स्तनपान : यसकारण आमा र बच्चा दुवैलाई फाइदा

 साउन १६, २०७६ बिहिबार ७:१:१४ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डौ बिहीबारदेखि स्तनपान सप्ताह सुरु भएको छ । आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म यो दिवस मनाउने गरिन्छ । स्तनपान र यसको महत्व :

गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौती दूध बच्चाका लागि अमृत समान हुन्छ, जसले बच्चामा धेरै रोगहरूसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ ।

जन्मेपछि स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो ।

स्तनपान गराउने तरिका 

– सबैभन्दा पहिला शिशुले दुधको निप्पल तथा कालो भाग मुखभित्रै छिरेको हुनुपर्छ । 
– दुध पिएको आवाज आउनु पर्छ ।
– शिशु आनन्दले बसेको हुनुपर्छ । 
– दिउँसो कम्तिमा पनि दुई दुई घण्टाको फरकमा खुवाउनु पर्छ  । 
– खान खोजे १ घण्टामा पनि खुवाउनु पर्छ । 
– रातिमा तीनदेखि चार घण्टाको फरकमा खुवाउनैपर्छ ।

ध्यान दिनुपर्ने कुरा :

१. सकेसम्म आमाले निहुरिएर स्तनपान गराउनु हुँदैन । यसरी स्तनपान गराउँदा बच्चाको कानमा दूध पस्ने सम्भावना हुन्छ ।

२. आमाले सुतेर पनि स्तनपान गराउनु हुन्न । सुतेर स्तनपान गराउँदा आमाको स्तनले नाक थुनिएर सास फेर्न गाह्रो भई बच्चाको मृत्यु समेत हुनसक्छ ।

३. दूध खाइसकेपछि बच्चालाई माथि उठाएर डकार गराउनु पर्छ । बच्चाले दूधसँगै हावा पनि तान्ने भएकाले डकार्दा हावा बाहिर फालिन्छ, अनि खाएको दूध स्वच्छ भई बान्ता हुनबाट पनि रोकिन्छ ।

४. राति बच्चालाई सुताउँदा बच्चाको मुखमा निप्पल राखिराख्नु हँुदैन । यसले संक्रमण गराउन सक्छ ।

५. स्तन वरपर घाउ, खटिरा आएमा त्यही स्तन निचोरेर दूध लगाएमा औषधिको काम गर्ने गर्छ ।

६. बच्चाले दूध चुस्न नसके स्तन निचोर्नुपर्छ । नत्र डल्लो पर्ने पाक्ने सम्भावना हुन्छ ।

७. समय नपुगी जन्मेको बच्चालाई धेरै समय बसेको आमाको दूध खुवाउनु हुँदैन । त्यो  दूध निकै बाक्लो हुने भएकाले एकैपटक बच्चाले पचाउन सक्दैन । सुरुको दूध फालेर मात्रै खुवाउनुपर्छ ।

८. सकेसम्म बोतलको दूध बच्चालाई खुवाउनु हुँदैन । खुवाउनै पर्ने बाध्यता भए चम्चामार्फत खुवाउनुपर्छ । किनकी बोतलको सरसफाई नपुगेमा बच्चालाई संक्रमण भई डाएरिया भैरहने र ईन्फेक्सन हुनसक्छ ।  

९. यदि आमाको दूध नआएमा गाई भैंसीको दूध खुवाउने गर्नुपर्छ । सकेसम्म बजारको दूध खुवाउनु हुन्न । 

स्तनपानले आमालाई हुने फाइदा 

आमाले जति धेरैपटक शिशुलाई दूध चुसाउँछिन्, त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ । 

हर्माेनको गडबढीलाई सन्तुलन हन्छ ।

स्तनपानले शिशुका लागि स्वास्थ्य रक्षाको कामसमेत गर्दछ ।

पाठेघरको समस्या हुने संभावना कम हुन्छ । 

नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन । उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्छन् ।

आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्व दिन्छ । 

आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्छन् ।

बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले प्रतिरोधात्मक तत्वहरु बनाउँछ ।

यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ । यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन् ।

छदेखि आठ महिनासम्म शिशुहरूका लागि आमाको दूध जीवन रक्षक आहार मानिन्छ ।
 
स्तनपान सम्बन्धी गलत धारणा 

केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइए पनि यो सत्य भने होइन । 

शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुस हुन्छ । 

त्यसैगरी उनले मानसिक रूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टिसमेत प्राप्त हुन्छ ।

(मेडिसिटी अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर विनयराज भण्डारीसँग गरेको कुराकानीमा आधारित )
 

अन्तिम अपडेट: चैत १५, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया