शेयर लगानीकर्ता र अर्थ मन्त्रालयबीच सहमति,  औसत मूल्यमा लाभकर गणना गरिने

 साउन १५, २०७६ बुधबार १४:११:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर - मेराे लगानी

काठमाण्डौ – शेयर कारोबारमा पूँजीगत लाभकर गणनाको विवाद सकिएको छ ।

अर्थ मन्त्रालयमा बुधबार लगानीकर्ता संघका प्रतिनिधि र मन्त्रालयका सहसचिव तथा वित्तीय व्यवस्थापन महाशाखाका प्रमुख तोयम रायाबीच भएको सहमतिअनुसार २०५८ सालदेखि २०७६ सालको असार मसान्तसम्म भएको कारोबारको औसत मूल्य निकाल्ने र त्यसैका आधारमा लाभकरको गणना गरिने छ ।

‘पहिले पनि खासै समस्या त थिएन, त्यही पनि आज लगानीकर्ताहरुसँग औसतमा मूल्य निकालेर लाभकर निकाल्ने सम्झौता भएको छ, कुरा मिलेपछि लगानीकर्ताहरु मन्त्रालयबाट निस्किएका छन् ।’ सहसचिव रायले उज्यालो अनलाइनसँग भन्नुभयो ।

मन्त्रालयले धितोपत्र बोर्डलाई लगानीकर्ताहरुसँगको सहमतीअनुसार औसत मूल्य निकालेर कर निर्धारणको विधि अपनाउन निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयमा भएको छलफलमा पाँच ओटै लगानीकर्ताका संघका प्रतिनिधि, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरि, सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्तालगायतको उपस्थिति थियो ।

सहमतिअनुसार असार यता बिक्री भएका शेयरको लागत भारित औसतभन्दा कम भएमा कर तिर्नु पर्ने छैन भने साउनदेखि भएका कारोबारमा वास्तविक मूल्यमै कर निर्धारण हुनेछ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया