखेको डल्लो साबुनले मलाई हान्नुभएको छ । त्यसपछि मैले पिटाइ खाइनँ । बुबाको हातबाट भने मैले पिटाइ नै खाइनँ किनकि कक्षा ४ बाट नै म होस्टेल बस्न थालेको थिएँ  । 

घर नजिकै भए पनि होस्टेल किन बस्नुभयो ?

म पुष्पसदन बोर्डिङ स्कुलमा पढेको हुँ । म आफूलाई घरमै बसे बिग्रिन्छु र अनुशासनमा बस्नुपर्छ भन्ने लाग्थ्यो । विसं २०५५ सालमा ‘राष्ट्रव्यापी बाल प्रतियोगिता’ मा प्रथम भएको थिए । त्यहाँको प्रधानाध्यापकले मलाई छात्रवृत्ति दिनुभयो । कक्षा चारदेखि १० सम्म म होस्टेल बसेँ । शुक्रबार र शनिबार मलाई घर जाने अनुमति थियो । 

स्कुल पढ्दा तपाइँ कस्तो खालको विद्यार्थीमा गनिनु हुन्थ्यो ?  

स्कुल पढ्दा मेरो पढाइ मध्यम खालकै थियो । कलेजमा आफैँले अध्ययन गर्नुपर्छ भन्नेमा ध्यान गयो । म कक्षामा राम्रो विद्यार्थीमा नै गनिन्थेँ ।

कक्षामा कत्तिको रमाइलो हुन्थ्यो ?

(लामो हाँसो...) एकदमै रमाइलो हुन्थ्यो । अहिले पनि त्यो समय सपनाजस्तो लाग्छ । त्यो समय अहिले छैन । जुन किसिमको अत्मीयपन पहिला हुन्थ्यो, त्यस्तो अहिले हुँदैन । शनिबार हुनेबितिक्कै नयाँ गीत सुनौँ भन्नुहुन्थ्यो र त्यही कारण पनि मेरो हौसला बढिरह्यो । 

होस्टेलमा गरेको कुन चाहिँ बदमासीको याद अझै पनि आउँछ?

हाम्रो समयमा प्रधानाध्यापक शिक्षिका हुनुहुन्थ्यो, अहिलेको वार्डन जस्तो । साँझ हामी सुतिसेकपछि पनि उहाँ चेक गर्न आउनुहुन्थ्यो, निकै कडा । थाहा नपाउने किसिमले आउनु हुन्थ्यो । सबै जना उहाँसँग डराउँथे । एकदिन हामीलाई सुत्न पठाएको बेलामा म भुइँमा उफ्रिरहेको थिएँ । तर उहाँले थाहा पाउनुभएछ ।

उहाँ माथि आएपछि हामीले सुतेको नाटक गर्यौँ । एक जना साथी हाँसिरहेको थियो । उहाँले थाहा पाउनु भयो र उसलाई सजाय दिनुभयो । अनि ऊ फस्यो, रातभरि उसले घुँडा टेकेर बस्नुपर्‍यो । पछि साथी मसँग रिसायो । यो कक्षा ६ पढ्दाको कुरा हो ।   

युवा अवस्थामा तपाइँ कस्तो हुनुहुन्थ्यो ?

बदमास भनेको त्यस्तो बदमास पनि होइन तर मलाई चकचक गरिरहन मन लाग्थ्यो । मेरो एक जना मनिष भन्ने नेवार साथी थियो । स्कुलमा हाम्रो एक जना सर हुनुहुन्थ्यो, उहाँको स्वर सुन्नेबित्तिकै हाँसो उठ्ने ।

सरले जे पढाउँदा पनि हामी हाँसेको हाँसै हुन्थ्यौँ । त्यसले गर्दा मैले एक पटक प्रधानाध्यापकबाट गाली पनि खाएँ । अहिले सम्झिँदा पनि मलाई निकै हाँसो उठ्छ । हामी सरहरुको रमाइलो नाम लिएर र इशारा गरेर उहाँहरुलाई जिस्काउने गथ्यौैँ, त्यो चाहिँ रमाइलो लाग्थ्यो । 

स्कुल पढ्दा कसैसँग नाम जोडिएको थियो कि थिएन ?

मसँग भने कसैले त्यसरी नाम जोडेको छैन । हामी अलि राम्रो पढ्नुपर्छ भनेर अलि चिन्तित नै थियौँ । त्यो समयमा हात काट्ने, पत्र पठाउने चलन थियो ।

तर हाम्रो प्रधानाध्यापक निकै कडा हुनुहुन्थ्यो । जसरी भए पनि थाहा पाउनु हुन्थ्यो । उहाँले अभिभावक बोलाएर हुन्छ कि सम्झाएर हुन्छ, सबैलाई ठाँउमा राख्नुभयो । म भने त्यो कुरामा कहिले पनि परिनँ ।   

तपाइँलाई कति जनाले प्रेम प्रस्ताव राख्नुभयो ?

मलाई एक दुई जनाले प्रेम प्रस्ताव राख्नुभएको थियो । तर म पढाइ र करियरप्रति अलि बढी चिन्तित थिएँ । त्यतातिर मैले ध्यान दिइनँ।   

अहिलेको युवा पुस्तालाई सतर्क रहन के सल्लाह दिनुुहुन्छ ?

यो सबै कुरा आफ्नो मनलाई कतातिर लिएर जाने भन्ने कुरामा भर पर्छ । मैले के गर्छु र मैले के गर्नुपर्छ भन्ने कुरा मनमा ल्याउनुपर्छ । विशेषगरी करियर र पढाइमा अलि ध्यान दिन सकियो भने यो सबै कुरा सहज हुन सक्छ । मैले त्यो बेला यही कुरा मनमा राखेँ । मन चञ्चल हुन्छ तर आफ्नो लागि के सही हो, के गलत हो भनेर सोच्न निकै जरुरी छ । यही सल्लाह दिन चाहन्छु ।   

त्यो बेला तपाइँको अभिभावकसँगको सम्बन्ध कस्तो थियो ?

साथीजस्तो नाता हुनुपर्छ । युवा अवस्थामा आफू मात्र सही अरु गलत भन्नेजस्तो लाग्छ । आफूले सर्वस्व बुझेको छु झैँ हुन्छ । तर जब बुझ्ने भइन्छ, पहिलेका ती कुराहरु सम्झनामा आउँछन् । त्यो बेला अभिभावक साथी झैँ हुनुपर्छ । युवा पुस्ताको मनस्थिति बुझेर अगाडि बढ्नुपर्छ । 

तपाइँको करियरलाई लिएर बुवाआमाको कस्तो भूमिका रह्यो ?

यो क्षेत्रको बारेमा मेरो आमालाई त्यति ज्ञान थिएन । बुबाले भने यस्तो–यस्तो गीत सुन, यस्तो गीत गर भनेर आफूसँगै राखेर तबला सिकाउनु हुन्थ्यो । जसले गर्दा मेरो आत्मविश्वास बढ्दै गयो । अहिले पनि हौसला दिनुहुन्छ । मैले धेरै कार्यक्रम बुवासँगै स्टेजमा गरेको पनि छु । 

सानोमा गायकीलाई कसरी अगाडि बढाउनु भयो ?

म सानोमा एकदमै छिटो बोल्ने गर्थेँ । आफूले बोलेको आफूले नै बुझ्दैनथेँ । मलाई सानोमा निकै भकभकाउने समस्या थियो । अहिले पनि कुनै कुनै शब्द मलाई उच्चारण गर्न गाह्रो लाग्छ । बिस्तारै मैले स्टेज शोहरु गर्दै गए र मेरो बोल्ने शैली सुध्रिदैँ गयो । त्यसले गर्दा अझै सजिलो भयो ।

गायकीमा त्यस्तो हुँदैन ?

गीत गाउँदा भने मलाई त्यस्तो हुँदैन । बोल्दा भने अलि समस्या हुन्छ । धेरैलाई यो कुरा थाहा छैन । 

गायक बन्न चाहाने साथीहरुलाई के भन्न चाहनुहुन्छ ?

गायकीमा आउन स्वर हुनुपर्छ । जति गीत सुन्यो, त्यति ज्ञान बढ्छ । आजकाल मान्छेहरुले युट्यूबबाट निकै कुराहरु सिक्न पाउँछन् । त्यो भयो भने ज्ञान हुन्छ । त्यहाँबाट ज्ञान लिन सकिन्छ । 

गायकीमा आउन चाहने तर अभिभावकले नमान्नु भएको साथीहरुलाई के भन्नुहुन्छ ?

त्यो बेला अभिभावकले बुझ्नुपर्छ । हाम्रो देशको नाम पढाइको दाँजोमा कलाकार र खेलाडीले धेरै राख्नुभएको छ । हिजोको दिनमा अवसर थिएन, आम्दानीको स्रोत थिएन । अहिले जुनसुकै क्षेत्रमा भए पनि बाँच्न सक्ने वातावरण छ । आजभोलि मान्छेहरु डिग्री गरेर बेरोजगार भएर हिँडेको हामीले देख्न सक्छौँ । 

मान्छेमा खुबी छ भने देश विदेशमा गएर नामको साथै दाम पनि कमाउन सक्छ । सङ्गीत फेरि एउटा यस्तो माध्यम हो, जसलाई सबैले मन पराउँछन् । मैले यो क्षेत्र अँगालेकोमा खुशी छु । अभिभावकहरुले पनि रुची भएको क्षेत्रमा आफ्नो छोरीछोरीलाई काम गर्न दिनुपर्छ । त्यो भयो भने मान्छे कहिले पनि तनावमा हुँदैन । त्यो मान्छेले निकै नाम कमाउँछ । 

उज्यालाे र गफगाफकाे सहकार्य 

अन्तिम अपडेट: चैत १५, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया