सुरेन्द्र केसी ‘मुलाकाे साग’: कमाउन साउदी र काेरिया, कलाकारिताकाे मायाले फेरि नेपाल

 साउन १६, २०७६ बिहिबार १३:४७:३२ | मनोज दाहाल
unn.prixa.net

ललितपुरको सानेपामा जन्मिएका सुरेन्द्र के.सी.लाई ‘मुलाको साग’भनेर पनि चिनिन्छ ।

हास्य श्रृंखला मेरी बास्सैबाट उनले बोल्ने थेगो ‘मुलाको साग’ नै  उनको उपनाम रहन गयो । अहिले उनलाई उनको नाम भन्दा पनि ‘मुलाको साग’भनेर चिन्ने नै धेरै छन् । बाल्यकालदेखि नै मादल,बज्नासाथ नाच्न सुरु गरिहाल्ने उनी गीतसंगीत अनि नाट्य क्षेत्रमा अभिरुची राख्थे । वि.सं. २०४१ सालमा परिभाषा नामक टेलिचलचित्रमा अभिनय गर्ने मौका पाएका केसीले हर्के हल्दार, ब्रेक फेल, मेरीबास्सैलगायत विभिन्न हास्य टेलिचलचित्रहरुमा काम गरिसकेका छन् ।

उनले विभिन्न नेपाली चलचित्रहरुमा समेत काम गरिसकेका छन् । यतिबेला भने उनी नेपाली चलचित्र लक्का जवानको निर्माणमा जुटेका छन् ।  यसैबीच हामीले हास्य कलाकार सुरेन्द्र केसी र उनकी श्रीमती गीता केसीसँग रमाइलाे कुराकानी गरेका छौँ । 

तपाईँहरुको बिहे भएको कति भयो ?

गीता –  करिब ३६ वर्ष भयो ।

भाउजुसँगको यो लामो वैवाहिक यात्रा कस्तो रहयो ?

सुरेन्द्र – असाध्यै राम्रो । मैले बिहान पूजा गर्दा पनि हे भगवान अर्को जुनिमा पनि मलाई श्रीमतीको नाममा यिनि नै पठाइदिनु भनेर प्रार्थना गर्छु ।

तपाईँहरुको बिहेे हुँदा तपाईँहरु कति वर्षकाे हुनुहुन्थ्याे?

सुरेन्द्र – यीनि १५ वर्षकी थिइन्, म १६ वर्षको थिएँ ।

किन यति सानो उमेरमा ?

सुरेन्द्र – म घरकाे एक्लो छोरो हुँ । एकजना दिदी अनि एकजना बहिनी हुनुहुन्थ्यो । दिदी पनि जागिर खान जानुहुन्थ्यो । बाबा आमा पनि जागिरे, त्यसले गर्दा घरमा अर्को एकजना सदस्यको कमी भएजस्तो लाग्यो । अनि बुबाले बिवाह गर् अब भन्नुभयो । मैले बुबाको कुरालाई कहिल्यै पनि नाईँ भनिनँ । त्यसैले हुन्छ भनेँ र यसरी नै बिहे भयो ।

१५ वर्षको उमेरमा बिेह गरेर आएर तपाईँलाई घर सम्हाल्न कत्तिको गाह्रो भयो ?

गीता – एकदमै धेरै गाह्रो भयो । सजिलो थिएन ।  त्यो बेलाको समयमा १५ वर्षको उमेर के नै बुझेको हुन्थ्याे र ? विस्तारै सबै कुरा बुझ्दै गइयो ।

तपाईँ आफ्नै ईच्छाले नै बिहे गर्नुभएको थियो कि परिवारकाे करले?

गीता – ईच्छाभन्दा पनि परिवारकै दबाबमा गरेको हो । त्यतिबेला  परिवारले भनेको मान्नै पर्थ्याे ।

बिहे गरेको कति वर्षपछि तपाईँले सजिलाे महसुस गर्नुभयो ?

गीता – धेरै नै दुःख गरियो । अहिले आएर अलि सजिलो भएको जस्तो भएको छ । 

आफ्नो जीवनसाथीको मायाले कति दुःख बिर्सिन्छ भनिन्छ । तपाईँलाई त्यसकाे अनुभूति कत्तिको भयो ?

गीता – उहाँले त्यो बेलामा माया गर्न जान्नु हुन्नथ्याे ।

सुरेन्द्र – यसकाे जवाफ म दिन्छु । त्यतिबेला मलाई कलाकार बन्ने भूत सवार थियो भने माहोल पनि अलि अप्ठ्यारो नै थियो । घरबाट पनि सपाेर्ट थिएन । अनि पछि बच्चा बच्ची भए । बच्चाहरुको केही पनि अभाव पूर्ति गर्न सकिएन, यिनको त कुरै छोडौँ । हाम्रा एउटा छोरी र दुईवटी छोरा छन् । कस्तोसम्म भएको थियो भने एउटा फरिया धोएर त्यो नसुकुञ्जेलसम्म ताैलिया बेरेर सुकेपछि त्यही फरिया लगाउनु पर्ने अवस्था समेत आएको थियो । किनभने मेरो कमाइ केही पनि थिएन ।

लोग्ने बिहान उठेर सुटिङ भनेर हिँडेर एक्कैचोटी राति बाह्र एक बजेतिर आउँछ अनि कहाँबाट पाउनु माया, कहाँबाट पाउनु साथ । साह्रै कठिनसँग बितेको छ मेरो बुढीको जिन्दगी ।

सुरेन्द्र – मुलाको सागको नामबाट हिट हुनु अघि तपाईँको आम्दानी कस्तो थियो ?

धेरै हुँदैनथ्याे, अलि अलि हुन्थ्यो । म फेरि परिवार खुशी हुन्छ भने बगली नै रित्याइदिन तयार हुने कस्तो खालको मान्छे हुँ ।आम्दानी हुन थालेपछि बल्ल बाबा–आमा, बाल–बच्चा, श्रीमती सबैका इच्छा चाहनाहरु पुरा गर्न थालेँ ।

श्रीमानले कलाकारिता छाडेर अरु नै काम गरे हु्न्थ्यो भन्ने लागेन ? 

गीता – त्यो समय त मलाई एकदमै लाग्थ्यो । किनभने त्यो बेलामा केही पनि थिएन नि त  । त्यही भएर यो लाइनमा नलागेकाे भए पनि हुन्थ्यो भन्ने त लाग्थ्यो । मैले उहाँलाई धेरै पटक भनेको पनि थिएँ । यो पेशा छाडेर अर्को केही काम गरौँ भनेर । तर, उहाँले मेरो कुरा कहिले पनि सुन्न नै चाहनुभएन ।

सुरेन्द्र – उनले मलाई यो क्षेत्रमा नलाग्नु भनेर धेरै नै सम्झाउने गर्थिन्  । त्यतिबेला खानै नपाउने अवस्था पनि थिएन किनभने मेरो बाबाले पाटन हस्पिटलमा कम्पाउन्डरको काम गर्नुहुन्थ्यो । उहाँको पनि सीमित भए पनि कमाइ हुन्थ्यो नै । श्रीमतीले भनेको भन्यै गरेर मैले त्यो बीचमा टेलिकम्युनिकेसनमा काम गरेँ र पछि पाटन औद्याेगिक क्षेत्रमा पनि जागिर खाएँ ।

तर कलाकारिताको भूतले गर्दा म टिक्न सकिनँ । अब हुँदै हुँदैन भनेर म काम गर्न साउदी अरब पनि गएँ र दुईवर्ष त्यता काम गरेँ । साउदी हुँदा मैले लगभग ७० हजार रुपैयाँ कमाएको थिएँ  । नेपाल फर्किएपछि फेरि अभिनय नै सुरु गरेँ । फेरि पनि कलाकारिताको क्षेत्रबाट आम्दानी भएन र कोरिया गएँ । छ महिना काम गरेँ, नेपाल आएँ, फेरि कोरीया नै गएँ र त्यहाँ चार वर्ष बसेँ । अनि त्यसपछि कलाकारिताको क्षेत्रमा नै राम्रो हुन थाल्यो । जे होस अहिले श्रीमती जी खुशी हुनुहुन्छ ।

छोरीको बिहे कति वर्षमा गरिदिनु भयो ?

गीता – बीस वर्षमा । ढिलो गर्ने भन्दा-भन्दै छिटै भयो ।

के काम गर्नुहुन्छ छोरी ज्वाईँले ?

गीता – अहिले यूके तिर हुनुहुन्छ । छोरी नर्सिङ काम गर्छे अनि ज्वाईँ रेष्टुरेन्टमा काम गर्नुहुन्छ । दुईजना बच्चा बच्ची छन् -एउटा नाति, एउटी नातिनी । राम्रै छ ।

अहिले तपाईँका छोराहरु के गरिरहेका छन् ?

सुरेन्द्र – छोराहरु अष्ट्रेलियामा पढिरहेका छन । अहिले जेठो छाेराे नेपाल आएको छ ।

बुहारी कस्तो आइदिए हुन्थ्यो जस्तो लाग्या छ ?

गीता – घर परिवारमा भेटेको बेलामा राम्रो अनि छोराहरुलाई बुझ्ने खालको भइदिए पुग्छ । पढेको त भन्नै परेन । अहिलेका बुहारीहरुले पढेका नै हुन्छन् ।

बिहे गर्ने मन नहुँदा नहुँदै गर्नुपर्दा बस्दा कस्तो भएको थियो ?

गीता – थाहा नै छैन, सानै थिएँ, सबै बिर्सिसकेँ ।

पहिलो पटक घरमा आइसकेपछि कस्तो लाग्थ्यो ?

गीता – दिउँसोभर आफूले यस्तो हुनुहुन्छ भनेर सोच्यो बेलुका देख्दा अर्कै लाग्थ्यो । बुबाआमालाई सानैमा छोडेर आएकोले सुरु सुरुमा त डर लाग्थ्यो । अनि आमा बाबाले पनि यस्तो हुन्छ, यस्तो गर्नु भनेर सिकाउनु भएको थियो । सुरु सुरुमा डराएर बसियो अनि त्यहि डरले गर्दा सँधै डराएरै बसियो ।

बिहेपछि पहिलो पटक ससुराली जाँदा कस्तो थियो ?

सुरेन्द्र – उसकाे घर त्यतिबेला चोभारमा थियो । अनि बुबाले गाउँकै एकजना लमीसँग ल केटी हेर्न जाउँ भनेर लिएर जानु भो । हरियो कलरका पोलिष्टरको पाइन्ट सेतो सर्ट लगाएर झिल्के भएर गएको मलाई याद छ । अनि यिनको घर पुग्दा एकदमै सफा सुगर थियो ।

मेरो ससुरा बुबा टेलिकमको टेक्निसियन हुनुभएकोले ढोका खोल्दा घन्टी बज्ने बनाएको रहेछ । अनि हामी भित्र गयौँ । यिनले पानी बोकेर आइन् । फरक लगाएकी पातली पातली मैले यसो हेरेँ अनि बुबाले इसारामा कस्तो लाग्यो भन्नुभयो मैले हुन्छ भन्दिएँ । अनि अब त्यतिबेला मन पर्ने नपर्ने भन्ने नै थिएन ।

माग्न गएको सात दिनपछि बिहे भयो । त्यसपछि दुलन फर्काउने बेलामा गइयो । अब पहिलो पटक ससुराली भनेपछि मेजमान पनि हुने, रमाइलो नै भएको थियो ।

के के खानु भएको थियो याद छ ?

सुरेन्द्र – खसीको मासु, कालो दाल, गोलभेडाको अचार लगायतका धेरै कुरा थिए ।

भाउजुले कस्तो खाना बनाउनु हुन्थ्यो सुरु सुरुमा  ?

सुरेन्द्र – एकदमै मीठो । किनभने उसकाे र उसकाे आमाको बानी एउटै थियो । एकदमै संस्कारी, खाना मीठो बनाउने र अहिले पनि त्यस्तै नै छ ।

सबै कुरामा घुलमिल हुन कति समय लाग्यो ?

गीता – छिटै नै भयो किनभने सबै काम आफैँले गर्नुपर्थ्यो त्यसकारण पनि छिटो भयो । गाह्रो चैँ भयो, टाइम चैँ लागेन ।

घुम्न कतै जानु भयो कि भएन ?

सुरेन्द्र – त्यतिबेला त गइएन अहिले चैँ कहिलेकाही गइन्छ । बुढीलाई घुमाउन लैजान एकदमै रमाइलो लाग्छ । त्यसकारण पनि लगिराख्ने गर्छु ।

आज किचनमा के पाक्छ भन्ने कुरा कस्ले निर्धारण गर्छ ?

गीता – मैले नै गर्छु ।

यो किन पकाएको भन्ने कुराको गुनासो आउँछ कि आउँदैन ?

गीता – यो किन पकाएको भन्ने चैँ आउँदैन तर कहिलेकाहीँ नुन पुगेन, पीरो कम भो भन्ने कुरा चैँ हुन्छ । 

झगडा कस्ले सुरु गर्छ?

सुरेन्द्र – मलाइ चैँ रिस उठ्दा उस्ले गरेको जस्तो लाग्छ, अनि उसलाई पनि त्यस्तै लाग्दो हो, तर म भन्छु- उस्ले नै गर्छ ।

तपाईँहरुको झगडा पर्दा कति दिनसम्म एकअर्का सँग बोल्नुभएको छैन ?

गीता – पच्चिस दिनसम्म नबोलेको रेकर्ड छ ।

सुरेन्द्र दाइले के गर्दिए हुन्थ्यो जस्तो लाग्छ अहिले ?

गीता – चुरोट खाने बानी चैँ छोडिदिए हुन्थ्यो जस्तो लाग्छ ।

तपाईँको व्यापार व्यवसाय के छ ?

सुरेन्द्र – म अहिले जग्गाको व्यवसाय गरिरहेको छु । यसमा हामी सात जनाकाे समूह छ । किरण केसी दाई पनि हुनुहुन्छ । तीन वर्ष भयो थालेको ।

उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: कात्तिक २६, २०७६

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया