'सफल मन्त्री' हुन योगेश भट्टराईले यी काम गर्नु पर्नेछ

 साउन १५, २०७६ बुधबार १९:५३:५६ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – रवीन्द्र अधिकारीको निधन भएको पाँच महिनापछि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बल्ल नयाँ मन्त्री पाएको छ । 

दिवंगत मन्त्री अधिकारी जस्तै आशालाग्दा युवा नेता योगेश भट्टराईलाई मन्त्री पाएको मन्त्रालयसँग थुप्रै चुनौती छन् । यी चुनौती वहन गर्ने जिम्मा नवनियुक्त मन्त्री योगेश भट्टराईको काँधमा आएको छ । काँधमा आएका जिम्मेवारी पूरा गरेमा मात्रै युवा नेता भट्टराई मन्त्री हुनुले सार्थकता पाउनेछ ।

मन्त्री भट्टराईले के–के गर्नुपर्छ त ?

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्दा युवा नेता भट्टराईको अनुहारमा चमक त थियो नै, त्योभन्दा पनि उहाँमा चुनौतीको डर पनि देखिन्थ्यो । पत्रकार सम्मेलनमा उहाँले पटक–पटक भावुक हुँदै भन्नुभयो, ‘मेरा मित्र रवीन्द्र अधिकारीको असामयिक निधनपछि मैले उहाँले लिएको जिम्मेवारी सम्हालेको छु, यसलाई पूरा गर्नु मेरो दायित्व हुनेछ र यो चुनौतीपूर्ण पनि छ ।’

‘नेपाल भ्रमण वर्ष’ सफल बनाउने चुनौती

नवनियुक्त मन्त्री भट्टराईसामु सबैभन्दा ठूलो चुनौती त ‘नेपाल भ्रमण वर्ष–२०२०’ नै हो । गएको वर्ष झण्डै ११ लाख पर्यटक मात्रै नेपाल आएका छन्, तर आउँदो अंग्रेजी वर्षमा २० लाख पर्यटक नेपाल ल्याउने योजना चानचुने होइन ।

अहिले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यलाई नेपाल भ्रमण वर्षको संयोजक बनाएर औपचारिकता जस्तो मात्रै बनाएको अभियानलाई देशव्यापी बनाउनुपर्नेछ । अहिलेसम्म पर्यटन मन्त्रालय र पर्यटन बोर्ड अनि नेपाल भ्रमण वर्षको सचिवालयको मात्रै जिम्मेवारी जस्तो देखिएको यो अभियानलाई देशका कुनाकाप्चामा पुर्‍याउनुपर्ने दायित्व मन्त्री भट्टराईको काँधमा छ । 

वायु सेवा निगमको सुधार

अर्को ठूलो चुनौती नेपाल वायुसेवा निगमको सुधार हो । २४ अर्ब रुपैयाँभन्दा धेरै रकम खर्चेर ल्याएका २ वटा वाइडबडी जहाजलाई कोरिया, जापान, चीनलगायतका गन्तव्यमा उडान भरेर नाफामा लैजानु र निगमको ऋण तिर्न पहल गर्नुपर्नेछ । निगमको कमजोर व्यवस्थापनलाई चुस्त बनाउनुपर्नेछ । 

‘अहिले नेपाल एअरलाइन्सका विषयमा जुन खाले टिप्पणी आइरहेका छन्, त्यसलाई बदलेर ‘वाह ! नेपाल एअरलाइन्स’ भन्ने बनाउनुपर्नेछ, त्यसको लागि सबै मिलेर काम गर्नुपर्छ ।’ मन्त्री भट्टराईका यी कुरा काममा देखिए नेपाल वायु सेवा निगमलाई मात्रै होइन, नागरिकले ‘वाह ! मन्त्रीज्यू’ नै भन्नेछन् ।

यस्तै चीनबाट भाडामा ल्याएर थन्काइएका वाई–१२ जहाज उडाएर आन्तरिक बजार बलियो बनाउनुपर्ने चुनौती पनि मन्त्री भट्टराईको काँधमा छ । युरोपमा नेपाली विमान प्रवेश पाउँदैनन, त्यो प्रतिबन्ध हटाउने विषय पनि चुनौती नै रहेको छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल आउँदो पुससम्म निर्माण सम्पन्न हुनेछ, तर त्यसका लागि मन्त्रीले घच्घच्याउनु पर्नेछ । निर्माण सकिए पनि विमानस्थल कस्ले चलाउने टुंगो नभएकाले यो विषय टुंगो लगाउनुपर्नेछ । सरकारले जी टू जी मोडलमा यो विमानस्थल सञ्चालन गर्ने निर्णय गरेकाले विदेशका सरकारी कम्पनी छान्नुपर्नेछ । 

नेपाल नागरिक उडड्यन प्राधिकरण क्यानलाई टुक्राएर नियमनकारी र सेवा प्रदायक संस्था बनाउनुपर्ने जिम्मेवारी पनि मन्त्री भट्टराईले नै पूरा गर्नुपर्नेछ । युरोपेली युनियनले नेपाललाई  लगाएको प्रतिबन्ध फुकुवा गर्न क्यान टुक्राउने विषयलाई मुख्य सर्त राखेकाले यसमा मन्त्री भट्टराईले कुशल नेतृत्व देखाउनुपर्नेछ । यसका लागि ऐन बनाउन मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ ।

यस्तै सुरु नै नभएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम सुरु गर्नुपर्नेछ । रुख कटानको विवाद अझै पनि समाधान भएको छैन भने लगानी जुटाउने र कुन मोडलमा बनाउने भन्ने पनि निर्णय भएको छैन ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई बुटिक विमानस्थल बनाउने लगायतका कैयौँ काम मन्त्री भट्टराईले गर्नुपर्ने देखिन्छ  ।

देशभित्रका ट्रेकिङ रुट, गत वर्ष घोषणा भएका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यको पूर्वाधार विस्तार लगायतका काममा पनि नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले विशेष ध्यान दिएर काम गर्नुपर्ने छ ।

यस्तै पुरातात्विक सम्पदा बिग्रँदै गएकाले युनेस्कोले विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी दिएको छ । त्यसैले पुरातात्विक सम्पदाको संरक्षण गरेर विश्व सम्पदा सूचीबाट हट्न नदिन पनि उहाँकै  प्रमुख दायित्व हुनेछ ।

बिग्रँदै गएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सही दिशा दिने क्रममा तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको दुघर्टनामा ज्यान गएपछि धेरै काम अधुरा छन् । अधुरा काम पूरा गरेर पर्यटन क्षेत्र चलायमान बनाएमा मात्रै योगेश भट्टराईको कार्यकाल सफल हुनेछ । 

सम्बन्धित समाचार

अन्तिम अपडेट: फागुन २८, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया