मलेसियामा अवैधानिक रुपमा बसेकालाई घर फर्कने बाटो खुल्यो

 साउन १६, २०७६ बिहिबार ११:४९:२६ | बेदानन्द जाेशी

काठमाण्डौ – विभिन्न कारणले मलेसियामा अवैधानिक भएर बसेका नेपालीसहित सबै विदेशी नागरिकलाई त्यहाँको सरकारले आज बिहीबारदेखि घर फर्किने अवसर दिएको छ । आज अगस्ट १ देखि आउँदो डिसेम्बर  ३१ तारिखसम्मको लागि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिइएको हो । 

मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गूड’ कार्यक्रममार्फत अवैधानिक रुपमा बसेका सबै विदेशी नागरिक यसमा समावेश भएर स्वदेश फर्किन पाउनेछन् । 

भिसा र पासपोर्टको म्याद सकिएर अवैधानिक रुपमा मलेसियामा बसिरहेका सबैले यो समयभित्र आ–आफ्नो देश फर्किसक्नुपर्नेछ ।

यो कार्यक्रम अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली कामदारको लागि निकै ठूलो अवसर भएको मलेसियास्थित नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले बताउनुभयो । 

‘नेपाली कामदारको मागअनुसार हामी लगायत अरु देशका दूतावसहरुको पहलमा मलेसियन सरकारसँग सल्लाह गरेर यो कार्यक्रम ल्याएका हौं’ उहाँले भन्नुभयो, ‘यसले अवैधानिक रुपमा बसेर रहेका कामदारलाई ठूलो राहत मिल्नेछ ।’

इमिग्रेसनका ओभरस्टेबाहेकका अरु समस्यालाई यसले सम्बोधन नगर्ने पनि उहाँले प्रष्ट पार्नुभयो ।

कामदारले स्वदेश फर्किनको लागि मलेसियन सरकारलाई जरिवानास्वरुप ७ सय रिंगिट र राहदानी नभएकाहरुले एकतर्फी यात्रा अनुमति पत्रको लागि १६० रिंगिट तिर्नुपर्ने हुन्छ । 

एकतर्फी यात्रा अनुमति पत्र बनाएर  मलेसिया सरकारले तोकेको अध्यागमन कार्यालय जानुपर्छ । 

त्यहाँ गएर आवेदन दिन नेपाल फिर्ता हुने हवाई टिकटको प्रतिलिपि अनिवार्य लैजानुपर्ने हुन्छ । नेपाल फिर्ता हुने हवाई टिकटमा नेपाल जाने मिति अध्यागमन कार्यालय गएको ७ दिनभित्रको हुनुपर्नेछ ।

अध्यागमनमा जाँदा व्यक्ति स्वयं नै उपस्थित हुनुपर्छ । व्यक्ति स्वयं उपस्थित हुन नसक्ने अवस्थामा दूतावासको मान्छे आउनुपर्ने हुन्छ । तर तेस्रो पक्षलाई नल्याउन दूतावासको आग्रह छ । 

बिचौलियाबाट जोगिन आग्रह

आवेदन भरिदिने तथा सस्तोमा नेपाल फर्काइदिन्छु भन्दै ठूलो रकम असुल्नेहरुको बिगबिगी हुने भएकोले त्यसबाट जोगिन दूतावासले सचेत गराएको छ ।

‘विगतमा यही कार्यक्रममा ठगी भएका थुप्रै घटना आएका थिए, यो वर्ष त्यस्तो नहोस भन्नेमा हामी लागि परेका छौँ’, दूतावासका अर्का द्वितीय सचिव प्रतिक कार्कीले भन्नुभयो, ‘फारम दूतावासले निःशुल्क भरिदिन्छ, जरिवानास्वरुप मलेसियन दूतावासलाई ७ सय रिंगिट, ट्राभल डकुमेन्टको १ सय ६० रिंगिट भन्दा बढी नदिनुहोला, हवाइजहाज टिकट आफैंले काट्नुर्छ ।’

भिसाको म्याद सकिएर अवैधानिक भएकाहरुलाई बाटोमा भेटाए प्रहरीले समातेको खण्डमा मलेसियाले ल्याएको यो कार्यक्रम र आफू त्यसैको लागि जान लागेको कुरा खुलेर भन्न दूतावासले आग्रह गरेको छ ।

आफूले सम्झाउँदा सम्झाउदै पनि यदि प्रहरीले समात्यो भने दूतावासको हटलाइन ०१६२४७२७७७र०३२०२०१८९८२०२०१८९९र०३२०२०१९०१सम्पर्क गर्न सकिन्छ ।
आममाफी प्रक्रियामा कसरी सहभागी हुने ?

तपाईं मलेसियामा हुनुहुन्छ र अवैधानिक रुपमा बसिरहनुभएको छ भने यो ठूलो अवसर हो । पोहोरजस्तै यसपालि पनि मलेसिया सरकारले घर फिर्तीको लागि मौका दिएको छ । घर फर्कनको लागि अपनाउनुपर्ने प्रक्रिया :

यदि राहदानी छ, तर भिसा सकिएको छ भने सात दिन म्याद भएको हवाईटिकट खरिद गर्नुपर्छ ।

यदि राहदानीको म्याद सकिएको छ वा राहदानी र भिसा दुवै छैन भने नेपाली दूतावासमा सम्पर्क गरेर अनुमतिपत्र बनाउन सकिन्छ । यी सबै काम गर्नको लागि मलेसियामा रहेको अध्यागमन कार्यालयमा जानुपर्ने हुन्छ ।

त्यहाँ गएर सुरुमा सोधपुछ काउण्टरमा गएर कागजात जाँच गराउनुपर्ने हुन्छ । सबै कागजात ठिक भएमा टोकन पाइन्छ । त्यो टोकन लिएर ‘प्रोसेसिङ काउण्टर’मा कागजात पेश गर्नुपर्छ ।

त्यसपछि तपाईंको नाम सिस्टममा छ कि छैन हेरिन्छ । त्यहाँ तपाईंको डाटा राखिन्छ । त्यहाँ औँलाको छाप दिनुपर्ने हुन्छ र तपाईंको फोटो पनि खिचिन्छ ।
त्यसपछि जरिवानास्वरुप तपाईले ७ सय मलेसियन रिंगिट तिर्नुपर्ने हुन्छ । त्यसको रसिद लिन भुल्नु हुँदैन ।

स्पेसल पास र चेक आउट मेमो लिएपछि तपाईँको काम सकिन्छ । त्यसपछि नेपाल जाने तयारीमा लाग्नुपर्छ ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया